Aamsanchar

शक्तिपीठमा दर्शनार्थीको घुइँचो

Author Image
सोमवार, साउन २, २०७४

बैतडी ।

साउन महिना शुरु भएसँगै बैतडीका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनालाई बत्ती बाल्ने महिनाका रूपमा समेत लिने गरिएकाले मन्दिरमा बत्ती बाल्ने दर्शनार्थीको भीड लागेको हो ।

यो महिनामा मन्दिरमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले साउन महिनामा मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको अनिरुद्र मन्दिरका पुजारी गणेशदत्त अवस्थीले बताउनुभयो । बैतडीमा सातबैनी भगवती र सातभाइ केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेको स्थानीयवासीले बताएका छन् ।

जिल्लाका त्रिपुरासुन्दरी, निङगलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको महाकाली साहित्य सङ्गम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले बताउनुभयो । जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिरमा साउनको महिनाभरि दर्शनार्थी दर्शन गर्न जाने गर्दछन् । रौलाकेदार मन्दिरमा साउन महिना शुरु भएसँगै दर्शनार्थीको भीड लागेको स्थानीय शिक्षक नवराज मडैले जानकारी दिनुभयो ।

जिल्लाको पूर्वी भागमा रहेको सिगास मन्दिरमा यो महिना दर्शनार्थीको निकै घुइँचो लाग्ने गरेको स्थानीयवासी केदार अवस्थीले बताउनुभयो । साउन महिनाभरि मन्दिरमा राति जाग्राम बस्ने र बत्ती बाल्ने चलन रहिआएको छ । जिल्लाबाट बसाइँ सरेकाहरू पनि मन्दिरमा पूजापाठ गर्नका लागि यो महिना जिल्ला भित्रिने गर्दछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर