Aamsanchar

बीएण्डसीमा १२ जटिल प्रकारको क्यान्सरको शल्यक्रिया

Author Image
बुधवार, साउन ४, २०७४

बीएण्डसी अस्पतालमा जटिल प्रकारका क्यान्सरको १२ वटा सफल शल्यक्रिया भएको छ । डा. रोहितप्रसाद यादव, डा. वीरेन्द्रप्रसाद यादव लगायतको चिकित्सक टोलीले छोटो अवधिमा १२ वटा क्यान्सरको सफल उपचार गरेको मंगलबार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
मेची अञ्चल अस्पतालमा पहिलो पटक क्यान्सरको उपचार बीएण्डसीमा शुरु भएसँगै यहाँका सेवाग्राहीले सहजरुपमा सेवा लिन थालेका छन् । अस्पतालमा डायनोस्टिक, शल्यक्रिया र केमो थेरापीसम्मको सुविधा रहेको र छ महिनाभित्रमा रेडियो थेरापीको समेत व्यवस्था गर्दै जटिल प्रकारका क्यान्सरको समेत शल्यक्रिया गर्ने तयारी भइरहेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए ।
रेडियो थेरापीका लागि सरकारको अनुमति चाहिने र मेसिनको मात्र मूल्य झण्डै ३० करोड पर्ने भएकाले मेसिन खरिद गरिए पनि सरकारको अनुमति बिना काम थाल्न सकिएको छैन –कार्यकारी निर्देशक प्रसाईंले भने । रेडियो थेरापीका लागि अस्पतालले काम शुरु गरिसकेको र उपकरण सञ्चालनका लागि सरकारको अनुमतिसँगै मेदान्त अस्पतालको सहकार्यमा बीएण्डसीबाटै क्यान्सरका रोगीका लागि रेडियो थेरापी सेवा सुचारु गरिने उनले बताए ।
केमो थेरापीका लागि डा. वीरेन्द्रप्रसाद यादवले काम गरिरहेको र भारतको चण्डीगढबाट दक्षता हासिल गरेका विशेषज्ञ भएकाले सेवाग्राहीले उत्कृष्ट सेवा पाएको डा. रोहितप्रसाद यादवले बताए । मेदान्त अस्पतालसँग सहकार्यपछि बीएण्डसी अस्पतालले टेली मेडिसन शुरु गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अस्पतालका डा. रोहितप्रसाद यादवले यसअघि प्याङ्क्रियाज ग्रन्थीमा भएको क्यान्सरको सफल उपचार गरेका थिए । क्यान्सर रोगीको संख्या मेची अञ्चलमा दिनानुदिन बढ्दै गइरहेका र औषधि उपचारका लागि भरतपुर तथा काठमाडौंसम्म जानुपर्ने भएकाले अस्पतालले झापाबाट सहजरुपमा सेवा प्रदान गर्ने रेडियो थेरापीसहितको सेवा सुचारु गर्न लागिएको बताइएको छ ।
योसँगै अस्पतालले छ महिनाभित्रमा मेदान्तसँगकै सहकार्यमा मुटुको शल्यक्रिया सेवा समेत शुरु गर्ने अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले बताए । पत्रकार सम्मेलनको सञ्चालन अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर