Aamsanchar

नेपालीले बाँझो राखेको जग्गामा लाखौं कमाउँछन् भारतीय नागरिक

Author Image
बिहिवार, असार २९, २०७४

[सुरेन्द्र भण्डारी]
बिर्तामोड।

रोजगारीको खोजीमा दैनिक १५ सयभन्दा बढी युवा विदेशिइरहेका बेला कृषि कर्मका लागि नेपाल छिरेका भारतीय नागरिकले तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन्भन्दा अचम्म लाग्न सक्छ ।
तर, झापाका विभिन्न ठाउँमा भारतीय नागरिकले जग्गा भाडामा लिएर तरकारी खेती गर्दै मासिक ३० हजारभन्दा बढी बचत गर्ने गरेका छन् । मौसमी तथा बेमौसमी तरकारी खेती गरेर झापाकै स्थानीय बजारमा तरकारी बिक्री गर्दै उनीहरुले वार्षिक तीन लाख रुपैयाँभन्दा बढी भारत लाने गरेका छन् ।
बिहार राज्यको सितामारी जिल्लाबाट आएका रामज्योति यादवले झापाको बिर्तामोड नगरपालिकामा तरकारी खेती गरेको झण्डै ३२ वर्ष भयो । उनले स्थानीय गौरावती राजवंशीको बिर्तामोड नगरपालिका– ३ स्थित बिर्ताबजारमा रहेको सात कठ्ठा जग्गा वार्षिक २५ हजार रुपैयाँमा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । तरकारी खेतीबाटै मासिक ३० हजार रुपैयाँ बचत गरिरहेको यादवले बताए ।
यादव आफ्ना बुवा रामफल यादवसँग झापामा कृषिकर्म गर्छन् । उनका श्रीमती मीनादेवीसँग रहेका दुई छोरा विशाल र करुण त्यहाँस्थित होस्टलमा बसेर अध्ययन गरिहेका छन् भने दुई छोरी पूजा र रवीना भारतकै स्थानीय विद्यालयमा अध्ययन गर्ने गरेका छन् । उनीहरुको पढाइ खर्च र घर खर्च कटाएर पनि रामज्योतिले झापामा तरकारी खेती गरेर सरदर मासिक ३० हजार रुपैयाँ बचत गर्ने गरेको बताए । उनका भाइ सञ्जिव यादव पनि झापाको बिर्तामोडमा नै जग्गा भाडामा लिएर तरकारी खेती गर्छन् । तरकारी खेतीबाटै उनको परिवारले पनि वार्षिक लाख रुपैयाँभन्दा बढी बचत गर्ने गरेको यादवले बताए ।
भारतबाट तरकारी खेतीका लागि आउने यावद परिवार त प्रतिनिधि पात्र मात्र हो । यादव परिवार जस्ता धेरै भारतीय नागरिकले झापाको बिर्तामोडसहित भद्रपुर, दमक, गरामनी, राजगढ जस्ता बजारका आसपासका जग्गा लिजमा लिएर तरकारी खेती गरिरहेका छन् । भारतको बिहार दरबंगा घर भएका विनोद रायले बिर्तामोडस्थित अन्धुवा खोलाको छेवैमा तरकारी खेती गरेको झण्डै छ वर्ष भइसकेको छ । १७ वर्षअघि आफन्तका साथ नेपाल छिरेका रायले तरकारी खेती गरेरै आफ्नो छ जनाको परिवार धानेका मात्रै छैनन् वार्षिक एक लाख रुपैयाँ भन्दा बढी बचत गरिरहेका छन् ।
युवालाई पनि कृषि कर्ममा संलग्न गराई कृषि उत्पादन बढाउन राज्यले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरे पनि नेपाली युवा अझैं पनि विदेश पलायत भइरहेका छन् । तर, भारतबाट नेपालमा आएर तरकारी खेती गरिरहेका भारतीय नागरिकले झापाली भूमिमा तरकारी खेती गरेर झापाबाट वर्षेनी लाखौं रुपैयाँ भारत लगे पनि त्यसको लेखाजोखा जिल्ला कृषि विकास कार्यालय झापासँग छैन ।
कति भारतीय नागरिकले झापामा कृषिकर्म गरिरहेका छन् न त सरकारसँग तथ्यांक छ न त कृषकको हकहितका लागि खुलेका संघ संस्थासँग नै । जिल्ला कृषि विकास कार्यालय झापाकी अधिकृत शितल भट्टराई कति भारतीय नागरिक झापामा रहेर खेती गर्छन् त्यसको लेखाजोखा कार्यालयसँग कुनै रेकर्ड नभएको बताउँछिन् ।
भारतका विभिन्न ठाउँबाट झापा आएर जमिन भाडामा लिएर तरकारी खेती गरेरै मनग्य आम्दानी गर्छन् भारतीय नागरिकहरु । तर, झापाका युवा भने भएको जमिन पनि बाँझो राखेर राम्रो कमाई हुने आशामा विदेशिरहेका छन् । दिनानुदिन झापाली युवा विदेशिनेक्रम बढेसँगै झापाको कतिपय खेतीयोग्य जमिन अहिले बाँझै छ । त्यही जमिन भाडामा लिएर भारतीय नागरिकले तरकारी खेती गर्दै लाखौं रुपैयाँ भारत लगिरहेका छन् ।

Views: 312

प्रतिक्रिया (०)

सम्बन्धित खबर