Aamsanchar

फोटो पत्रकार पाण्डेले दिए उपचार कोषलाई ५०,००५

Author Image
शुक्रवार, असार २, २०७४

बिर्तामोड।
फोटो पत्रकार कमल पाण्डे (विनोद) र श्रीमति पवित्राले पत्रकार सहारा उपचार कोषका लागि ५० हजार ५ रुपैयाँ प्रदान गरेका छन् ।
आज शुक्रबार पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरी र सहसचिव केशव भट्टराईलाई उनीहरुले उक्त रकम प्रदान गरे ।
आफ्नो बिहेको फजुल खर्च जोगाएर पत्रकारको हितका लागि उक्त रकम प्रदान गरेको फोटो पत्रकार पाण्डेले बताए । पूर्वमै फोटो पत्रकारितामा ख्याति कमाएका पत्रकार पाण्डे पूर्वाञ्चल दैनिक र आमसञ्चार डट कम अनलाइनमा आवद्ध छन् । १० वर्षदेखि फोटो पत्रकारितामा क्रियाशील पाण्डे अर्जुनधारा ५ लक्ष्मीपुर निवासी हुन् ।

 

पत्रकार महासंघ झापाले एक करोड रुपैयाँको कोष स्थापना गर्ने लक्ष्यका साथ अघि बढेको छ । पाण्डेले मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासंघले थालेको अभियान अनुकरणीय रहेको भन्दै सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
उनले मुलुक परिवर्तन र नागरिकलाई सूसुचित गर्ने कार्यमा अहोरात्र खटिने झापाली पत्रकारको हितमा स्थापित कोषमा सहयोग गरिदिन आफूले झैं सबैमा आग्रह पनि गरेका छन् ।
कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको छ । कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने कोषका संयोजक गिरीले जानकारी दिए ।

Views: 131

प्रतिक्रिया (०)