उप–नी–षद् को अर्थ हुन्छ गुरुको चरण नजीक आसनमा बस्नु । के हो उपनिषद ? उपनिषदहरुलाई श्रुति पनि भनिन्छ किनभने उपनिषदहरुलाई वेदको ज्ञानकाण्ड मानिन्छ । वेदको अन्त मानिएकोले वेदान्त पनि भनिन्छ । जंगलको एकान्तमा शिष्यको जिज्ञासा मेटाउन रचना गरिएका ग्रन्थ भएकोले यिनीहरुलाई आरण्यक पनि भनिन्छ । उपनिषदमा जीवनको सबभन्दा गूढ विषय छलफल गरिएकोले उपनिषदलाई रहस्यविद्या पनि भनिन्छ । उपनिषदहरु हिन्दु र बौद्ध अध्यात्म दर्शनका आधार भएकोले अध्यात्म विद्या पनि भनिन्छ । सुफि दर्शनमा उपनिषद्को निकै प्रभाव परेको हुनाले यसलाई हिन्दू तथा इस्लाम धर्मको सेतुको रूपमा पनि मान्न सकिन्छ।
सबैभन्दा लामो बृहदारण्यक उपनिषद्, सबैभन्दा पुरानो छान्दोग्य उपनिषद्, र सबैभन्दा सानो माण्डूक्य उपनिषद् हो। उपनिषद् संस्कृत भाषामा लेखिएको छ र यसमा प्रयोग भएको भाषालाई पछिल्लो वैदिक सँस्कृत भन्ने गरिन्छ। पुराना उपनिषद्हरू मध्ये ऐतरेय र कौषीतकि ऋग्वेद सँग सम्बन्धित छन् भने केन तथा छान्दोग्य उपनिषद् सामवेद सँग सम्बन्धित छन्। त्यस्तै ईश, तैत्तिरीय र बृहदारण्यक उपनिषद् यजुर्वेद सँग अनि प्रश्न र मुण्डक अथर्ववेद सँग सम्बन्धित छन्। सबैभन्दा पुराना उपनिषद्हरू पद्यको रूपमा लेखिएका छन् ।
उपनिषद, कहिले, कहां र कसले रचना गरेको हो यो पूर्णतया अज्ञात छ । विद्वानहरुले यसको रचनाकाल ५००० ई.पू. देखि ४००० ई.पू. अनुमान गरेका छन् । कसैले भने उपनिषदकाल २००० ई.पूं देखि १४०० ई.पू. भएको मान्दछन् । वेदका मन्त्रद्रष्टा ऋषिको नाम पाइन्छ । पुराण र स्मृतिहरुमा ग्रन्थकारको नाम उपलब्ध छ तर उपनिषद्का रचनाकारले कहीं कतै त्यसमा आफ्नो नाम उल्लेख गरेको पाईंदैन । यी पूर्णतया निर्वैयक्तिक आधारमा रचना गरिएका छन् । उपनिषदहरुमा ज्ञान प्राप्तिका लागि जुन संवाद विधि प्रयोग गरिएको छ त्यसै प्रकारको विधि ग्रीक दार्शनिक प्लेटोले आफ्ना व्याख्यानहरुमा प्रयोग गरेका छन् ।
साभार :Science InfoTech