कञ्चना ढकाल सिटौला बिर्तामोडकी सशक्त महिला नेतृ । बिर्तामोड ५ निवासी कञ्चना आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट महिला वडा सदस्यको उम्मेदवार बनेकी छिन् ।
बिर्तामोड– ५ बाट उनी महिला सदस्यको उम्मेदवार बनेकी हुन् । नेपाली कांग्रेस बिर्तामोड नगर समितिको सदस्य र नेपाल महिला संघ जिल्ला सदस्य समेत रहेकी कञ्चना विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय छिन् । उनी राजनीतिसँगै समाजसेवामा पनि समर्पित छिन् ।
वीरता लेडी जेसीज बिर्तामोडको पूर्व अध्यक्ष कञ्चना देवी क्याम्पस सञ्चालक समितिको कोषाध्यक्ष छिन् । नौ वर्षदेखि उनी क्याम्पस सञ्चालक समितिमा रहँदै आएकी छिन् । उनी विराट भरत विश्रान्तिकी संस्थापक सदस्य तथा निर्माण समिति सदस्य समेत हुन् ।
त्यस्तै महिला सशक्तिकरण र हितमा क्रियाशील उनी महिला सुरक्षा दवाब समूह झापाको कोषाध्यक्ष समेत हुन् ।
परिवार नियोजन संघ, विराट सहकारी, सत्य साई केन्द्र बिर्तामोड, अर्जुनधारा जलेश्वर धाम जस्ता सामाजिक तथा धार्मिक क्षेत्रमा पनि आबद्धता तथा उनको क्रियाशिलता रहेको छ । महिला तथा बालबालिकाको शिक्षा, वृद्ध मातापिता प्रति सम्मान र खासगरी मानसिक सन्तुलन गुमाएका बेसाहरा महिलाहरुको हितको लागि उनले विशेष योगदान समेत गर्दै आएकी छिन् ।
राजनीतिसँगै समाजसेवालाई जीवनको लक्ष्य बनाएकी कञ्चना सालिन, भद्र, नम्र र अनुशासित महिलाको रुपमा समेत परिचित छिन् ।
अर्जुनधारा निवासी भीमप्रसाद–सावित्रा ढकालकी एकमात्र छोरी कञ्चनाका तीन दाजुहरु छन् । मेची क्याम्पसका प्राध्यापक होम सिटौलासँग ०४९ सालमा विवाह बन्धनमा बाँधिएकी उनले बीएसम्मको अध्ययन गरेकी छिन् । उनीहरुका दुई छोराछोरी रहेका छन् । कुशल बुहारी, असल श्रीमति र जिम्वेवार आमाको भूमिकामा उनी सधै अब्बल उनी समाजसेवा र राजनीतिमा पनि सधै सक्रिय देखिन्छिन् । उनको जन्म नै कांग्रेस परिवारमा भएको हो । उनी सानो छदादेखि नै सिके प्रसाईंको अघिपछि राजनीतिक कार्यक्रममा कुद्ने तथा पार्टीले आयोजना गर्ने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएकी छिन् ।
सकारात्मक सोचका साथ समाज परिवर्तनका लागि आफूलाई सदैव समर्पित गर्ने कञ्चना नेपाली कांग्रेसको तर्फबाट बिर्तामोड ५ को महिला वडा सदस्यको उम्मेदवार बने पनि आफूले सबै पार्टीमा आबद्धहरुलाई उत्तिकै सम्मानपूर्वक व्यवहार गर्दै बिर्तामोडको समुन्नतीका लागि सदैव अग्रसर रहने बताउँछिन् ।
रुपा मुखिया
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 153