Aamsanchar

एनएमवी बैंकको वित्तीय साक्षरता अभियान

Author Image
आइतवार, साउन १, २०७४

दमक,

एनएमबी बैंकले पूर्वमा स्थानीय तहमा नव निर्वाचित जनप्रतिनिधिहरुसँग सहकार्य गरेर महिलाहरुलाइ बित्तीय साक्षरता प्रदान गर्नका लागि अभियान चलाउने घोषणा गरेको छ ।
एनएमबी बैंक दमकले दमक नगरपालिकामा निर्वाचित प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीसहित सम्पूर्ण जनप्रतिनिधिहरुलाई सम्मान तथा शुभकामना कार्यक्रम राख्दै यस्तो घोषणा गरेको हो ।
एनएमबी बैंकका पूर्वाञ्चल क्षेत्रीय प्रबन्धक उत्सव घिमिरेले महिलाहरु अहिले पनि बैंकको कारोबारमा अत्यन्त न्यून संलग्नता रहेको पाएको बताउँदै बैकिङ साक्षरता जरुरी रहेको पाएको बताए । आफूहरुले आफ्ना बैंकका शाखाहरु भएका ठाउँमा जनप्रतिनिधिहरुको सहयोग लिएर बैकिङ साक्षरता चलाइने उनको भनाइ थियो ।
बैंकले केही महिना अघिदेखि महिला उद्यमशिलता कार्यक्रम शुरु गरेको बताउँदै यसले महिलाहरुको पहुँच बैंकमा बिस्तार गर्ने लक्ष्य लिएको उनले जनाए । यस अन्तर्गत महिलाहरुलाई योजना हेरेर सहज रुपमा ४ देखि १० लाख रुपैयाँ उपलब्ध गराइने घिमिरेको भनाइ रहेको थियो । यसले महिलाहरुलाई रोजगार दिलाउने र आर्थिक रुपमा सक्षम बनाउने अपेक्षा रहेको उनको भनाई थियो ।
सो सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले पैसा जम्मा गरेर बैंकको ब्याज आएजस्तै अब बुद्धि र विवेक जम्मा गर्ने बैंक नगरपालिकामा खोल्ने तयारी भइरहेको जानकारी दिए । कसैले पनि आफ्नो बुद्धि र विवेकले भ्याएको योजना तथा उपयोगी विचार उक्त बैंकमा जम्मा गरेको अवस्थामा त्यसको उपयोग भएपछि रोयल्टी प्रदान गरिने ओलीले बताए ।
बुद्धि र विवेक जम्मा गर्ने बैंकलाई नलेज बैंकको नामाकरण गरिएको छ । यो नगरपालिकामा एउटा बेग्लै शाखाको रुपमा राखिने उनको भनाइ रहेको छ । बैंकहरु नाफामुखी नभएर जनमुखी हुनुपर्ने भन्दै सकारात्मक कार्यमा आफूहरुको सधै साथ रहने बताए । आर्थिक इमान्दारिता र अनुशासन नहुनेको जमात ठूलो बन्दै गएको भन्दै यसमा सजग रहन उनले आग्रह गरे ।
उपप्रमुख गीता अधिकारीले महिलाहरुको आर्थिक क्षेत्रमा पहुँच अत्यन्त न्यून रहेको बताउँदै जबसम्म महिलाहरु आत्मनिर्भर बन्दैनन् र समान आर्थिक पहँुचको अवस्था आउँदैन तबसम्म समाजपछि नै पर्ने बताइन् ।
बैंकहरुले महिलाहरुको आर्थिक अवस्था सुधार र आत्मनिर्भरताको क्षेत्रमा ठोस कार्यक्रमहरु ल्याउनुपर्ने उनको जोड रहेको थियो । बैंकहरु यसतर्फ ध्यान नदिएको भन्दै यसमा उनले ध्यानाकर्षण गराइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर