धादिङ :

गलामा मकैको घोगाको माला अनि हातहातमा हरियो खोया र च्यातिएको मकैको घोगा लिएका ३०-३५ जना किसान चर्को घामको परवाह नगरी चर्का नारा लाउँदै थिए, ‘गरिब किसानलाई क्षतिपूर्ति दे।’

यसअघि सदरमुकाममा देखिनेजस्ता नाराजुलुस र हुलहुज्जतबिना चर्को नाराबाजी सुनेर सदरमुकामवासी पनि अनौठो मानेर हेरिरहेका थिए। हातहातमा मकैको बोट, खोया र घोगा लिएर उफ्रीउफ्री बाँदरविरुद्ध नाराबाजी गरेको सुनेपछि मात्रै सदरमुकामवासीले भेउ पाए, ‘किसानहरूको बाँदरविरुद्धको आन्दोलन रहेछ।’
भित्र्याउने बेला भएको मकैबारीमा पसेर बाँदरले सखाप पारेपछि धादिङको नीलकण्ठ नगरपालिका ९ का किसानले बाँदर आतंक बन्द गराइदिन माग गर्दै जिल्ला सदरमुकाममा प्रदर्शन गरेका हुन्। उनीहरूले बाँदर आतंकविरुद्ध स्थानीय प्रशासनको ध्यान खिच्न सदरमुकाम परिक्रमा गरेर प्रदर्शन गरेका थिए।

उनीहरूले जिल्ला सदरमुकामभरि नाराजुलुस गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि विकास कार्यालय र वन कार्यालयमा तत्काल बाँदर आतंक नियन्त्रण गर्न ज्ञापनपत्रसमेत दिएका छन्। यसअिघ पनि उनीहरूले गाउँमा बाँदरले साह्रै दुःख दिएको भन्दै पटकपटक लिखित रूपमा बाँदर नियन्त्रणका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। तर, कुनै सुनुवाइ नभएपछि आन्दोलनमै उत्रिनुपरेको किसानहरूले बताएका छन्।
नीलकण्ठ ९ का किसान तिलप्रसाद लम्सालले भन्नुभयो, ‘हामीले कुनै वर्ष पनि खेतबारीको सबै मकै र बालीनाली भिœयाउन पाएका छैनौं, जब बाली भित्र्याउने र पाक्ने बेला हुन्छ, बाँदरको हुल पसेर सखापै बनाइदिन्छ। वर्ष दिनभरिको मेहनत एकैदिनमा सखाप पारिदिन्छ, हामीले बाँदर नियन्त्रण गर्ने कुनै पनि उपाय नभएपछि प्रशासनको ध्यानाकर्षण गराउन नाराजुलुस गरेका हौं।’
नीलकण्ठ ९ स्थित पाल्पा, मुरलीभञ्ज्याङ, अलैचे, आरनटार, धौखोलालगायतका क्षेत्रहरूमा स्थानीयले बाँदर नियन्त्रण गर्न नसकेपछि प्रशासनको गुहार मागेका हुन्। स्थानीय नारायण रिजालले भन्नुभयो, ‘हामीले पटकपटक लिखित रूपमा बाँदर नियन्त्रणका लागि सहयोग र पहल गर्न माग गर्यौं तर कुनै सुनुवाइ भएन, यो चर्को घाममा बजार डुलेर नाराबाजी गर्न रहरले आएको होइन, नाराजुलुस गरेपछि मात्रै ध्यानाकर्षण हुने परिपाटी रहेकाले बाँदरले खाएका मकैको घोगा र खोयासहित बजार डुलेर प्रमुख जिल्ला अधिकारीसमक्षा बाँदर आतंक बन्द गराइदिन गुहार मागेका हौं।’
दिनुहँ खेतबारीमा बाँदरको गोठालो बस्दासमेत नियन्त्रण गर्न नसकिएपछि किसानहरू आन्दोलित भएका हुन्। तत्कालीन मुरलीभञ्ज्याङ गाउँ विकास समितिले पनि गाउँ परिषद्बाटै निणर्य गरेर अघिल्लो आर्थिक वर्षमा बाँदर नियन्त्रणका लागि १५ हजार सहयोग गरेको थियो।
‘हामीले कुनै पनि आर्थिक सहयोग मागेका होइनौं, वर्षभरि पसिना बगाएर उब्जाएको बाली भित्र्याउन बाँदरले दिएन, बाँदर नियन्त्रण गर्न प्रशासनिक सहयोग गरिदिनुपर्यो भन्ने हाम्रो माग हो।’ बाँदरपिडित किसान समूहका अध्यक्ष तिलप्रसादले आक्रोशित हुँदै भन्नुभयो, ‘करिब ३० हजार हेक्टरमा लगाइएको बालीनाली प्रत्येक वर्ष बाँदरले खाएर सखाप पारिदिन्छ, बाली घरमा भिœयाइहाल्यो भने पनि घर गतिलो छैन, टहराभित्रै पसेर बाँदरको हुलले खाइदिने गरेपछि बाध्य भएर प्रशासन गुहार्नु परेको हो।’-अन्नपूर्ण

