Aamsanchar

बसाइँसराइका कारण जनसंख्या वृद्धिदर उच्च

Author Image
बुधवार, असार २८, २०७४

भद्रपुर।

परिवार नियोजन प्रयोगकर्ता भएता पनि झापामा बढ्दो बसाइँसराइका कारण जनसंख्या वृद्धिदर उच्च रहेको जनाइएको छ । ‘व्यवस्थित परिवारः समृद्ध राष्ट्रको आधार’ भन्ने मूल नाराका साथ विश्व जनसंख्या दिवस २०१७को अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले मंगलवार पत्रकारसँग गरेको संक्षिप्त अन्तरक्रिया कार्यक्रममा यस्तो जनाइएको हो ।
झापामा १ लाख ९७ हजार ५ सय ५४ विवाहित प्रजननयोग्य उमेरका दम्पती मध्ये ९५ हजार ६ सय ९५ जनाले आधुनिक परिवार नियोजनको साधन प्रयोग गरिरहेका छन् । प्रतिशतको आधारमा ४८ दशमलव २ प्रतिशत परिवार नियोजन प्रयोजनकर्ता भए पनि झापा जनसंख्या बृद्धि नघटेको कार्यालयका फोकल पर्सन तोयानाथ दाहालले बताए ।
नेपालको सवैभन्दा बढी प्रतिशत नियोजन प्रयोगकर्ता झापामा रहेको छ । प्रतिशत बढ्नुमा बसाइँसराइको कारणवाट जनसंख्या बुद्धिदर उच्च हुन पुगेको उनको भनाइ छ । चालू आर्थिक बर्ष २०७३÷७४मा मन्त्रालयवाट विद्यालयस्तरमा किशोरकिशोरी लक्षित साथी शिक्षा कार्यक्रम, जिल्ला जनसंख्या समन्वय समितिको वैठक, जिल्ला जनसंख्या प्रोफाइल अद्यावधिक कार्यक्रम, सूचना केन्द्र अद्यावधिक कार्यक्रम र विश्व जनसंख्या दिवस मनाउने कार्यक्रम स्वीकृत भएको र जनसंख्याको बारेमा प्रचारप्रसार नभएको विषयलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको कार्यालय प्रमुख मधुसुधन कोइरालाले जानकारी दिए ।
प्रत्येक वर्षको अंग्रेजी पात्रो अनुसार जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएकोमा यो वर्ष भने पत्रकारसँग अन्तरक्रिया गरेर मनाइएको जनस्वास्थ्य कार्यालयले जनाएको हो । कार्यक्रमको औचित्यमाथि कार्यालयका भेक्ट्रोल कन्ट्रोल जीवन चौलागाईले प्रष्ट पारेका थिए ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर