Aamsanchar

मेची नेत्रालयद्वारा पत्रकार उपचार कोषलाई ५१ हजार

Author Image
शनिवार, असार १७, २०७४

काँकरभिट्टा,
झापाको मेचीनगर काँकरभिट्टास्थित मेची नेत्रालयले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । शनिबार पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई अस्पतालका संस्थापक एवम् प्रमुख डा. शरदचन्द्र प्रकाश राईले उक्त रकमको चेक हस्तान्तरण गरे ।
मेची नेत्रालयले आफ्नो दशौं वार्षिकोत्सवको अवसर पारी पत्रकार उपचार कोषका लागि उक्त रकम प्रदान गरेको हो । पूर्वमै अत्याधुनिक प्रविधि भित्र्याएर आँखा उपचारमा सेवा पुर्याउँदै आएका मेची नेत्रालयमा नेपाल, भारत, भुटान बंगलादेशका नागरिकले सेवा लिइरहेको अस्पताकी प्रशासन प्रमुख पुनम प्रधान राईले बताइन् ।
दश वर्षको अवधिमा मेची नेत्रालयले गरेको प्रगतिमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै अस्पतालका प्रमुख डा. राईले प्रशंसा गरेका थिए । सामाजिक उत्तरदायित्व र मानवीय सेवामा केही योगदान गरौं भन्ने भावनाले पत्रकार उपचार कोषका लागि उक्त रकम प्रदान गरिएको राईले बताए । उनले अस्पताल संस्थागत रुपमा अघि बढिसकेको बताउँदै भने– ‘मेची नेत्रालय ब्राण्ड भइसकेको छ, यसले आँखा उपचारका लागि गुणस्तरीय सेवा प्रदान गर्छ ।’
पत्रकार महासंघ झापाले एक करोड रुपैयाँको कोष स्थापना गर्ने लक्ष्यका साथ अघि बढेको छ ।
मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासंघले थालेको अभियान अनुकरणीय रहेको भन्दै सहयोग गर्न पाएकोमा मेची नेत्रालयका सञ्चालकले खुशी व्यक्त गरे । मेची नेत्रालयले मुलुक परिवर्तन र नागरिकलाई सूसुचित गर्ने कार्यमा अहोरात्र खटिने झापाली पत्रकारको हितमा स्थापित कोषमा सहयोग गरिदिन आफूले झैं सबैमा आग्रह पनि गरेका छन् ।
कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासंघ झापाका सचिव सन्तोष आचार्यले बताए । कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने कोषका सदस्य सचिव केशव भट्टराईले जानकारी दिए ।
हालसम्म कोषमा २३ लाख रुपैयाँ जुटिसकेको महासंघ झापाका कार्यवहाक अध्यक्ष गिरीले बताए ।

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर