बिर्तामोड।

निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गराएका दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ ।

मंगलवार बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । ठूला दलका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिए पनि केही स्वतन्त्र वडाध्यक्ष र सदस्यहरुले भने उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जानकारी दिए ।
झापाका ८ नगरपालिका र ७ गाउँपालिकामा उम्मेदवारी दर्ता गराएका मध्ये २४ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । जसमा सवैभन्दा धेरै वडा अध्यक्षले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापामा स्थानीय तहको निर्वाचनका लागि ३३६६ जनाको उम्मेदवारी परेको थियो । जसमा २४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने एक जनाको उमेर नपुगेर उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिए । झापामा ८ नगरपालिका र सात गाउँपालिकामा स्थानीय तहको निर्वाचनबाट ६८५ जना जनप्रतिनिधि चुनिँदैछन् । झापामा मतदाताको संख्या ५ लाख १० हजार २ सय १६ रहेको छ ।
कुन ‘नपा’ र ‘गापा’ बाट कति जनाको उम्मेदवारी फिर्ता
भद्रपुर नगरपालिका :
भद्रपुर नगरपालिकाबाट मुख्य पदमा उम्मेदवारी दर्ता गराएका कसैले पनि आफ्नो उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृत सुदर्शन पाण्डेले जानकारी दिए । तर, वडा नम्वर ७बाट दुई जना वडा अध्यक्षका उम्मेदवार, वडा नम्वर ४ बाट वडा अध्यक्ष एक जनाले र १० नम्वर वडाका सदस्य एक जनाले गरी पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
मेचीनगर नगरपालिका :

मेची नगरनगरपालिकाबाट एक जनाको उम्मेदवारी फिर्ता भएको छ । वडा नम्वर ३ को वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका धनबहादुर थापा मगरले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत इन्दिरा शर्माले जानकारी दिइन् ।
कनकाई नगरपालिकाः
कनकाई नगरपालिकाका उम्मेदवार मध्ये वडा नम्वर ३ का लागि वडा अध्यक्ष पदमा नेकपा मालेका तर्फबाट उम्मेदवारी दिएका एक जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत रोशनकुमार भट्टराईले जानकारी दिए ।
अर्जुनधारा नगरपालिका :
अर्जुनधारा नगरपालिकामा उम्मेदवारी दर्ता गराएका मध्ये वीरवहादुर विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनी वडा नम्वर ३का लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन अधिकृत राधाकृष्ण खतिवडाका अनुसार स्वतन्त्र उम्मेदवारले सवैभन्दा बढी चुनाव चिन्ह जोडी पाउ र नर्स मागेका छन् ।
गौरादह नगरपालिकाः
गौरादह नगरपालिकाका लागि उम्मेदवारी दर्ता गराएका मध्ये एक जना वडा अध्यक्ष र एक जना वडा सदस्यले उम्मेवारी फिर्ता लिएका छन् । वडा नम्वर २ का लागि वडा अध्यक्षको उम्मदवारी दर्ता गरेका शेषलाल राजवंशी र वडा सदस्य शिवशंकर दाहालले उम्मेदवारी फिर्ता लिएका हुन् । उनीहरुले राप्रपाको तर्फबाट उम्मेदवारी दिएको निर्वाचन अधिकृत शकुन्तला कार्कीले बताइन् ।
शिवशताक्षी नगरपालिका :
मेयर एक र उपमेयर दुईसहित शिवशताक्षी नगरपालिकामा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बनेका धनबहादुर थेवे र उपमेयर पदका लागि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवारी दर्ता गरेका मंगलसिंह राजवंशी तथा स्वतन्त्रबाटै उम्मेदवारी दर्ता गरेकी विमला प्रसाईले उम्मेदवारी फिर्ता लिएका हुन् ।
त्यस्तै हस्त थेवे र श्रीप्रसाद राजवंशीले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । उनीहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।
यसैगरी वडा सदस्य पदका लागि उम्मेदवारी दिएका कृष्णमोहन ताजपुरियाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत पंकज भूर्तेलले जानकारी दिए ।
कमल गाउ“पालिकाः
कमल गाउँपालिकामा उम्मेदवारी दिएका मध्ये एक जानाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । गाउँपालिकाको अध्यक्ष पदमा ९ जनाले उम्मेदवारी दिएका मध्ये स्वतन्त्रका महेन्द्रराज पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।
गाउँपालिकाको अध्यक्षमा ८ जना, उपाध्यक्षमा ६ जना, वडा अध्यक्ष ३२ जना, महिला सदस्य ३८ जना, दलित महिला सदस्य ३० तथा खुल्ला सदस्य ६८ जना गरी जम्मा १८२ जनाको उम्मेदवारी दर्ता भएको कमल गाउँपालिकाका निर्वाचन अधिकृत प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।
वाह्रदशी गाउ“पालिकाः
उपाध्यक्ष पदका लागि वाह्रदशी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएकी मुना तिवारीले उम्मेदवारी फिर्ता लिएकी छिन् ।
यस अघि राप्रपाबाट दलित महिला सदस्य पदका लागि उम्मेदवारी दिएकी रीना दर्जीको उमेर नपुगेका कारण उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिए ।
झापा गाउ“पालिका :
राप्रपाको तर्फबाट गाउँपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका चन्द्रबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका छन् । उनको उम्मेदवारी फिर्तासँगै एक सय ५५ जनाको उम्मेदवारी सदर गरिएको निर्वाचन अधिकृत रोशनशंकर घिमिरेले जानकारी दिए ।
वुद्धशान्ति गाउ“पालिकाः
वुद्धशान्ति गाउँपालिकाको अध्यक्ष पदमा राप्रपाको तर्फबाट उम्मेदवारी दिएका एकसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै वडा अध्यक्षमा दुई र एक महिला सदस्यले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत इन्द्रकमल प्रधानले जानकारी दिए ।
उम्मेदवारी फिर्ता नलिने नगरपालिका र गाउ“पालिका
दमक र बिर्तामोड नगरपालिकासहित हल्दिवारी, गौरीगञ्ज र कचनकवल गाउँपालिकामा उम्मेदवारी दर्ता गराएका कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन् । दावी विरोध पनि कसैको नपरेपछि सबैको उम्मेदवारी सदर गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

