Aamsanchar

   नारी अस्मिता र चमेली

Author Image
आइतवार, साउन १, २०७४

[क्षितिज  ‘बिन्दु’]

  झापा ,  

चिटिक्क सुन्दर भिरालो पहाडको काखमा थुम्का थुम्की अटाएर  खोला किनारा बेरेको सानो टापुजस्तै गाउँ । बिभिन्न जातजाति- बाहुन, क्षेत्री, मगर, थारु, कामी, दमाइँ, सार्की, लोहार, पण्डित, कुमाल, राइ, लिम्बु, तामाङं । एकै धाराको पानी खाएर एउटै संस्कृति र मेला पर्वमा रमाएको जीवन । वर्षौँ वर्ष भइसकेको रहेछ । म पनि ठुली हुँदै गएँ । मेरा बाल सखीहरु पनि । बिस्तारै बाल सखीहरु गाउँबाट हराउँदै गए । एकदिन त्यसरी नै म पनि हराएँ । कहिलेकाहिँ टुप्लुक्क देखिन्थेँ उनीहरु जस्तै ।

गाउँ घन्किएर छिमेकमा राजुको बिहेको कुरो चल्यो । बस्ति  जुट्यो  पात, टपरा  , टाटीबेरा सरसफाइमा  । हामी   फाट्टफुट्ट किनमेलमा ।  भोली जन्ती जाने दिन तयारी  सम्पन्न भइसकेको थियो  सबै – गाउँकै बाँडफाँडमा । भित्र ग्रह पूजा थियो । म पनि टुप्लुक्क पुगेँ । छिमेकी दाई सेलरोटी खाँदै बोल्यो – ‘खाउँ आजै ! भोली त के हो के हो ?’ पण्डित बा पूजामै ब्यस्त थिए । आमैको अनुहार चिन्तित देखियो । राजुमा बेचैनी । प्रसादको भाँचिएको  टुक्रा  छाडेर संकटको आँधी आएझैँ राजु फुत्त हिँड्यो । साँझ  अबेर सम्म  पनि आएन । हामी छिमेक भेला भएर राजुलाइ पखिरह्यौ । रात कालो थियो ।  मनको पिरोलोले बिहे घर उराठिलो  थियो । पर एकहुल जवानको कल्याङ कुलुङ आवाज आँगनमा आएर बन्दुक  बिसायो र  सोध्यो-  ‘भोलीको बेहुलो खोइ ?’ सोध्ने नाइके जस्तै थियो । अरु नकाब लगाएका  – छ – आठ जना जति वरिपरी छरिए । मैले सोचेँ – बिहेका गहना लाने भए  ।

बन्दुक सोझ्याउँदै अह्रायो- ‘ए जा माथि  लुकेको होला  निकाल्’ ।   पन्डित बा  भान्साबाटै चिहाए । आमै  हातको धिप्रि सँगै सिकुवामा नै अडिइन् । साना केटाकेटी सिकुवाको कुनामा सास रोकेर उभिरहे । उनीहरु तलासी सकेर बुट  बजाउदै  ओर्लिए – ‘माथि  छैन  भागेछ’ । नाइके बोल्यो  ‘भोली यो  बिहे  हुँदैन । रोक नत्र  लास  ल्याइदिन्छौँ । हामी प्रचन्डपथ हौँ ।  हाम्रो सिद्धान्त – एकजना सँग मात्र यौन र विवाह ।  त्यसैले यो बिहे रोकेका हौँ ।  यो  हाम्रो  पार्टीको  निर्देशन ।‘ मलाई जिउँदो राजु चाहिएको थियो । मैले  उनीहरुको निर्देशनमा  हस्ताक्षर गरिदिएँ ।  भोलीको बिहे बिथोलेर उनीहरु बाटो  लागे । किन  भयो ? के  भयो ? राजुले बेइमान  गरेको थियो  वा  थिएन ?  भोली  बेहुली  पक्षलाई  के जवाफ दिने ?  पन्डितबा को  मर्यादा  तुहियो ।  आमैको  आशा  रहर  कथित प्रचण्डपथले छिनभरमै चकनाचुर भयो । त्यो  रात  सधैँको भन्दा  लामो  भयो । ढोकाहरु राजुको पर्खाइमा अनिँदै रहे ।  आँगन र गोरेटो तर्सिरह्यो । हामी राजुकै प्रतीक्षामा ब्यग्र थियौ ।

 

बिहान भइसक्दा पनि गाउँमा कतै चालचुल थिएन । मेरो मनमा चिसो पस्यो । घडीले १० बजाएछ । फाट्टफुट्ट  चलमलाए मान्छेहरु । उनीहरुले नै भने – चमेलीको बिहे पार्टिले  गरिदिएको कुरा ।  राजु पनि पार्टीकै कब्जामा उतै छ ।  पण्डितबा र आमै छोरोको जिउँदो खबरले सन्तोषको सास फेरेका मात्र के थिए । उता बन्दुकको चर्को आवाजले गाउँ फेरि स्तब्ध भयो ।

