भद्रपुर।

आसन्न दोस्रो चरणको स्थानीय तहको चुनावमा झापाको सदरमुकाम भद्रपुर नगरपालिकामा कुन पार्टीका उम्मेदवारले बाजी मार्ला भनी नगरबासीदेखि केन्द्रीय नेतासम्मले नियाली रहेका छन् ।
भद्रपुरमा चार स्वतन्त्रसहित १० जना मेयरमा र नौ जनाले उपमेयरमा उम्मेदवारी दिएका छन् । भद्रपुर नगरपालिका २००८ सालको नगरपालिका हो । मेची अञ्चलकै जेठो र नेपालकै दोस्रो पुरानो नगरपालिकाको रुपमा भद्रपुरको परिचय रहेको छ । विगतको अवस्था हेर्ने हो भने, भद्रपुरलाई राजनीतिक उर्वर भूमिको रुपमा पनि लिने गरिएको छ ।
झापा क्षेत्र नम्बर ३ मा पर्ने भद्रपुर हाल साविक चन्द्रगढी, महेशपुर र पृथ्वीनगर गाविस मिलेर नगरपालिका बनेको छ । भद्रपुरको जनसंख्या ६५ हजार पाँच सय ४३ मध्ये १० वडामा मतदाता संख्या ४२ हजार ५७ रहेको छ । नगरपालिका भएलगत्तै स्थानीय तहको चुनावको मिति घोषणापछि चुनाव लड्न दलका नेतालाई सकस भएको छ । भद्रपुरमा पृथ्वीनगर गाविस मिसाएपछि दललाई मत जुटाउन झन सकस भएको छ । अहिले दलहरु आफ्नो पकड बनाउन मतदाताको घर–घर पुग्न थालेका छन् । उनीहरु मतदातालाई विभिन्न आश्वासन बाड्न पनि पछि परेका छैनन् ।
भद्रपुरमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा मुख्य प्रतिष्पर्धामा छन् । मधेशी दल र स्वतन्त्र उम्मेदवार पनि उनीहरुलाई पछ्याइरहेका छन् । भद्रपुरमा मेयर जित्न अहिले सबै दलले आ–आफ्नो शक्ति प्रयोग गरिरहेका छन् । तर, स्थानीय तहको नेतृत्व सक्षम व्यक्ति खोजीको पखाईमा मतदाता रहेको पनि बुझिन्छ । भद्रपुरमा यसपटक वडामा कुनै पनि प्यानल नजित्ने सम्भावना देखिएको छ । वडामा मिश्रित परिणाम आउने आंकलन मतदाता रहेको बुझिन्छ ।
भद्रपुर नगरपालिका नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाको गृह नगर हो ।

सिटौला यही क्षेत्रबाट २०७० सालको संविधानसभाको निर्वाचनमा बिजयी भएका थिए । सो चुनावमा राप्रपा दोस्रो, एमाले तेस्रो र माओवादी चौथो स्थानमा आएका थिए । त्यसैले भद्रपुरमा सिटौला पक्षको हावी छ । सिटौलाले आफ्नै पकडको नेता गणेश पोखरेललाई मेयरमा उम्मेदवार बनाएका छन् । सिटौलाले पोखरेललाई मेयरसहित वडाध्यक्षमा आफूखुशी टिकट दिएपछि कांग्रेसको एकगुटले असन्तुष्टि जनाइसकेका छन् ।
कांग्रेसभित्रै अन्तरघात हुन देखिएपछि नेता सिटौला भद्रपुरमा बसेर चुनावी रणनीति बनाइरहेका छन् । कांग्रेसबाटै जगदीश काफ्लेले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । गुट र बागी उम्मेदवारले कांग्रेसलाई झ्न समस्यामा पारेको देखिन्छ ।
पोखरेललाई मेयरमा जिताउन सिटौलाले मधेशी दलसँग आन्तरिक तालमेल बनाएको बजारमा चर्चा चुलिएको छ । तीन गाविस मिल्नु अघि भद्रपुर कांग्रेसकै किल्ला रहेको राजनीतिक विश्लेषकहरुको भनाई छ । भद्रपुर कांग्रेसकै किल्ला मानिए पनि अहिलेसम्म स्थानीय निकायको चुनावमा कांग्रेसले मेयर र उपमेयर जितेको छैन । त्यसैले कांग्रेसले यसपटक मेयर तथा उपमेयरको पद हत्याउने दाउमा छ ।
