Aamsanchar

जिल्ला शिक्षा कार्यालयहरु यो वर्ष खारेज नहुने

Author Image
आइतवार, असार २५, २०७४

काठमाडौं,

जननिर्वाचित स्थानीय तहमा शिक्षा मन्त्रालयका कर्मचारी सहयोजन प्रक्रिया ढिलाइ हुँदा यो वर्ष जिल्ला शिक्षा कार्यालयहरुको संरचना कायमै रहने देखिएको छ । संविधानतः माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षा मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई स्थानीय तहमा हस्तान्तरण नभएपछि विद्यमान जिल्ला शिक्षा कार्यालयबाटै कार्यसम्पादन भइरहेको छ ।

शिक्षा मन्त्रालयको मातहतमा शिक्षा विभाग र क्षेत्रीय शिक्षा निर्देशनालय हुँदै ७५ जिल्ला शिक्षा कार्यालयको हालसम्मको संरचनामा परिवर्तन नभएसम्म शिक्षा क्षेत्रमा सङ्घीयताको सही कार्यान्वयन नहुने मत आएपनि यो वर्षलाई सङ्क्रमणकालीन समय मानी पुरानै संरचनाबाट काम गरिएको हो ।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले सरकारको आर्थिक वर्ष २०७४÷७५ मा पनि जिल्लाका कर्मचारी, छात्रवृत्ति, पाठ्यपुस्तक, मसलन्दलगायतको बजेट स्थानीय तहमा नदिई जिल्ला शिक्षा कार्यालयमै रहेकाले तत्काल ती कार्यालय खारेज नहुने बताउनुभयो ।

विद्यालयको सञ्चालन अनुमति, अनुगमन, स्तरोन्नति, शिक्षक नियुक्ति, बढुवा र सरुवा, विद्यालय व्यवस्थापन समितिलाई मान्यता, प्रधानाध्यापकको नियुक्तिजस्ता काम जिल्ला शिक्षा कार्यालयबाट हुँदै आएको छ । संविधान बमोजिम यी कामको जिम्मेवारी स्थानीय तहको हो ।

प्रदेश नं २ बाहेक अन्य प्रदेशका अधिकांश स्थानीय तहमा क्रमशः जनप्रतिनिधि आइसकेको अवस्थामा विद्यालय शिक्षासम्बन्धी सेवा प्रवाहका लागि विद्यमान निजामती सेवाअन्तर्गत शिक्षा सेवामा कार्यरत कर्मचारीबाटै व्यवस्थापन गराउने तयारी सरकारको छ ।

दुई महिनाअघि शिक्षा मन्त्रालयले सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा गठन गरेको कार्यदलले स्थानीय तहमा आफ्ना कर्मचारी समायोजन र कामको हस्तान्तरणबारे सुझाव दिएको थियो । सो प्रतिवेदन हालसम्म लागू भएको छैन ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले महानगरबाट क्रमशः आफ्ना कर्मचारी समायोजन गरिने तयारी भएको बताउनुभयो । मन्त्रालयको यो तयारीमा त्यहाँका कर्मचारीले ज्येष्ठता र वरिष्ठतालाई पालना गरेर समायोजन गराउन आवाज उठाएका कारण कार्यान्वयनमा ढिलाइ भएको हो । स्थानीय विकास मन्त्रालयले भने छिटो गरेर माविसम्मको जिम्मेवारी हस्तान्तरण हुनुपर्ने बताउँदै आएको छ ।

शिक्षा सेवाका कर्मचारी ट्रेड युनियनले आफूहरुको ज्येष्ठता र अनुभवको सम्मान तथा सेवा सुविधाबारे पहिला स्पष्ट पार्नुपर्ने माग नेपाल सरकारका मुख्यसचिवसमक्ष दिएपछि समायोजनमा ढिलाइ भएको हो ।

परीक्षा नियन्त्रण कार्यालयका उपनिर्देशक गेहनाथ गौतमले शिक्षकहरुको बढुवाजस्ता महत्वपूर्ण कागजात एकैपटक स्थानीय तहमा हस्तान्तरण गर्न सहज नभएकाले हाल जिल्ला शिक्षा कार्यालय यथावत् रहँदा अन्यथा नहुने दाबी गर्नुहुन्छ ।

प्रतिवेदनले महानगरपालिकामा शिक्षा सेवाका सहसचिवको नेतृत्वमा एक शैक्षिक व्यवस्थापन महाशाखा र त्यसको मातहतमा आधारभूत र मावि शिक्षा शाखा, उपसचिवको नेतृत्वमा उपमहानगरपालिका र नगरपालिकामा शैक्षिक व्यवस्थापन शाखा र गाउँपालिकामा शाखा अधिकृतको नेतृत्वमा शैक्षिक व्यवस्थापन शाखा राख्न सिफारिस गरेको थियो ।

हाल राजपत्राङ्कित प्रथम श्रेणीका २३ सहित शिक्षा मन्त्रालय मातहतमा दुई हजार ७०१ कर्मचारी छन् भने त्यसमध्ये एक हजार ४७० कर्मचारी शिक्षा प्रशासन सेवा समूहका छन् ।

Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर