इलाम,
इलामको सबै भन्दा ठूलो नगरपालिका सुर्योदय नगरपालिकाको वडा कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
चुनावपछि सिंहदरबारको अधिकार गाउँबाटै दिने बताइए पनि वडामा सेवा लिन गएका मानिस रित्तै हात फर्किनु परेको छ । स्थानीय तहमा आवश्यक कर्मचारी अभावका कारण सेवाग्राही फर्कनु परेको हो ।
१४ वटा वडा रहेको नगरपालिकामा व्यवसायिक फम नविकरणका लागि गएका सेवाग्राही फर्केका हुन् । सेवा लिन जाँदा कर्मचारी छैनन् । यहाँबाट काम हुँदैन भनेर भनेकाले काम नगरी फर्कनु परेको स्थानीय बासिन्दा हरि लुइटेलले बताउनुभयो ।उहाँले भन्नुभयो ‘काम त गर्नै पर्यो, आफ्नै वडाबाट सेवा नपाएपछि नगरपालिका नै गएर सेवा लिएँ ।’
कर्मचारी अभावका कारण एकै जना कर्मचारीले नगरपालिकाका दुई वडा भन्दा बढी वडा हेर्नु पर्ने बाध्यता रहेको नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले स्वीकार गर्नुभयो । यस्ता समस्याका कारण असार १४ गते भएको दोस्रो चरणको स्थानीय तहको चुनावमा विजय भएका ७२ जना जनप्रतिनिधिलाई समेत काम सुरु गर्न समस्या भएको बताइएको छ ।