Aamsanchar

कांग्रेस झापाद्वारा जनप्रतिनिधिलाई सम्मान

Author Image
आइतवार, साउन ८, २०७४

बिर्तामोड।

नेपाली कांग्रेस झापाले नेपाली कांग्रेसका तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टी कार्यालयमा एक समारोहको आयोजना गर्दै उनीहरुलाई सम्मान, वधाई तथा शुभकामना प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्माले नेपालको राजनीतिक दर्शनलाई नेपाली कांग्रेसले ल्याएको बताए ।

उनले भने– नेपाली कांग्रेसले निर्वाचनमा हारे पनि दर्शनमा जितेको छ, त्यसैले हामीले यसलाई हार मान्नुहुँदैन । नेता शर्माले भने– ‘झापा यसै पनि शक्तिका हिसाबले हाम्रो थिएन, कम्युनिष्टहरुको गढ भनिएको ठाउँ कांग्रेसले भत्काइदिएको छ, त्यही नै कांग्रेसको ठूलो जीत हो ।’
मेचीनगर नगरपालिकाका नवनिर्वाचित मेयर बिमल आचार्यले मेचीनगरका सबै वडा जित्ने प्रयास सफल नभए पनि अबको ५ वर्षमा झापाका सबै गाउँपालिका र नगरपालिका कांग्रेसले नै जित्ने दावी गरेका थिए ।
त्यस्तै बिर्तामोड नगरपालिकाका मेयरका उपबिजेता जलकुमार गुरुङले भने– ‘हामीले हारलाई सहज स्वीकार्न सक्नुपर्छ, सम्भावना कहिल्यै सकिँदैन । परिणाम आफ्नो नभए पनि त्यसमा कसैले विचलित हुनुहुँदैन ।’ उनले भने– ‘हामी दुःख गर्न सक्ने मान्छे हौं, दुःख गर्नुपर्छ तर बेइमानी र अन्तरघात कसैले नगरौं सबै कुरा आफसेआफ हुँदै जान्छ ।’
कार्यक्रममा गौरादह नगरपालिकाका नवनिर्वाचित मेयर रोहितकुमार साह, बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशी, कमल गाउँपालिकाबाट बराबरी मत ल्याएर गोलाप्रथाबाट उपबिजेता बनेका हुकुमसिंह राई, गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दीपेन्द्र थापा, बाह्रदशी गाउँपालिकाका उपाध्यक्ष रत्ना राजवंशी, नेपाली कांग्रेस बिर्तामोडका नगर सभापति तथा बिर्तामोड नगरपालिका वडा नं. ३का नवनिर्वाचित अध्यक्ष भोजराज सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाली कांग्रे्रसका जिल्ला सभापति उद्धव थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा झापा जिल्लाका नेपाली कांग्रेसबाट बिजयी हुने नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष तथा सम्पूर्ण सदस्यहरु र उपबिजेताहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । नेपाली कांग्रेसका उपसभापति राम कट्टेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रेम सम्वाहाम्फेले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर