[एकराज गिरी]
बिर्तामोड ।
नेपालको औसत तापक्रम बर्षेनि ०.०५६ डिग्री सेल्सियसले बढ्दै गएको नयाँ तथ्य सार्वजनिक भएसँगै यसबारे सर्वत्र चिन्ता व्यक्त गर्न थालिएको छ ।
सन् २०१२मा बार्षिक ०.०६ डिग्री सेल्सियसका दरले तापक्रम बृद्धि भइरहेकोमा ५ बर्षकै अन्तरमा यो बृद्धि दर देखिएको हो । देशका ९० ठाउँमा रहेका मौसम मापन केन्द्रको ४० बर्षदेखिको तथ्यांकलाई विश्लेषण गर्दा तापक्रम बृद्धिको यो नयाँ तथ्य भेटिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्मा बताउँछन् । विभागले सन् १९७०देखि मापन केन्द्र खडा गरेर तापक्रमको रेकर्ड राख्न शुरु गरे पनि अहिलेसम्म तुलनात्मक विश्लेषण गरेको थिएन । ०.०५६ डिग्री सेल्सियसको बृद्धिदरसँगै नेपालको औसत तापक्रम बृद्धिदर विश्वको औसतभन्दा करिब २ गुणा भएको पाइएको छ । विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानले नेपाल जलवायु परिवर्तनका कारण अति जोखिममा रहेका प्रमुख देश मध्येको एक भएको देखाएको छ । यही गतिमा तापक्रम बढ्ने हो भने १०० बर्षमा तापक्रम बृद्धि दर करिब ५ डिग्री सेल्सियस पुग्नेछ ।
सन् २०१०मा वातावरण मन्त्रालयले सन् २०३०सम्म तापक्रम बृद्धि दर १.२, सन् २०५०सम्ममा १.७ र सन् २१०० मा पुग्दा बृद्धिदर ३ डिग्रीसम्म पुग्ने आँकलन गरेको थियो । अहिले सार्वजनिक भएको नयाँ तथ्यले बृद्धिदर झनै बढ्न सक्ने औल्याएपछि विशेषज्ञ समेत चिन्तित छन् । हालै तयार गरिएको ‘जलावयु परिवर्तनको प्रबृत्ति र परिदृष्य’ प्रतिवेदनमार्फत तापक्रम बृद्धिको नयाँ तथ्य सार्वजनिक भएको हो । नयाँ तथ्य विश्लेषणका लागि जल तथा मौसम विज्ञान विभागका मौसमविद्, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जल तथा मौसम विभागका प्राध्यापक तथा इसीमोडका विज्ञ करिब ६ महिना खटिएका थिए । ‘नेपालमा तापक्रम बृद्धिदर उच्च छ’– जल तथा मौसम विज्ञान विभागका महानिर्देशक शर्मा भन्छन्– ‘सन् १८५०देखि २०००सम्म विश्वव्यापी रुपमा १.१६ डिग्री सेल्सियस तापक्रम बढेको थियो । नेपालमा गत ५० बर्षसम्ममा १.४६ डिग्री सेल्सियस तापक्रम बढेको छ ।’
तापक्रम बृद्धिको मुख्य कारण हरितगृह ग्यासको उत्सर्जन भएको विभागका महानिर्देशक शर्मा बताउँछन् । उनले भने–‘ सन् २०१५को तथ्यांक अनुसार हरितगृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका ०.०२७ प्रतिशत मात्रै छ । तर, तापक्रम बृद्धिको जोखिम हामीलाई बढी छ ।’ हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका प्रतिबर्ष ०.१ प्रतिशत रहेको पनि कतिपय अध्ययनले देखाएको छ ।
पृथ्वीमा बढ्दो तापक्रमको मुख्य असर मानव स्वास्थ्य, दैनिक जीवनयापन, कृषि क्षेत्र, जलस्रोत, वनस्पति र समग्र वातावरणमा परिरहेको छ । तापक्रम बृद्धिकै कारण कृषिमा मुख्य रुपमा असर परेको खाद्य सुरक्षा, कृषि व्यवसाय प्रबद्र्धन तथा वातावरण महाशाखाका प्रमुख सुरेशबाबु तिवारी बताउँछन् । तिवारीले भने– भइरहेका बाली नहुने, किराहरु प्रकोपको रुपमा आउने समस्या पाइएको छ ।’ तापक्रम बृद्धिका कारण स्थानीय जलवायुमा देखिएका परिवर्तन र त्यसले कृषिमा पारेको प्रभावको विवरण कृषि मन्त्रालयले संकलन गरिरहेको छ ।
मौसम भनेको के हो ?
मौसम भनेको क्षणिक वा छोटो अवधिको हावा पानीको अवस्था हो । दैनिक रुपमा हामीले महशुस गर्दै आएको तापक्रम, बर्षा र हावाको वहावको अवस्थालाई मौसम भनिन्छ । मौसम निरन्तर परिवर्तन भइरहन्छ । जस्तै ः विहानदेखि बेलुकीसम्म दिनको मौसम एकनास हुँदैन । विहान चिसो हुने, दिउँसो घाम लाग्ने, घाम लाग्दालाग्दै बदली भई पानी पर्ने र हावा चल्ने हुन्छ ।
जलवायु भनेको के हो ?
मौसमको लामो समय (करिब ३० बर्ष) को औसत अवस्थालाई जलवायु भनिन्छ । जलवायुका सूचकहरु सामान्यतया स्थिर नै रहन्छन् । जस्तै ः असार, साउनमा बर्षा हुने, पुस, माघमा जाडो हुनु, चैत, बैशाखमा सुक्खा हुनु ।
जलवायु परिवर्तन भनेको के हो ?
