तुलसीप्रसाद निरौला/बिर्तामोड ।
झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कमा निर्माण गरिएको कामक्षा पीठ नवदुर्गा भवानी मन्दिर प्रचारप्रसारको अभावले ओझेलमा परेको छ ।
नेपालकै पहिलो भनी कहलिएको कामक्षा पीठ नवदुर्गा भवानी मन्दिर २०६८ साल भदौ कृष्णाष्टमीमा शिलान्यास गरी २०७४ साल बैशाख ७ गते मूर्तीको प्राणप्रतिष्ठा गरेर दर्शनार्थीका लागि खुल्ला गरिएको हो ।
४२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त मन्दिर भारतको आसामस्थित गुहाटीमा रहेको कामक्षा मन्दिरको प्रतिरुप भएको बताइएको छ । सुगम जिल्लाको रुपमा परिचित झापाको बिर्तामोड तथा अर्जुनधाराको सीमानास्थलमा रहेको बसपार्कमा अवस्थित भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको मन्दिर सञ्चालन समितिका अध्यक्ष माधवप्रसाद चम्लागाई बताउँछन् ।
झापामा विभिन्न धार्मिक तथा पर्यटकीय स्थल रहे पनि उक्त क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा परेकोले अब धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न आफूहरु लागीपरेको उनी बताउँछन् । मन्दिर सञ्चालन गर्न चम्लागाईको अध्यक्षतामा मन्दिर सञ्चालन समिति समेत गठन गरिएको छ । समितिको उपाध्यक्षत्रयमा पदमबहादुर घिमिरे, देवीप्रसाद सुवेदी, यामकुमारी बास्कोटा, सचिव हरिकुमार भण्डारी, सहसचिव सुदिप पौडेल, कोषाध्यक्ष गंगाप्रसाद मैनाली, सहकोषाध्यक्ष रत्नकला सुवेदी रहेका छन् । त्यस्तै सदस्यहरुमा हरिनारायण भट्टराई, शिव पौडेल, दुर्योधन कुँवर, टंक बोहोरा, प्रकाश लिमखिम, सर्मिला पौडेल, लयप्रसाद विमली लगायत रहेका छन् ।
प्रत्येक हप्ताको शनिबार भजन किर्तन गरिँदै आएको मन्दिरमा कृष्णाष्टमी, शिवरात्री, दशैंमा धार्मिक अनुष्ठान समेत गरिँदै आएको बताइएको छ । उक्त मन्दिरमा शिव स्थापना गरेसँगै श्रावण महिनाको प्रत्येक सोमबार शिवजीलाई जलार्पण समेत गरिँदै आएको मन्दिर सञ्चालन समितिका अध्यक्ष माधवप्रसाद चम्लागाई बताउँछन् ।
श्रावण महिनामा बोलबमका लागि धेरै रकम खर्च गरेर भारतको बाबाधाम लगायतका धार्मिक क्षेत्र जानुभन्दा आफ्नै क्षेत्रको उक्त मन्दिरमा जलार्पण गरे पुण्य मिल्ने उनी बताउँछन् । उनले यसपटक पनि श्रावण महिनाको प्रत्येक सोमबार कामक्षा पीठमा आएर जलार्पण गर्न भक्तजनहरुलाई आग्रह गरेका छन् । आफूहरु उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय स्थल बनाउन लागीपरेको र बसपार्क भएर आउने–जाने सवारीसाधनमा झापा भित्रने आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनाउन लागीरेको उनले बताए ।
यसैबीच स्थानीय तहको निर्वाचनमा बिर्तामोड तथा अर्जुनधारा नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुले उक्त मन्दिरलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कामक्षा पीठ नवदुर्गा भवानी मन्दिर सञ्चालन समितिले आयोजना गरेको जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, उपप्रमुख कमला आचार्य, बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं, बिर्तामोड– ५ का वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, अर्जुनधारा–११ का वडा अध्यक्ष भैरव खड्का लगायतले उक्त मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आफूहरु लागीपर्ने बताए ।
मन्दिर सञ्चालन समितिका अध्यक्ष माधवप्रसाद चम्लागाईको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोषाध्यक्ष गंगाप्रसाद मैनालीले स्वागत गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा नगरपालिका ६ र ११ नं. वडाबाट निर्वाचित जनप्रतिनिधिसहित १६ जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बिर्तामोड बसपार्क क्षेत्रमा रहेका समस्याका बारेमा हरिनारायण भट्टराईले र बसपार्क सञ्चालन समितिका अध्यक्ष विष्णुबहादुर राईले जनप्रतिनिधिहरुलाई अवगत गराएका थिए । कार्यक्रमको सञ्चालन मन्दिर सञ्चालन समितिका सचिव हरिकुमार भण्डारीले गरेका थिए ।