काठमाडौँ ।
नेकपा (एमाले) निकट युवा सङ्घ नेपालले ९ औँ महाधिवेशनको टुङ्गो लगाउन आज स्थायी समितिको बैठक सुरु भएको छ ।
महाधिवेशनका लागि गत वैशाखमा मिति निर्धारण गरिएको भएपनि स्थानीय तहका चुनाव भएका कारण महाधिवेशन हुन सकेको थिएन । सङ्घमा असन्तुष्ट पक्षले महाधिवेशनको माग गरिरहेको बेलामा बसेको सो बैठकलाई अर्थपूर्ण मानिएको छ । उक्त बैठकमा प्रादेशिक संरचनाअनुसार सङ्घको व्यवस्थापनलाई समायोजन गर्ने, स्थानीय तहको समीक्षा तथा आर्थिक राजनीतिक र सामाजिक विषयमा छलफल केन्द्रित छ ।
आइतबारसम्म जारी रहने उक्त बैठकले देशको संरचनाअनुसार सातै प्रदेशमा सङ्गठनका गतिविधि सञ्चालन गर्न विधान परिवर्तनका लागि विधान मस्यौदा उपसमितिलगायत अन्य समिति निर्माण गर्नेछ ।
सङ्गठनका इन्चार्ज एवम् नेकपा (एमाले) पार्टीका पोलिटब्यूरो सदस्य महेन्द्रबहादुर पाण्डेले आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा स्थानीय जनतालाई देशको अवस्था तथा पार्टीको आदर्श र सिद्धान्तका बारेमा बुझाउन युवा सङ्घलाई निर्देशन दिनुभएको केन्द्रीय कार्यालय प्रमुख प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।
संविधान संशोधन मधेसका जनताका पक्षमा नरहेको विषय त्यस क्षेत्रका जनतालाई बुझाउन राजनीतिक अभियान सञ्चालन गर्न युवालाई निर्देशन दिँदै उहाँले पार्टीलाई पहिलो नम्बरमा स्थापित गर्न आग्रह गर्नुभयो ।