अघि अघि चौध पन्ध्र बर्षका केहि गह्रुङ्गो भारी झुण्ड्याएका युवा । पछिपछि पँखेटा   झरेझैँ गरुङो  पाइला सारेकि चमेली । सिकुवामा बिसाए उनीहरुले भारी – जस भित्र राजुको  लास थियो  आँगनको पल्लो छेउमा पुरानो अनुहारमा उभिएकी  थिई – चमेली । आएका मध्येको एकले चमेली  तिर इसारा  गर्दै  बोल्यो –‘यो तिमीहरुकी बुहारी …. स्वीकार्न मानेन उसले … पार्टीको कारवाहीमा पर्‌यो । चमेली गर्भवती छ ख्याल राख्नु होला ।उनिहरुले चमेलिलाइ लाल सलामिको   अभिबादन गरि बाटो  लागे –  चमेलि लास सग बेरिएको भाबनाको प्रेम सगँ  पटक पटक  समाजिक  प्रश्नले  उधारिन्थि  ? कता   ?   कहिले  ?  कसरि  ?  को को  ?  प्रश्नको पहाडले  छिचिएपछि  मौनपिडामा  चिरिन्थि उ  । ‘ तुफान चलिरह्यो  सारा  परिवारको  मर्यादा   उडाएर ।  मडारिएको  आँधीबेरी न्युज पेपरहरुमा छरियो ।

‘चमेलीको गर्भले न्याय पायो’ । ‘क्रान्तिकारीको न्याय  चमेली लाई’…। समाजका  युवा  युवती डराए – खासखुस कुरा गर्न, सँगै हिँडन, खेल्न, बोल्न, मेलापातमा  दोहोरी गाउन । तर प्रचन्डपथले गरेको यो आमुल न्याय पद्दति  धेरै  दिन टिकेन । चमेलीको शरीरमा गर्भ थिएन ।

कथित दलित चमेली सामाजिक छुल्याहाहरुको बहकाउ र अपरिपक्व राजनीतिको शिकार मात्र  बनेकी थिई । राजु त एउटा प्रतिनिधी पात्र मात्र थियो । चमेली- एउटा नारी माथिको ज्यादति –उसको पोखिएको  पारिवारिक  मर्यादा । उदाङ्गो पारिएको  बालप्रेम । सभाहरुमा छलफलको विषय पनि चमेली ।

एउटा दलले उसलाई केही रकम दिलाएर स्वतन्त्र गर्ने  रे । अर्कोले उसको   यौनको  मूल्य निर्धारण गर्‌यो ।  अर्को दल चमेलीको मानव अधिकारको  रक्षा गरिदिने भयो । समाज पनि चमेलीको भोली सम्झिएर गरिखानलाई रकम जोहो गरिदिने भयो । आँफुमाथिको चर्को बहस र मोल बढाबढले मानसिक र  शाररिक  शिथिल भइसकेकी  चमेलीले पैसाको मुठो थाप्दै कागजमा सही गरि दिई । अब उ आजाद थिई ।समाजले  उसले पाउने न्याय र नारी अधिकार दिलाइदिन  कतै कसर   बाँकि  राखेन ।

मैले चमेलीलाई नजिकबाट हेरेको पनि दुई बर्ष बितिसकेको  थियो । चमेली जाने दिन मलाइ पनि  बेस्सरि नरमाइलो  लाग्यो ।अब कहाँ जानु,,,? चमेलिले  पाएको न्यायमा  कुनै तुक थिएन  न  थियो  सम्मान,,,,,? यो  माया  भन्ने चीज पनि जतासुकै जोसुकैसँग टपक्क अडिन्छ । मेरा  लागि  चमेली  त्यस्तै  थिई । चमेली  नभएपछि माथ्ला घरको जल्याङजुलुङ पनि  शुन्य  थियो ।

माथिल्लो  बाटो  बाट  एकहुल  युवा  केटा  केटी  हतारिँदै  झरे । बुढापाका  पनि  उतै एकोहोरिए । भीडले  डाँडो भरिँदै  थियो । बाबु रुँदै भन्दै थियो, ‘मैले त साहुका  पैसा  फर्काउन जा  मात्र  भनेको  थिएँ’———- नोटहरु खरबारी र बनमाराका चेपहरुमा असरल्ल अल्झिएका थिए । म भीड उधिन्दै छेउमा पुगेँ उसरी नै बोलाएँ, ‘चमेली’,,,,,,,,,,?????????  । गुरुङ गाउँको पखेरोले मेरो आवाज मैतिर फर्कायो । चमेलीले  राति नै   झुन्डिएर आत्महत्या    गरिसकिछे ।।।।।।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर