Aamsanchar

पान र खैनी खाएर थुक्ने आफैंँले सोहर्नु पर्ने

Author Image
सोमवार, साउन ९, २०७४

दमक।

दमक नगर कार्यापालिकाका प्रमुख रोमनाथ ओलीले कार्यालय परिसरभित्र जनप्रतिनिधि र कर्मचारीहरुलाई पान चपाउन निषेध गरेका छन् । उनले यसको अवज्ञा गर्नेलाई कारवाही गर्ने चेतावनी दिँदै कडाइका साथ पालना गर्न र गराउन सम्बन्धित बिभागीय प्रमुखहरुलाई निर्देशन पनि गरेको बताइएको छ ।
नगरपालिकाका एक कर्मचारीका अनुसार यसभन्दा अगाडि कार्यालयमा खैनी खान र पान चपाउनलाई कडाइ थिएन । नगरप्रमुखको निर्देशन पछि अहिले पूर्ण रुपमा यो बन्देज भएको छ । यसले कतिपय लतमा परेका कर्मचारीहरुलाई भने मुश्किल परेको बताइन्छ । कार्यालयमा कर्मचारीहरुले पान तथा खैनी खाने कार्यलाई सामान्य रुपमा लिइने गरेको छ ।
ओलीले निर्देशनकै क्रममा पान चपाएर थुकेको भेटिए र खैनी फ्याँकिएको भेटिए त्यहीँ ब्यक्तिले सफा गर्नु पर्ने भन्दै कर्मचारीहरुलाई सचेत गराएका थिए । ओलीले कार्यकक्षमा चिया पिउन समेत बन्देज लगाएका छन् । अहिले दमक नगरपालिकामा कुनै पनि शाखाहरुमा कार्यकक्षमा चिया पिएको भेटिँदैन ।
कतिपय सरकारी कार्यालयहरुका भित्ताहरु र शौचालयका भित्ताहरु पान खाएर थुकेर घिन लाग्दो बनाएको पाइन्छ । सिढीहरुमा पान र खैनी खाएर थुकेर हैरान बनेका कार्यालय प्रमुखहरुले सिढीमा भगवानका फोटाहरु समेत टाँस गर्ने गरेको पाइन्थ्यो । यसले सरकारी कार्यालयहरु घिनलाग्दा बनेका भेटिन्थे ।
जिल्ला प्रशासन कार्यालय झापाको पुरानो भवनको सिढीमा नै बिभिन्न भगवानको पोष्टरहरु टाँसिएको थियो । दमक नगरपालिकामा भने त्यो नगरी पान चपाउन र खैनी फ्याक्न पूर्णरुपमा बन्देज लगाइएको हो । सुधार आफैंबाट शुरु गर्नुपर्छ भन्ने उद्देश्य लिएर उक्त कार्यको शुरुवात गरिएको नगर प्रमुख ओलीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 326

प्रतिक्रिया (०)

सम्बन्धित खबर