Aamsanchar

झापामा ढलका बोतलले डुबान निम्तिँदै

Author Image
सोमवार, साउन २, २०७४

दमक।

झापाको दमकमा बनाइएका ढलहरुमा प्लास्टिकका बोतल तथा फुटेका सिसाहरु फ्याक्ने कार्य बढ्दै गएपछि पानी तथा फोहोरले निकास नपाउँदा सानो पानी पर्दा पनि दमकका प्रमुख सडकहरु जलमग्न हुने गरेको पाइएको छ । बनाउँदै गरिएका ढल र बनाइसकिएका ढलहरुमा यस्तो समस्या भएको पाइएको हो ।
नगरपालिकाले ढल सफाई अभियान शुरु गरेर अधिकांश ढलहरु सफाई गरे पनि फेरि उही अवस्था आएको पाइएको हो । फोहोर पानी बग्नुपर्ने र फोहोर बगाउनुपर्ने ढलमा बिभिन्न सामग्रीहरु हालेर अवरोध गर्दा समस्या उत्पन्न हुने गरेको दमक नगरपालिकाका इञ्जिनियर अनन्त सेनेहाङले बताए ।
ढलमा सेफ्टी ट्याङ्की मिसाउने कार्य भने केही हदसम्म निरुत्साहित भएको बताउँदै उनले अहिले बिभिन्न प्लास्टिकजन्य बस्तु बोतल, सिसाको बोतल र निर्माण सामग्री थुपार्दा ढल पुरिने गरेको छ । बर्षादको समयमा सानो पानी आउँदा पनि ढलबाट पानी बग्न नसक्दा बजार तथा मुख्य चौकहरु नै जलमग्न हुने अवस्था देखिएको उनले बताए ।

स्थानीय उपभोक्ता र नगरपालिकाको साझेदारीमा करोडौको लागतमा बनाइएका ढल तथा कालोपत्रेको दुरुपयोग रोक्न उपभोक्ता स्वयम् सचेत हुनुपर्नेमा त्यो नभएको नगरपालिकाको भनाइ छ । घर बनाउँदा निर्माण सामग्री महिनौसम्म सडकमै छाडिदिने, ढलमा परेको निर्माण सामग्रीलाई सफा नगर्ने जस्ता कार्यले दमक जलमग्न हुने गरेको बताइएको छ ।
दमक नगरपालिकाले बारम्बार निर्माण सामग्री जथाभाबी सडकमा नराख्न, ढललाई अवरोध हुने काम नगर्नका लागि नगरबासीलाई आग्रह गरे पनि यो कार्य अझै रोकिएको छैन । नगरपालिकाका सरसफाई शाखा प्रमुख द्रोण थापाले ढलको संरक्षण गर्ने जिम्मेवारी स्थानीय उपभोक्ताको पनि भएको बताउँदै आफूहरुले बारम्बार ढल सफाई अभियान चलाएको भए पनि फेरि उस्तै हुने गरेको बताए ।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर