भक्तपुर ।
आजदेखि देशभर एकैसाथ कक्षा ११ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो ।
आगामी असार १० गतेसम्म सञ्चालन हुने परीक्षामा परीक्षाका लागि देशभरि ९९३ परीक्षा केन्द्रमा परीक्षा सुरु भएको हो । परीक्षामा नियमिततर्फ तीन लाख ४८ हजार ६० र आंशिकतर्फ एक लाख ९९४ गरी देशभरबाट कुल चार लाख ४९ हजार ५४ जना विद्यार्थी सहभागी भएका छन् जसमध्ये छात्रको सङ्ख्या दुई लाख ११ हजार ८२२ र छात्राको सङ्ख्या दुई लाख ३७ हजार १७२ रहेको छ ।
सबैभन्दा धेरै परीक्षार्थी काठमाडौँमा ६४ हजार ५६४ र सबैभन्दा कम मुस्ताङमा ९३ जना छन् । काठमाडौंमा १११ र मनाङ र मुस्ताङ्मा एक–एक केन्द्र निर्धारण गरिएको छ ।
प्रत्येक परीक्षा केन्द्रमा एक–एकजना केन्द्राध्यक्ष, एक हजार ९६० जना सहायक केन्द्राध्यक्ष, २२ हजार ९१३ निरीक्षक, एक हजार ५७४ कर्मचारी, दुई हजार १७५ कार्यालय सहयोगी र ११ हजार ९१६ जना सुरक्षाकर्मी गरी कुल ४१ हजार ५३२ जना परिचालन गरिएको नियन्त्रक बतासले बताउनुभयो ।
परीक्षालाई मर्यादित र व्यवस्थित गर्न बोर्डले कडा अनुगमन गर्ने बताउँदै उहाँले परीक्षामा अमर्यादित काम गर्नेलाई ६ महिना जेल र रु एक लाख सम्मको जरिवानाको व्यवस्था गरिएको बताउनुभयो । परीक्षा अवधिभर बन्द हडताल नगर्न र परीक्षालाई बाधा नपु¥याउन बोर्डले आह्वान गरेको छ ।