बिर्तामोड।

मुस्लिम आयोग गठन भएर मुस्लिमहरुको हक अधिकारका क्षेत्रमा काम गरे पनि ग्रामीण क्षेत्रमा रहेका मुस्लिमका लागि आयोगले कुनै पनि सहयोग नगरेको झापा गाउँपालिकाका मुस्लिम समुदायका अगुवाले आरोप लगाएका छन् ।
झापामा ५१ वटा मदरसा दर्ता भएर सञ्चालनमा रहेको र अझैं २०÷२५ वटा दर्ता हुने प्रक्रियामा रहे पनि मदरसाको अवस्था दयनीय रहेको उनीहरुको भनाइ छ । झापा गाउँपालिकामा मात्रै १९ वटा मदरसा रहेको र मदरसामा १५ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत् रहेको बताइएको छ । तर, यिनलाई राज्यकोतर्फबाट कुनै सहयोग नभएको उनीहरुले बताएका छन् । मरकरजमजम बिल वनात कत्लामारीमा आयोजित झापा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको स्वागत तथा सम्मान कार्यक्रममा मुस्लिम समुदायका अगुवाले झापामै मुस्लिम आयोग गठन हुनुपर्ने र मुस्लिमको हकअधिकारका क्षेत्रमा राज्यले निर्दिष्ट गरे अनुसार सेवा सुविधा पाउनुपर्ने बताएका छन् ।
मरकरजमजम कक्षा ८सम्म पढाई हुने मदरसा रहेको बताउँदै मदरसाका प्रिन्सिपल मोहम्मद ताहिरले राज्यकोतर्फबाट कुनै सहयोग नहुँदा शिक्षकलाई नै तलब खुवाउन मुस्ठीदान संकलन गर्नु परेको बताए । २२० जना विद्यार्थी सो मदरसामा अध्ययनरत् रहेको र २ जना हिन्दू शिक्षकसहित ७ जना मुस्लिम समुदायका शिक्षकले काम गरिरहेको बताइएको छ । विद्यालयका लागि राज्यले न कुनै सेवा सुविधा दिएको छ, न त विद्यार्थीका लागि बस्ने डेक्स, बेञ्चको व्यवस्था गर्न सकिएको छ– प्रिन्सिपल ताहिरले भने– नवनिर्वाचित जनप्रतिनिधिले अब हाम्रो गुनासो सुनिदिनु प¥यो ।
मदरसा व्यवस्थापन समिति अध्यक्ष बासेद अलीको अध्यक्षतामा भएको कार्यक्रममा मदरसाका संस्थापक अध्यक्ष ज्याबुल हकले राज्यको उपेक्षाका कारण मदरसाको विकास र विस्तार हुन नसकेको आरोप लगाए । मुस्लिम आयोग गठन भए पनि झापामा कुनै पनि मदरसाले आर्थिक लगायतका सहयोग नपाएको उनले बताए । संस्कारयुक्त शिक्षा सिकाउन मदरसाले अथक प्रयत्न गरे पनि राज्यले सहयोग नगरेका कारण घर–घरमा मुस्ठीदान संकलन गरेर विद्यार्थीलाई पठाउनु परेको अध्यक्ष अलीको भनाइ छ ।
मुस्लिम आयोगले मुस्लिमकै हकहितका लागि काम नगरेको जनप्रतिनिधि समक्ष गुनासो गर्दै नवनिर्वाचित जनप्रतिनिधिलाई एक मदरसा, एक शिक्षकको दरबन्दी अनिवार्य गरिदिन र अन्य विद्यार्थी सरह मदरसालाई पनि सहयोग पु¥याइदिन आग्रह गरेका छन् । मदरसा व्यवस्थापन समितिले झापा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई एकमुष्ठ सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष जयनारायण साहलाई मदरसाको विकास र विस्तारमा सहयोग पु¥याइदिन अपिलसहित मुस्लिमको धर्मग्रन्थ कुरान प्रदान गरेका छन् ।
यता गाउँपालिका अध्यक्ष साहले मदरसाको विकासका लागि आफू कटीबद्ध भएर लागी पर्ने बताएका छन् । संविधानको परिधिभित्र रहेर आफूले काम गर्ने र मुस्लिम समुदायका अगुवाले माग गरे बमोजिम एक मदरसा, एक शिक्षकको दरबन्दी कायम गरेर छोड्ने बताए । राज्यले अन्य विद्यालयलाई जस्तो सेवा सुविधा दिएको छ, त्यस्तै मदरसालाई पनि सुविधा दिन आफू पछि नपर्ने बताउँदै उनले मुस्लिम धर्मावलम्बीहरुका झापा गाउँपालिकाभित्र रहेका मस्जीदहरुको व्यवस्थापनमा समेत आफू लागी पर्ने बताए । उनले मृत्यु संस्कारका लागि प्रयोग गरिने कवरस्थानको समेत व्यवस्थापन गर्न लागीपर्ने बताए ।
कार्यक्रममा कुरान वाचन वर्कत अलीले गरेका थिए । जनप्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले गाउँपालिकाभित्र रहेका धार्मिक संघ–संस्था, गुठी लगायत शैक्षिक संस्थाको समेत विकास र विस्तारमा आफू लागीपर्ने बताइन् । मुस्लिम महिलाहरुको हकअधिकारका लागि विभिन्न खाले कार्यक्रम सञ्चालन गर्दै मुस्लिम महिलालाई समेत स्वावलम्बी बनाउने र मुस्लिम समुदायका बालबालिकालाई अनिवार्य शिक्षाको व्यवस्था गर्न आफू लागी पर्ने बताइन् ।

कार्यक्रममा झापा गाउँपालिकाका वडा नं. ३ र ४का सचिव राजेन्द्र पराजुली, निर्वाचित ३ नम्बर वडाध्यक्ष मोतीलाल गणेश, माओवादी नेता रुद्र बजगाईँ, नेपाली कांग्रेसका क्षेत्रीय सचिव ठमनाथ नेपाल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला मदरसा समितिका सचिव सफिउल्ला अन्सारीले गरेका थिए ।

