Aamsanchar

वीएण्डसीमा घुँडाको सफल प्रत्यारोपण

Author Image
शुक्रवार, असार २३, २०७४

बिर्तामोड।

झापाको अर्जुनधारा – ६ पुल्चोक निवासी ६३ वर्षीया मीरादेवी बुढाथोकीको दुईवटै घुँडाको सफल प्रत्यारोपण भएको छ । बुढाथोकीको घुँडा बिर्तामोडस्थित बीएण्डसी हस्पिटलले प्रत्यारोपण गरेको हो ।

२०७२ माघमा उनको स्टीलको जोर्नी प्रत्यारोपण गरिए पनि परीक्षणका रुपमा हेरिएकाले शल्यक्रिया गरिएको ठाउँ पूर्ण निको नहुञ्जेल अस्पतालले जानकारी गराएको थिएन । बिहीवार अस्पताल परिसरमा आयोजित कार्यक्रममा बुढाथोकीले बीएण्डसी हस्पिटलमा डा. निराजन पराजुलीले आफ्नो घुँडाको सफल उपचार गरेको बताउँदै उपचारप्रति पूर्ण सन्तुष्टि रहेको बताइन् । उनले भनिन्– ‘भारतको शिलगढी, पञ्जाव, काठमाडौंको ग्राण्डी अस्पताल र अष्ट्रेलियामा पनि देखाएँ मलाई घुँडा फेर्न आँट आएको थिएन । तर, बीएण्डसीमा घरकै खाना खाएर उपचार हुने भएपछि डाक्टरको सल्लाह बमोजिम घँुडा फेरें, घाउ पनि भयो म असाध्यै खुशी छु ।’
अष्ट्रेलियामा रहेकी छोरीकोमा जाँदा त्यहाँको अस्पतालमा देखाएकी थिएँ । त्यहाँ एउटा घुँडा फेरेको नेपाली रुपैयाँ १० लाख रुपैयाँ लाग्छ भनेको थियो तर, यहाँ त ६÷७ लाखमा नै भयो । बीएण्डसीमा उपचार सस्तो पनि रहेछ– बुढाथोकीले भनिन् ।  शल्यक्रियामा संलग्न डा. पराजुली र अस्पताललाई धन्यवाद दिँदै उनले भनिन्– शिलगढीमा पनि एउटा घुँडा फेरेको नेपाली १० लाख रुपैयाँ खर्च हुने र काठमाडौंमा दुईवटा पाङ्ग्रा फेरेको १२ लाख रुपैयाँ लाग्ने रहेछ ।’
लामो समयदेखि घुँडाको जोर्नी दुखेर हिंडडुलमा नै समस्या भएपछि बीएण्डसीमा आएर घुँडा फेरेको थिएँ अहिले सहज भयो बुढाथोकीले भनिन्– ‘मेरा दुईवटै घुँडा फेरिएपछि अहिले सिढी चढ्न पनि सक्छु, लामो समय हिँड्यो भने खुट्टा चाहिँ झम्झमाउँछ तर समस्या छैन ।’
कार्यक्रममा डा. पराजुलीले प्रत्यारोपण गरिने पाङ्ग्राको गुणस्तर हेरेर मूल्य फरक पर्ने बताए । घुँडामा प्रत्यारोपण गरिएको पाङ्ग्रा अमेरिकाको जोहन्सन एण्ड जोहन्सन कम्पनीले उत्पादन गरेकोले सोको मूल्य प्रतिगोटा करिब एक लाख ८० हजार रुपैयाँ हाराहारी परेको डा. पराजुलीले बताए । प्रत्यारोपण गरिएको घुँडाको पाङ्ग्राले कम्तीमा पनि २० वर्ष काम गर्ने तर, प्रत्यारोपण पछि बिरामीको रहनसहनमा यसको टिकाउपना भरपर्ने उनले बताए ।
हिजोआज अधिकांश बृद्धबृद्धाको घुँडाको जोर्नी दुख्ने समस्याले अस्पताल आउने गरेको बताउँदै उनले उमेर ढल्कँदै गएपछि घुँडाको कुरकुरे हड्डी खिइँदै जाने भएकाले मोटो हड्डी एकापसमा रगडिँदा अत्यधिक दुख्ने गरेको बताए । यता बुढाथोकीको घुँडाको प्रत्यारोपणसँगै बीएण्डसी हस्पिटलले घुँडाको समेत प्रत्यारोपण सेवा शुरु गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए । उनले भने – ‘शुरुवातकै चरणमा गरिएको र हाल उहाँ सकुशल एवम् सन्तुष्ट रहेपछि मात्र यसको चर्चा गरिएको हो ।’
बीएण्डसी अस्पतालमा विभिन्न जटिल प्रकृतिका समस्याहरुको शल्यक्रिया एवम् उपचार गरिने बारेको जानकारी सेवाग्राहीलाई थाहा भए पनि महँगो हुने ठानेर अन्यत्र जाने गरेको बताउँदै उनले बीएण्डसीमा सरल र सहज उपचार हुने भएकोले सेवाग्राहीलाई अन्यत्र नजान समेत आग्रह गरे ।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर