Aamsanchar

देव हत्याबारे निष्पक्ष छानबिन गर्न माग

Author Image
शनिवार, साउन ७, २०७४

राजविराज ।

करिब दुई वर्षअघि राजविराज नगरपालिका–७ का जितेन्द्रनारायण देवको रहस्यमय मृत्यु भएको घटनाबारे निष्पक्ष छानबिन गर्न बागेश्वरी सेवा समितिले माग गरेको छ ।

समितिको कार्यसमितिले राजविराजस्थित नेपाल पत्रकार महासङ्घ सप्तरीको सभाहलमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो । समितिका अध्यक्ष इन्जिनियर इन्द्रनारायण देवले तराई–मधेस आन्दोलनका क्रममा भएको सो घटना सत्यतथ्य छानविन गरी मृतकलाई शहिद घोषणा गर्नुपर्ने माग गरिएको पत्रकार सम्मेलनमा बताउनुभयो ।

विसं २०७२ असोज ३० गते शनिबारका दिन राजविराज नगरपालिका–६ हाल वडा नं–७ निवासी ३० वर्षीय देवलाई केही व्यक्तिले बेपत्ता पारी चरम यातनापछि हत्या गरिएको उनका परिवारको आरोप छ ।

हत्या गरिएको देवको शव २०७२ कात्तिक ३ गते सप्तरीको बरही–वीरपुरस्थित कोसी नहरमा सशस्त्र प्रहरीको बेस क्याम्प नजिक फेला परेको थियो । उनको दुवै कान काटिएको अवस्थामा बायाँ टाउकादेखि गालासम्म गम्भीर चोट थियो भने रिढ (मेरुदण्ड) भाँच्चिएको र शरीरभरि चोट लागेको अवस्था थियो ।

मृतक देव मधेस आन्दोलनमा सहभागिता जनाएको उनका परिवारले जनाएका छन् । तराई–मधेस थरुहट क्षेत्रमा भएको आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड, आगजनीलगायत घटनाबारे छानबिनका लागि सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठन गरेको समितिका सदस्य समेतको टोलीले दुई साता अघि मात्र देवको शव फेला परेको स्थानको अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर