Aamsanchar

जयन्द्र प्रसाईं साहित्य कोषबाट पत्रकार उपचार कोषलाई ५१,१११

Author Image
आइतवार, साउन ८, २०७४

बिर्तामोड।
झापाको बिर्तामोडस्थित जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ ।
कोषका अध्यक्ष कोपिकृष्ण प्रसाईंले बिर्तामोड– ६ स्थित निवासमा आज आइतबार पत्रकार उपचार कोषका संयोजक एवम् नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीलाई उक्त रकम हस्तान्तरण गरे ।
पत्रकार महासंघ झापा शाखाले १ करोड रुपैयाँको कोष बनाइ झापाका पत्रकारको उपचारमा त्यसको ब्याजबाट सहयोग पुर्याउने गरी अभियान सञ्चालन गरेको छ । जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषका अध्यक्ष गोपिकृष्णले पत्रकारको हितार्थ स्थापना गरिएको कोषमा सहयोग पुर्याउन सबैमा अपिल पनि गरे ।

‘जोखिम र चुनौतिपूर्ण अझ भनौ खुकुरीको धारमा जीवन सुम्पेर पत्रकारिता कर्ममा अहोरात्र खट्ने पत्रकारको हितका लागि अपरिहार्य र महत्वपूर्ण कामको थालनी भएको छ’ – रकम हस्तान्तरण गर्दै गोपीकृष्णले भने– ‘सबैले यो कामको सराहना गर्दै सहभागी बनांै र यथेष्ट सहयोग गरौं ।’
जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोष गोपीकृष्ण र प्रसाईं परिवारले आफ्ना पिताको नाममा २०५९ सालमा स्थापना गरेका हुन् । कोषको रकम १० लाख रुपैयाँ रहेको छ । उक्त संस्थाले हरेक वर्ष जयन्द्रप्रसादको जन्म जयन्तीको अवसर पारी दीर्घ साहित्यसेवी, उत्कृष्ट कृतिकार र सक्रिय महिला पत्रकार गरी तीन जनालाई पुरस्कृत गर्दै आएको छ । १९७९ साल भदौ १८ गते जन्मिएका जयन्द्रप्रसादको २०६९ माघ २५ गते स्वर्गारोहण भएको थियो


पत्रकार महासंघले स्थापना गरेको पत्रकार उपचार कोषमा अहिले २८ लाख रुपैयाँ जुटिसकेको छ । कोषलाई रकम प्रदान गरेकोमा महासंघका उपाध्यक्ष तथा कोषका संयोजक गिरी, महासंघकी उपाध्यक्ष भीमा शिवाकोटी, सहसचिव केशव भट्टराई, कार्यसमिति सदस्य लक्ष्मी काफ्ले, पत्रकारहरु यज्ञ पाठक, रेजिना रोदनले उक्त संस्थाप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर