बागलुङ,
बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको जेठ महिनामा नौ लाख ३५ हजार ३ सय ३० रुपैयाँ भेटी सङ्कलन भएको छ ।
नगद, बोका, राँगो, कुखुराको मुढ, चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी ९ लाख रकम उठेको हो जसमध्ये चारलाख ८१ हजार ९ सय २० रुपैयाँ सङ्कलन भएको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिरमा बलि दिइएका १ सय ३१ बोकाको मुढ बिक्रीबाट ९३ हजार ५ सय ४० रुपैयाँ, कुखुराको मुढबाट ६ हजार १ सय २० रुपैयाँ, राँगोको मुढबाट ३ हजार ६ सय २० रुपैयाँ र परेवा बिक्रीबाट ३ लाख २९ हजार ४ सय रुपैयाँ आम्दानी भएको छ ।
यस्तै, भक्तजनले मन्दिरमा चढाएको चामल बिक्रीबाट रु १२ हजार ४००, तेलबाट २ हजार ३ सय रुपैयाँ र कपडा बिक्रीबाट २ हजार ५ सय रुपैयाँ सङ्कलन भएको छ । जेठ महिनाभरमा आर्थिक सहयोगबापत १ हजार ८ सय ३० रुपैयाँ जम्मा भएको समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।
बलिका मुढ, परेवा, चामल बिक्री, नगदलगायतबाट उठ्ने सबै रकम भेटीमा जम्मा हुने गरेको छ । मन्दिरले वर्षमा एक करोड रुपैयाँभन्दा बढी भेटी सङ्कलन गर्दै आएको छ । समितिले जेठ महिना ३८ हजार २ सय ३१ रुपैयाँ मन्दिरमा खर्च भएको जनाएको छ ।
यसमा खाद्यान्नतर्फ २० हजार ९ सय २६ रुपैयाँ, सरसफाइमा ३ हजार ७ सय ७० रुपैयाँ, टीका, अबिरमा ३ हजार ५ सय ४० रुपैयाँ, दाना ३ हजार २ सय २५ रुपैयाँ, अतिथी सत्कारमा १ हजार ७ सय ६० रुपैयाँ तथा निर्माण सामग्री खरिदमा ५ हजार रुपैयाँ खर्च भएको जनाइएको छ । समितिले प्रत्येक महिना मन्दिरको आम्दानी÷खर्च सार्वजनिक गर्ने गरेको छ ।