काठमाडौं। 

भनिन्छ माया अन्धो हुन्छ । ललितपुरकी एक युवतीले यही भनाइलाई पुष्टि गरेकी छिन् । उनले लागुऔषध दुर्व्यसनीमा परेका आफ्ना प्रेमीलाई त्यसबाट छुटाउने प्रयास गरिनन् । बरु प्रहरीले पक्राउ गरेपछि पनि हिरासतमै प्रेमीलाई लागुऔषध पुर्याउने प्रयास गरिन् ।

ललितपुरकी बबिता बरालको घटना हो यो । हिरासतमा रहेका प्रेमीलाई गाँजा पुर्याउन खोज्दा उनी आफैँ प्रहरी हिरासतमा पुगेकी छिन् । महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी ईश्वर कार्कीका अनुसार बबिताका प्रेमी विभिन्न प्रकारका लागुऔषधसहित पक्राउ परेका थिए ।
ललितपुर परिसरमा थुनिएका उनलाई बबिताले खाना लिएर गएकी थिइन् । खानाभित्र गाँजाको पोको पनि लुकाएकी थिइन् ।प्रहरीले चेकिङका क्रममा सो कुरा पत्ता लगाएपछि हतकडी लगाएर उनलाई पनि हिरासतमा राखेको हो । सार्वजनिक अपराध मुद्दामा उनीविरुद्ध कारबाही भइरहेको डिएसपी कार्कीले बताए ।

लागुऔषध दुर्व्यसनीमा फसेका गौतम प्रहरी हिरासतमा पुगेपछि ‘सिक’ भएका थिए । त्यहीकारण उनले प्रेमिकालाई खानामा लुकाएर गाँजा ल्याउन लगाए । प्रेमीलाई खुसी बनाउन खोज्दा बबिता गत ११ असारदेखि प्रहरी हिरासतमा छिन् ।खानाभित्र अवैध सामानहरू लुकाएको हुन सक्ने भएकाले जेल तथा प्रहरी हिरासतमा दिइने खान प्रहरीले चेक गर्ने गर्दछ ।
कतिपयले सिम कार्ड त केहीले लागुऔषध खानामा लुकाएर जेल तथा हिरासतमा पुर्याउने गर्दछन् । कसैले गलत उद्देश्यले विषादी मिसाएरसमेत जेल तथा हिरासतमा खाना दिन सक्ने भएकाले प्रहरीले सम्बन्धित व्यक्तिलाई पहिला चाख्न लगाउने गर्दछ ।गज्जब साप्ताहिकमा खबर छ ।