त्यस्तै भद्रपुरमा समावेश भएको साविक पृथ्वीनगर र चन्द्रगढी गाविस एमालेको किल्ला मानिन्छ । एमालेले जीवनकुमार श्रेष्ठलाई मेयरको उम्मेदवार बनाएको छ । २०५४ सालमा स्थानीय चुनावमा श्रेष्ठले एमालेबाटै भद्रपुरमा उपमेयरमा जितेका थिए । श्रेष्ठलाई माधवकुमार नेपालको पक्षको कार्यकर्ता भए पनि केपी शर्मा ओलीले टिकट दिएपछि ओली पक्षका कार्यकर्ता भित्री रुपमा असन्तुष्ट रहेको चर्चा छ ।
संविधानसभाको चुनावमा एमाले तेस्रो स्थानमा झरेपछि कार्यकर्तामा तीव्र असन्तुष्ट छाएको थियो । एमालेका कार्यकर्ताले मेयरमा अन्तरघात गर्ने एकखाले चर्चा पनि बजारमा चलेको छ । चन्द्रगढीबाट दुर्गाप्रसाद भट्टराई मेयरमा स्वतन्त्र उम्मेदवार बनेपछि एमालेलाई थप समस्या परेको छ । माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले मेयरमा टिकट पाएसँगै पृथ्वीनगर क्षेत्रको मत पनि एमालेको काट्ने अर्को अड्कल कार्यकर्ताबीच चलेको पाइन्छ । पृथ्वीनगरका स्थानीय राजभण्डारीको पकड पनि राम्रो बन्दै गइरहेको छ । उनले कांग्रेस र एमालेलाई कडा ठक्कर दिने बुझिएको छ । उनले शिक्षा पेसा छाडेर राजनीतिमा होमिएकोले स्थानीयले चासोका साथ हेरेका छन् । अर्कोतर्फ केही महिना अघि कांग्रेसबाट पार्टी परित्याग गरी राप्रपामा गएका नवराज पनेरु(राजु)लाई राप्रपाले मेयरमा टिकट दिएपछि भद्रपुरको राजनीति झन् चासोको विषय बन्दै गएको छ ।
विभिन्न पार्टीबाट असन्तुष्ट बनेका र भद्रपुरका केही ठूला उद्योगीले राजुलाई आश्वासन दिएपछि उनको चर्चा बजारमा पछिल्लो पटक उचाइमा पुगेको पाइन्छ । पछिल्लो समयमा कांग्रेस र एमाले पार्टी परित्याग गरेका कार्यकर्ता राप्रपामा प्रवेश गर्न थालेपछि भद्रपुरमा कांग्रेसलाई राप्रपाले चुनौति थप दिएको छ । चुनाव नजिकिएसँगै राप्रपाले भद्रपुरसहित पृथ्वीनगर क्षेत्रमा आफ्नो पडक बलियो बनाएको चर्चा छ । नगरमा कांग्रेस र एमालेको जुधाईमा राप्रपाले बाजी मार्ला कि भन्नेहरु भेटिएका छन् ।
अन्य पार्टीको आन्तरिक कलहका कारण राप्रपालाई फाइदा हुनसक्ने केहीले राजनीतिक अनुमान लगाएका छन् । २०५४ सालमा भद्रपुरका मेयरमा नेपाल सद्भावना पार्टीबाट विजयी हासिल गरेका भरतेन्दुकुमार मल्लिकले मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् । मल्लिकको घर भद्रपुर हो । उनको पनि भद्रपुरमा मधेशी समुदायमा राम्रो पकड रहेको छ । उनको पार्टीबाट मेयरमा उम्मेदवारी नपरेपछि भित्री रुपमा कांग्रेसलाई सघाउन तालमेल बनेको बुझिएको छ ।
साना पार्टीले केही पदमा उम्मेदवारी दिएका कारण मतदाता को कसकोमा जाने हुन् भन्ने वारेमा हिसाव गर्न नसकिने जानकारहरु बताउँछन् । प्रमुख पदमा थोरै मतान्तरले विजयी हुने अहिलेसम्मको चर्चाले देखाएको छ । ७२ घण्टे मौन अवधिमा जुन दलले आफ्नो किल्ला भएको क्षेत्रलाई निगरानी गर्छन् उसको भाग्य खुल्ने अगाडिको संविधान सभाको निर्वाचनले देखाएको थियो ।

