Aamsanchar

वीएण्डसीमा क्यान्सरको सफल शल्यक्रिया

Author Image
मङ्गलवार, असार ६, २०७४

बिर्तामोड।

झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा एक महिलाको जटिल प्रकारको क्यान्सरको सफल उपचार भएको छ ।
कनकाई नगरपालिका–३ निवासी ३८ वर्षीया मनमाया श्रेष्ठको पित्तको नली, प्याङ्क्रियाज ग्रन्थी र ड्युडेनम नली जोडिने भागमा पलाएको मासुको सफल शल्यक्रिया भएको उपचारमा सम्लग्न चिकित्सक डा. रोहित यादवले बताए । आठ घण्टा लामो शल्यक्रिया पछि उनको सफल उपचार भएको बताइएको छ । श्रेष्ठको आठ दिन अघि सफल शल्यक्रिया भएको र अहिले उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको चिकित्सकले बताएका छन् ।
सोमवार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उपचारमा सम्लग्न चिकित्सक डा. यादवले भने– ग्यास्ट्रिकको समस्याले पेट दुखेको महशुस गरेर जचाउँन अस्पताल आएकी श्रेष्ठको पेटमा इण्डोस्कोपी गर्दा मासु पलाएको थाह भयो । रोगको लक्षण अनुसार सीटी स्क्यान र एमआरआई गरी थप परीक्षण गर्दा क्यान्सर भएको पत्ता लाग्यो ।’ शल्यक्रिया गर्न आठ घण्टा लागेको डा. यादवले बताए । चिकित्सकहरुको सिंगो टिम र प्रविधिले सुसज्जित अपरेशन थिएटरको मद्दतमा बीएण्डसीमा पहिलो पटक सफलतापूर्वक शल्यक्रिया गरिएको पनि उनले बताए ।
पछिल्लो समयमा बीएण्डसीले उपचार सेवामा प्राप्त गरेको लोकप्रियता र सफलतापछि श्रेष्ठको जटिल प्रकृतिको सफल शल्यक्रिया गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले दावी गरे ।
उनले यही प्रकृतिको शल्यक्रिया गर्न भारतका ख्यातिप्राप्त अस्पतालले १५ लाख भारु लिने र नेपालमा पनि १२देखि १५ लाख रुपैयाँ खर्च हुने गरेको भएपनि आफूहरुले दुई लाख रुपैयाँ भन्दा कम शुल्कमा उनको उपचार गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
विभिन्न औषधि उत्पादक कम्पनीहरुसँग सहकार्य गरी शल्यक्रियामा आवश्यक सामग्री र औषधिहरु निःशुल्क प्राप्त गरेकोले बिरामीको परिवारले ठूलो धनराशी खर्च गर्नु नपरेको डा. यादवले बताए । श्रेष्ठ परिवार विपन्नवर्गको रहेको तथा श्रीमान र छोरा वैदेशिक रोजगारीमा रहेकाले नेपालमा तत्काल उपचार खर्च जुटाउन असम्भव भएको पाए पछि हामीले बिरामीलाई बचाउनु नै डाक्टरको पहिलो कर्तव्य ठानेर उपचार गरेका हौं– डा. यादवले भने ।
अस्पतालका विशेषज्ञ सर्जन डा. यादव सहित डा. वाशुदेव वास्कोटा, डा. रवीन रत्न रञ्जितकार, एनेस्थेसियोलोजिष्ट प्रा. डा. संगीता भट्टाचार्य, डा. राजु श्रेष्ठ, डा. निरु नेपाल, डा. सुमोल थापा लगायतको टिमले उनको उपचार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनको सञ्चालन अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर