Aamsanchar

वरदान बन्दै सहारा,सदस्यको उपचारदेखि दशकर्म खर्चसमेत व्यहोर्दै

Author Image
आइतवार, साउन ८, २०७४
  • एकराज गिरी/ बिर्तामोड।

झापा बुद्धशान्ति–२ बुधवारेकी ५२ वर्षीया नरमाया मैनालीको हातको व्यूटी बोन फ्याक्चर भयो । उनको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा सफल शल्यक्रिया भयो । उक्त शल्यक्रियाको सबै खर्च हस्पिटलमा सहारा नेपाल (साकोस)ले तिरिदियो ।
बिर्तामोड–२की सरस्वती विकले गत असार २९ गते जुम्ल्याहा छोरा जन्माइन् । शल्यक्रियामार्फत मनमोहन हस्पिटलमा बच्चा जन्माएकी उनको उपचार खर्च पनि सो हस्पिटलमा सहाराले नै व्यहो¥यो ।शिवसताक्षी–८की बुद्धरानी योङ्हाङले आफ्नो पित्तथैलीमा भएको ‘स्टोन’ बिराटनगरस्थित नोबेल हस्पिटलमा शल्यक्रिया गरेर फ्याँकिन् । कनकाई–३का राजेन्द्र मैनालीले पनि बिर्ता सीटी हस्पिटलमा पित्तथैलीको शल्यक्रिया गरे । कनकाई–३कै पार्वता ओलीको खुट्टा भाँचिएर शल्यक्रिया गर्नुपर्ने अवस्था आयो । वीएण्डसीमा शल्यक्रिया सफल पनि भयो । उनीहरु सबैको उपचार खर्च सहाराले नै हस्पिटलमा बुझाइदियो ।

महेन्द्रकुमार गिरी
बिर्तामोडकी कमला ओली क्यान्सरबाट पीडित भई काठमाडौंको हरिसिद्धि क्यान्सर हस्पिटलमा उपचाररत् छिन् । उनको उपचारमा लागेको मध्ये दुई लाख ३४ हजार रुपैयाँ सहाराले तिरिसकेको छ ।यो उदाहरण मात्र हो । बिर्तामोड–२मा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले जीवन बरदान कार्यक्रम अन्तर्गत आफ्ना शेयर सदस्यको उपचार तथा शल्यक्रिया खर्च व्यहोर्दै आएको छ ।

 

सहाराले जुनसुकै रोगका कारण पनि अस्पताल भर्ना भएका, शल्यक्रिया गर्नुपर्ने, दुर्घटनामा परेका, प्रसूति सेवा, क्यान्सर, मुटु, मृगौला जस्ता विशेष रोगबाट पीडितको उपचार खर्च व्यहोर्दै आएको संस्थाका सचिव तथा प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए । ‘आफ्ना सदस्यको उपचारका लागि नेपालका नाम चलेका ३५ हस्पिटलसँग सम्झौता गरी सेवा प्रवाह गर्दै आएका छौं र यो प्रभावकारी देखिएको छ’– सहाराका सचिव गिरी भन्छन्– ‘यसबाट विपन्न सदस्यको जीवन बाँचेको मात्र छैन, ठूला हस्पिटलमा जटिल रोगको उपचार गर्ने सहज पहुँच पनि पुगेको छ ।’
एक बर्षमा ३५८को उपचार र शल्यक्रिया
सहारा नेपाल साकोसले ०७३ साउनदेखि ०७४ असारसम्म ३५८ जना सदस्यको उपचार तथा शल्यक्रिया खर्च व्यहोरेको छ । उनीहरुको उपचार एवम् शल्यक्रिया गर्दा ६९ लाख तीन हजार ३ सय २ रुपैयाँ सहाराले व्यहोरेको हो । त्यसमध्ये एक सय ३३ जनाले प्रसूति सेवा लिएका थिए । प्रसूतिमा पनि ५८ जनाको ‘नर्मल’ र अरुको ‘सिजर’ गरिएको थियो । सहाराले पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म उपचार तथा शल्यक्रिया खर्च व्यहोरेको जीवन बरदान कार्यक्रम संयोजक भक्त खड्काले बताए । जसमध्ये दुई सय ७६ जना महिलाले सेवा पाएका थिए भने ८२ पुरुषले सेवा पाएका थिए ।

सेवा लिने महिला कूल संख्याको ७७ प्रतिशत रहेका छन् । आफ्ना सदस्यलाई पूर्ण गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयास स्वरुप सहाराले कार्यक्रम सञ्चालन गरेको बताइएको छ । फेमिली हेल्थको प्राविधिक सहयोगमा सहाराले आफ्ना सदस्यको स्वास्थ्य सम्बन्धी रेकर्ड राख्नुका साथै ‘स्मार्ट हेल्थ कार्ड’ प्रदान गर्दै आएको छ । कोही सदस्य बिरामी परेर हस्पिटल जानु परे कार्ड देखाए पुग्छ । हस्पिटलले कार्डलाई धरौटीको रुपमा राख्छ भने सहाराले शुल्क बुझाइदिएपछि सदस्यले कार्ड फिर्ता पाउँछ ।

अर्कोतर्फ बिरामीले पुरानो फाइल बोकेर हस्पिटल जानुपर्ने झञ्झट पनि हटेको छ । सहाराले सदस्यको स्वास्थ्य सम्बन्धी रेकर्ड ‘एप्स’ मार्फत देखाए पुग्ने व्यवस्था मिलाएको छ । त्यसका लागि सदस्यको सवै स्वास्थ्य विवरण राख्ने व्यवस्था मिलाइएको छ । सहाराका सदस्य मध्ये ३६ जनाले वीएण्डसी, २६÷२६ जनाले बिर्ता सीटी र मनमोहनबाट बितेको वर्ष सेवा लिए ।
९० लाख बढी दशकर्ममा खर्च
सहाराले आफ्ना सदस्यको परिवारमा कसैको मृत्यु भएमा सदस्यलाई दशकर्म तथा बार्षिकी खर्च वापत ३० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । बितेको बर्ष तीन सय दुई जना शेयर सदस्यलाई ९० लाख ६० हजार रुपैयाँ प्रदान गरिएको थियो । जसमा दुई सय दुई जना अर्थात् ६७ प्रतिशत महिला सदस्य छन् ।

जस्तै : कुनै परिवारमा शेयर सदस्यका पिता÷ माता, सासू÷ससुराको मृत्यु भयो भने त्यो परिवारमा शेयर सदस्य रहेका छोराबुहारी तथा छोरीले दशकर्म खर्च वापत ३० हजार रुपैयाँका दरले रकम प्राप्त गर्छन् ।
सरहेमा ५० लाख
शेयर सदस्यको परिवारमा मरिमराउ हुँदा संस्था तथा सबै सदस्यकोतर्फबाट ‘खान पुगोस्, दिन पुगोस्’ कार्यक्रम अन्तर्गत एकमुष्ठ २८ हजार रुपैयाँ सहाराले ‘सरहे’ उपलब्ध गराउँदै आएको छ । बितेको बर्ष एक सय ६९ परिवारमा ४९ लाख ५१ हजार सात सय रुपैयाँ सरहे बुझाइएको छ । यो कार्यक्रमले सहारामा आवद्ध सबै सदस्यले एक अर्काको सुख, दुखमा साथ दिनुपर्छ भन्ने मान्यता राख्ने संस्थाका सचिव गिरी बताउँछन् ।

त्यसमा सबै कर्मचारी तथा शेयर सदस्यले योगदान गर्नुका साथै संस्थाले समेत सोही अनुपातमा रकम थप्ने गरेको बताइएको छ । शेयर सदस्यको परिवारमा कसैको मृत्यु भएको जानकारी कार्यालयमा काजकिरिया भइरहेकै अवधिमा गराउनुपर्ने र संस्थाले पनि सोही बेला घरमै गई श्रद्धाञ्जलि तथा समवेदना पत्रसहित सरहे रकम बुझाउने चलन छ ।
परिवार राहतमा २१ लाख
सहाराले परिवार राहत कार्यक्रम अन्तर्गत ६ महिलासहित ११ जनालाई २१ लाख रुपैयाँ उपलब्ध गराएको छ । संस्थाको शेयर सदस्यको मृत्यु वा अशक्त भएको अवस्थामा परिवारका सदस्यहरुको जीवनयापनका लागि यो रकम उपलब्ध गराइँदै आएको छ ।

शेयर सदस्यको अवधि, सक्रियता र शेयर पूँजीको आधारमा एकदेखि पाँच लाख रुपैयाँसम्म परिवार राहत उपलब्ध गराइँदै आएको बताइएको छ । यस बर्षदेखि भने ७५ बर्षभन्दामाथि तथा स्थायी अशक्त भएको अवस्थामा उक्त रकम क्रमिक रुपमा सदस्यलाई नै उपलब्ध गराउन थालिएको छ ।
औषधि खर्च ३ लाख ६९ हजार
सहाराले आफ्ना सदस्य बिरामी भई नियमित औषधि सेवन गर्दा हुने आर्थिक बोझलाई घटाउन सञ्जीवनी कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत २५ जनालाई बितेको बर्ष ३ लाख ६९ हजार औषधि सेवन खर्च उपलब्ध गराएको थियो । नियमित औषधि सेवन गर्ने थाइराइड, उच्च रक्तचाप, सुगर जस्ता रोगको औषधि सेवनमा सहयोग पु¥याउन ६५ बर्ष उमेर पुगेका सदस्यलाई मासिक १५ सयका दरले यो रकम उपलब्ध गराइएको सहाराले जनाएको छ ।
सहारा हाम्रो गौरवमा ७१,७५०
७० बर्ष उमेर पुगेका ज्येष्ठ शेयर सदस्यलाई मासिक भत्ता वापत रकम उपलब्ध गराउँदै आएको सहाराले यस बर्षबाट बार्षिक एकमुष्ठ सात हजार रुपैयाँ उपलब्ध गराउन थालेको छ । सहारा हाम्रो गौरव कार्यक्रम अन्तर्गत उक्त रकम उपलब्ध गराउन थालिएको हो ।

पूर्ण रुपमा अपाङ्ग एवम् स्थायी अशक्त भएकालाई सम्मान र जीवन निर्वाहमा सहयोग स्वरुप बार्षिक ५ हजार रुपैयाँ उपलब्ध गराइँदै आएको छ । यस बर्ष ११ जना त्यस्ता सदस्यलाई ७१ हजार ७ सय ५० रुपैयाँ उपलब्ध गराएको बताइएको छ ।
एकल महिलालाई बार्षिक ६ हजार
एकल महिला प्रोत्साहन कार्यक्रम अन्तर्गत सहाराले वितेको बर्ष ९९ जनालाई ४ लाख ९५ हजार रुपैयाँ उपलब्ध गराएको छ । विगतमा प्रोत्साहन भत्ता दिँदै आएकोमा चालू बर्षदेखि बार्षिक ६ हजार दिन थालिएको बताइएको छ । एकल महिलालाई समाजमा अर्थपूर्ण जीवन बिताउनका लागि उनीहरुको सिप र दक्षतामा बृद्धि गराउन, स्वरोजगार बन्न उत्प्रेरित गर्ने कार्यक्रम समेत सहाराले सञ्चालन गर्दै आएको छ ।
‘कार्यक्रम राम्रो र प्रभावकारी’
सहारा नेपाल साकोसले सञ्चालन गरेको जीवन बरदान कार्यक्रम बिरामी र उसको परिवारका लागि वास्तविक बरदान बनेको बिर्ता सिटी हस्पिटलका कार्यकारी निर्देशक आनन्दकुमार बस्नेतले बताए । सहाराले गरेको यो उत्कृष्ट सेवा भएको बताउँदै बस्नेतले सदस्यको सम्पूर्ण उपचार खर्च सहाराले नै व्यहोर्ने योजना चाँडो कार्यान्वयन गर्न सके अझ राम्रो हुने जनाए ।
यो कार्यक्रम राम्रो र अत्यन्त प्रभावकारी बनेको वीएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरी बताउँछन् । उनले बिरामीले उपचार गर्ने अस्पताल छनौटमा ध्यान दिनुका साथै त्यस्ता अस्पतालमा सदस्यको सहजताका लागि हेल्प डेस्क समेत राख्नुपर्ने सुझाव दिए ।
मनमोहन हस्पिटल बिर्तामोडका कोअर्डिनेटर रोमणि भट्टराई सहाराको यो कदम उदाहरणीय, प्रशंसनीय र अरुका लागि पनि अनुकरणीय भएको बताउँछन् । उनले यो सेवा सदस्यका परिवारमा पनि आंशिक रुपमा लागू गर्न सके र यसको प्रचार व्यापक बनाउन सके अझ प्रभावकारी हुने बताए ।
कसरी आयो सोच ?
नेपालमा सेना र प्रहरीले स्थापना गरेको कल्याणकारी कोषबाट जस्तोसुकै अवस्थामा र जति खर्च लागे पनि सेना र प्रहरीको उपचार निःशुल्क हुँदै आएको देखेर सहाराले पनि त्यस्तै कोषको परिकल्पना स्वरुप अघि बढ्दा अहिलेको अवस्थामा आइपुगेको सचिव गिरीले बताए ।

