Aamsanchar

साथीभाइ र गाउँसमाजले उनलाई ‘नविन’ भनेर चिन्छन्

Author Image
बुधवार, साउन ११, २०७४

कनकाई,
उनको नाम नारायण गौतम भए पनि साथीभाइ र गाउँसमाजले उनलाई ‘नविन’ भनेर चिन्छन् । कनकाई नगरपालिका–६ तुलसीबारीमा २०५६ साल माघ १६ मा बुवा विष्णुप्रसाद र आमा गोमा गौतमका ज्येष्ठ सुपूत्रका रुपमा जन्मेका नविन कलिलै उमेरमा एकता बाल क्लबका संस्थापक अध्यक्ष, कनकाइ नगर बाल सञ्जालका संस्थापक र वर्तमान अध्यक्ष, लियो क्लब अफ कनकाई सुरुङ्गा संस्थापक तृतीय उपाध्यक्ष, न्यु रेलिमाई युवाक्लबका सदस्य, सुरुङ्गा सहकार्य युवाक्लबका सदस्य लगायतका भूमिकामा रही समाजसेवाको बाटोमा लागेका छन् ।
समाजमा रहेका अभाव र अप्ठेरोमा रहेका मानिसको लागि केही गर्नु नै समाजसेवा ठान्ने नविन परोपकार नै साँचो अर्थमा मानव धर्म भएको बताउँछन् । उनी भन्छन्– ‘समाजसेवा एउटा उपकारी काम हो । समाजलाई सधैं प्रगतिको पथमा डो¥याउने काम समाजसेवा नै हो ।’ आफ्नो व्यक्तिगत स्वार्थदेखि माथि उठेर समाज र मानव जातिको भलो चिताउनु नै ठूलो सेवा हो भन्ने उनको ठम्याइ छ । आफ्नो लागि मात्र नभएर अरुको हितका लागि बाँच्नुपर्ने उनी बताउँछन् ।
समाजसेवा गर्नु सम्पूर्ण देशभक्त र असल नागरिकको महान कर्तव्य पनि हो । आफ्नो आत्मसन्तुष्टिका लागि नै मानिसहरुले समाजसेवा गरेको यदाकदा देख्न सकिन्छ । हामी नेपालीहरुले त झन यो आधुनिक र विकसित युगमा आफ्नो देशलाई अब्बल स्थानमा उभ्याउन समाजसेवामा लाग्नुपर्छ । समाजमा रहि आएका अन्धविश्वास, कुरीतिसहितका समस्यालाई हल गरेर समृद्ध राष्ट्र बनाउने काममा पनि समाजसेवाको हात हुन्छ । समाजसेवा मार्फत आममानिसमा सकारात्मक परिवर्तन समेत ल्याउन सकिन्छ ।
समाजमा एउटा उदाहरण बनेर कसैको आँखामा नबिझाउने मान्छे बन्न र सबैको प्यारो बन्न नै समाजसेवा गर्नुपर्छ भन्ने उनको सोच छ । सबैका लागि राम्रो गर्न र समाजमा शान्ति ल्याउन पनि समाजसेवा नै गर्नुपर्छ भन्ने उनको बुझाइ छ । समाजसेवाबाट व्यक्तित्व विकास हुने, समाजमा एकता, समृद्धि र खुशी ल्याउन र देशमा आमूल परिवर्तन ल्याउन सहयोग पु¥याउने नविनको धारणा छ ।
उनी एक सफल उद्घोषक र वक्ताको रुपमा पनि विद्यालय र क्याम्पसमा चिनिन्छन् । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा कक्षा १२ मा अध्ययनरत् १४ वर्षको उमेरदेखि आफूमा समाजप्रति केही गर्नुपर्छ भन्ने लागेर त्यसपछि उनले आफूलाई समाजप्रति समर्पित गरिरहेका छन् । कनकाई माध्यमिक विद्यालय सुरुङ्गाबाट प्रवेशिका उत्तीर्ण गरेका नविनको भविष्य उज्ज्वल रहेको शिक्षक जनकराज ढकालको भनाइ छ ।

देशमा आमूल परिवर्तन ल्याउने हो भने राजनीतिको नेतृत्व गर्नेदेखि समाजका विभिन्न पाटामा रहेका सामाजिक व्यक्तित्वहरुले पनि समाजसेवाको भावनाबाट काम गर्नुपर्ने उनको भनाइ छ । उनका लागि नेल्सन मन्डेला, अब्राहम लिङ्कन जस्ता देशभक्त, कर्मठ र सफल राष्ट्रनिर्माता अनुकरणीय व्यक्तित्व लाग्छन् ।
                                                                                                                                                         प्रस्तुति :तीर्थराज खरेल

Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर