बिर्तामोड,
जंगली हात्तीलाई नियन्त्रण गरेर संरक्षण गर्ने गरी दक्षिणी झापाको चारकोषे जंगललाई खुला चिडियाखानाको रुपमा विकास गरिने भएको छ ।
जंगललाई चारैतिरबाट सौर्य बिद्युतीय तारले घेरेर बढ्दो जंगली हात्तीको समस्यालाई न्यूनीकरण गर्नुका साथै पर्यटकीयस्थलको रुपमा विकास गरिने भएको हो । त्यसका लागि हल्दिबारी गाउँपालिकाले काम अगाडि बढाएको छ ।
गाउँपालिकाको दोस्रो बैठकले जंगलको चारैतिरबाट सौर्य बिद्युतीय तार लगाउने निर्णय गरी पहिलो चरणको कार्य अगाडि बढाएको हो । केही दिनअघि गाउँपालिकाको टोलीले बाहुनडाँगीमा गएर त्यहाँको सौर्य बिद्युतीय तारको अवलोकन गरेको थियो ।
दीर्घकालीन योजना तयार पारेर जंगलको वरिपरि बाटोसहित सौर्य बिद्युतीय तारले घेर्ने र त्यसपछि चितवनको सौराहासँग समन्वय गरेर हात्ती सफारीको ब्यबस्था गर्ने योजना रहेको हल्दिबारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रविन्द्र लिङ्देनले बताए । हल्दिबारी, कचनकवल, बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकामा फैलिएको चारकोषे जंगलको क्षेत्रफल ६ हजार ३ सय हेक्टर रहेको छ ।
सो जंगल विभिन्न सामुदायिक वन उपभोक्ता समितिको अधिनमा रहेकाले निकुञ्जको रुपमा विकास गर्नका लागि सहमति जुटाउन लामो प्रक्रिया लाग्न सक्ने जिल्ला वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बताए ।
अहिले सो जंगलमा करिब २० वटा जंगली हात्ती रहेको अनुमान गरिएको छ । आश्रयका लागि आउने गरेका जंगली हात्तीलाई निकुञ्जभित्र राख्नको लागि त्यहाँ आहार र पानीको ब्यवस्था आवश्यक हुने उप्रेतीले बताए ।
यसैबीच जंगली हात्ती हल्दिबारी– ४ का गंगा मैनालीको पक्की ग्वाली घर भत्काइदिएको छ । दुईवटाको संख्यामा आएका हात्तीले ग्वालीको भित्ता र छानो भत्काएर क्षति पुर्याएको पीडितले बताए । विगत पाँच बर्षदेखि जंगली हात्तीले लगातार जनधनको क्षति गर्दै आएको स्थानीय खिवराज भट्टराईले बताए । दुई महिनाअघि मात्र जंगली हात्तीले हल्दिबारीमा एकजनाको ज्यान लिएको थियो ।