झापा।

वर्षायाम शुरु हुनासाथ इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाका वासिन्दामा त्रास उत्पन्न हुन्छ । गत वर्ष असोज २८ दशैंको टीका थाप्न हिँडेका माई खोला तर्ने क्रममा डुंगा पल्टिँदा ८ जनाको मृत्यु भएको थियो । माई खोलामा पुल नभएका कारण खोला वारिपारि गर्दा डुंगा डुब्ने हो कि भन्ने त्रासले माई नगरपालिकाका स्थानीयलाई पिरोल्ने गरेको छ ।
गत वर्ष डुंगा पल्टिँदा ६ वर्षीया जुम्ल्याहासहित ८ जनाले ज्यान गुमाएका थिए । जसमा ४ जना महमाईका बासिन्दा थिए । ६० जना एउटै डुंगामा सवार हुँदा भार थेग्न नसकेर पुरानो डुंगा माई खोलामा डुवेको स्थानीयको भनाइ थियो । डुंगा डुवेपछि खोलाबाट ३४ जनाको उद्धार गरिएको थियो भने केही पौडिएर खोलाबाट निस्किएका थिए । माईखोलाको वारिपट्टि पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र र पारिपट्टि पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र रहेको छ ।
असारदेखि असोजसम्मको अवधिमा माई नगरपालिकाको महमाई र माङ्सेबुङ गाउँपालिकाको बाँझो, इभाङका बासिन्दालाई खाद्य सामग्री ढुवानी र आवतजावत गर्न समस्या हुने गरेको छ । वर्षौंदेखिको सास्ती उनीहरुको दिनचर्या जस्तै भएको छ । हिउँदको आठ महिना झापाको बिर्तामोडबाट चुरे क्षेत्र हुँदै निरन्तर सवारीसाधन चल्ने गरे पनि बर्षा लागेपछि त्यस क्षेत्रका वासिन्दाहरुको झापाका बजार र इलाम सदरमुकामसँग सम्बन्धविच्छेद नै हुने गरेको छ ।
बर्षायाममा खोला तर्ने एक मात्र विकल्पका रुपमा चण्डाल घाटमा डुंगा सञ्चालनमा छ तर, गत वर्षको घटनाले अझंै माईबासीको त्रास हट्न सकेको छैन । जोखिम न्यूनीकरणका लागि भनेर डुंगामा लाइफ ज्याकेटको व्यवस्था गरे पनि गत वर्षको घटनाका त्रासका कारण स्थानीय डुंगा चड्न डराउने गरेको समाजसेवी देवीभक्त कुमाल बताउँछन् । माईखोलाको वहाब ठूलो हुने र वर्षादको समयमा भलबाढी चलिरहने भएकाले डुंगाको मात्रै सहाराले खोला तर्न मुस्किल हुने गरेको उनीहरुको भनाइ छ ।
झापाको दोमुखा हुँदै माई नगरपालिकाको महमाई आउने सडक खण्डमा लाखौं खर्च भइसकेको छ । तर, भौगोलिक बनावट जटिल भएका कारण सडक भरपर्दो हुन सकेको छैन । झापाको दमकबाट माङ्सेबुङ हुँदै पाँचथरको मिक्लाजुङ–रविसम्म जोड्ने फाल्गुनन्द मार्गको पनि भौगोलिक बनोटका कारण सडक नै जोखिममा रहेको स्थानीयको गुनासो छ ।

दानाबारीका बजार, क्याम्पस र माध्यमिक विद्यालयहरु महमाईबासीका दैनिक गन्तव्य हुन् । उच्च शिक्षा अध्ययन गर्न दर्जनौं विद्यार्थी बर्षा लागेपछि ४ महिना आधा घण्टा टाढा रहेको मावि र क्याम्पसमा पढ्नका लागि डेरा नै बस्नुपर्ने अवस्था रहेको गरुवा बहुमुखी क्याम्पसका प्रमुख तारानाथ खनाल बताउँछन् ।
गत वर्षको डुंगा दुर्घटनापछि पुलको निर्माण कार्यले गति लिएको छ । २५ करोड ७१ लाख ७३ हजार ५ सय ६६ रुपैयाँको लागतमा दुवै निर्वाचन क्षेत्र जोड्ने ५ सय ५० मिटर लामो पुल निर्माण कार्य सम्झौता अवधिमा सम्पन्न हुने संकेत देखिएको छ ।
झापाको बिर्तामोड हुँदै माङ्सेवुङको लारुम्वा जोड्ने चलनचल्तीको बाटोमा पर्ने माईखोलाको पुल ५ वर्षमा सक्ने गरी २०६९ असार २६ गते सूर्य इलाइट जेभी र सडक विभाग पुल महाशाखा अन्तर्गतको पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ धरानबीच सम्झौता भएको थियो ।
२०७४ असार मसान्तमा पुल निर्माण सम्पन्न हुनुपर्ने भए पनि भूकम्प र नाकाबन्दीका कारण पुल निर्माणको म्याद १ वर्ष थपिएको छ । डिजाइनमा ढिलाइको म्यादसमेत जोड्दा करिब डेढ वर्षमा पुल सम्पन्न हुनुपर्छ । हालसम्म पुलको ११ वटा पिलर हाल्ने काम सम्पन्न भई स्ल्याबको काम भइरहेको बताइएको छ ।