‘त्यस्तै विदेशमा शिक्षा र स्वास्थ्य प्रायः निःशुल्क हुन्छ । त्यसमा त्यहाँका नागरिकको पनि योगदान हुन्छ’– गिरी भन्छन्–‘हामीले पनि सदस्यको केही योगदानबाट कल्याणकारी काम गर्न सकिन्छ भन्ने अठोटका साथ कार्यक्रम शुरु गरेका हौं ।’ अहिले कोषमा १५ करोड रुपैयाँ रहेको गिरीले बताए । उनले भने– ‘अब कोही सदस्यको उपचार तथा अप्रेशन खर्च २० लाख रुपैयाँ लाग्ने भए पनि संस्थाले व्यहोर्न सक्छ ।’

स्वास्थ्य र शिक्षा मानिसको जीवनको महत्वपूर्ण पक्ष भएको बताउँदै गिरीले भने– ‘सदस्यको जीवनको हरेक असहज परिस्थितिको सहारा बन्न र संरक्षण दिन अब सहारा नेपाल साकोस सक्षम छ ।’ सहारा नेपाल साकोसले पैसा बचत र ऋण लगानी मात्र गर्दैन, सदस्यको लागि कल्याणकारी कामका साथै उनीहरुको जीवनको बास्तविक सहारा बन्छ भन्ने उदाहरण यो कार्यक्रमबाट देखाएको छ ।
२०८० बाट सबै उपचार पूर्ण निःशुल्क
सहाराले आफ्ना सदस्यको सम्पूर्ण उपचार आगामी २०८० सालबाट निःशुल्क रुपमा गर्ने योजना बनाएको छ । सहाराले सदस्यको स्वास्थ्य र सामाजिक सुरक्षालाई ‘मिसन’ नै बनाएर अघि बढेको संस्थाका प्रमुख कार्यकारी निर्देशक गिरीले बताए ।

‘जीवन बरदान अन्तर्गत हामीसँग १५ करोड रुपैयाँको कोष छ, यो बर्षेनि बृद्धि हुन्छ’– गिरीले भने– ‘संस्थाले बार्षिक रुपमा आर्जन गर्ने मुनाफाको केही अंश कोषमा थप्ने र सदस्यको योगदानबाट बृद्धि हुँदै गरेको कोषको व्याजबाट जीवन बरदान अन्तर्गत सदस्यको स्वास्थ्य र सामाजिक सुरक्षामा रकम प्रदान गर्दै आएका छौं ।’ सहारामा अहिले एक लाख १९ हजार २ सय ९७ जना शेयर सदस्य छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)