कुनै निश्चित ठाउँको लामो समय अवधि (करिब ३० बर्ष) मा तापक्रम, बर्षा र हावाको अवस्थामा भएको परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । यसमा तापक्रम, वायुको वहाव, पानीको बढ्ने, हिउँ पर्ने लगायतका कुरामा आएका परिवर्तनहरु पर्दछन् । जस्तै ः ३० बर्षअघि माघ महिनामा हुने जाडो र अहिले सोही महिनामा हुने जाडोको तुलना वा ३० बर्षअघि हिउँदमा पर्ने पानी र अहिले पर्ने पानीको तुलना गर्दा देखिने परिवर्तन नै जलवायु परिवर्तनको संकेत हो । हामीले हाम्रा अग्रजहरुबाट गर्मीको समयमा पहिलेको भन्दा बढी गर्मी भएको तथा बर्षादको ढाँचामा परिवर्तन भएका कुराहरु सुनेका छौं । यसले के संकेत गर्छन भने हाम्रा अग्रजले गर्मीको समयमा पहिले भोगेका दिनहरुभन्दा हालका दिनहरुमा तापक्रम बढेको प्रष्ट अनुभूति गर्न सकिन्छ । समग्रमा भन्नुपर्दा कुनै लामो अवधिमा मौसमको प्रबृत्ति वा तौरतरिकामा हुन जाने परिवर्तन नै जलवायु परिवर्तन हो ।
तापक्रम वृद्धि/जलवायु परिवर्तनको कारण
वायुमण्डल विभिन्न प्रकारका ग्यासहरु धेरै तहमा मिलेर बनेको हुन्छ । ती मध्ये प्रमुख ग्यास कार्वनडाइअक्साइड हो । विभिन्न प्रकारका वस्तुको उत्पादन तथा निर्माण, सवारी साधनको प्रयोग तथा वनजंगल कटानी जस्ता कार्यबाट वायुमण्डलमा कार्वनडाइअक्साइड तथा अन्य ग्यासको उत्सर्जन हुन्छ । वायुमण्डलमा कार्वनडाइअक्साइड लगायत अन्य ग्यासहरु (जसलाई हरितगृह ग्यास भनेर चिनिन्छ) को मात्रा बढ्न जाँदा वायुमण्डलले सूर्यको तापलाई बढी मात्रामा सोसेर राख्दछ । यसले गर्दा पृथ्वीको तापक्रम बढ्न जान्छ र समग्र पृथ्वी नै तातो हुन जान्छ । त्यस्तो असरलाई ‘ग्लोबल वार्मिङ’ वा ‘हरित गृह ग्यास असर’ पनि भनिन्छ । वायुमण्डलमा अन्य ग्यास भन्दा तुलनात्मक रुपमा कार्वनडाइअक्साइडको मात्रा धेरै हुने भएकाले जलवायु परिवर्तनका लागि त्यसको भूमिका बढी हुन्छ । वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा परिवर्तन हुँदा हाम्रो दैनिक मौसम प्रणाली अनेपेक्षित परिवर्तन हुन्छ र यसले पृथ्वीको जलवायुमा परिवर्तन ल्याउँछ । तापक्रम जति बृद्धि हुँदै जान्छ, मौसमको अवस्था त्यतिनै असहज हुँदै जान्छ ।
जलवायु परिवर्तन एक प्राकृतिक प्रक्रिया भए पनि मानवीय क्रियाकलापका कारण केही दशकयता पृथ्वीको जलवायु असामान्य र तीब्र किसिमले परिवर्तन हुँदै आएको छ । जलवायु परिवर्तन हुनुमा मानवसृजित हरितगृह ग्यासको मात्रा वायुमण्डलमा बढ्दै जानु हो । मानवीय क्रियाकलापका कारण यस्तो ग्यास बढ्दै गइरहेको छ ।
सरलरुपमा बुझ्नुपर्दा सूर्यको ताप वायुमण्डल पार गरेर पृथ्वीमा आइपुग्छ, पृथ्वीमा आएको तापको केही भाग जमिन, मोटविरुवा तथा समुद्रले सोसेर लिन्छ तर केही भाग फर्केर वायुमण्डलतिरै जान्छ । त्यसरी फर्किएको ताप कम शक्तिशाली हुने भएकाले वायुमण्डलमा भएको हरितगृह ग्यासमा ठक्कर खाई निश्चित भाग वायुमण्डलमा रहन्छ र वायुमण्डल तात्द्छ– जसलाई हरितगृह प्रभाव भनिन्छ । हरितगृह ग्यास कम भएको अवस्थामा फर्किएको तापशक्तिको धेरै भाग वायुमण्डल बाहिर जान्थ्यो भने हरितगृह ग्यासको मात्रा बृद्धि भएको अवस्थामा धेरै भाग तापशक्ति वायुमण्डलले नै सोसेर राख्ने हुँदा वायुमण्डल तथा पृथ्वीको तापक्रममा बृद्धि हुँदै जान्छ । त्यसैले वायुमण्डलमा हरितगृह ग्यास जति जति बढ्दै जान्छ । त्यति नै अनुपातमा हरितगृह प्रभाव बढ्दै गई वायुमण्डल थप तात्दै जान्छ । तातेको वायुमण्डलले हावालाई तताउँछ, हावा तातेपछि त्यसको वहावको गति, चाप र दिसामा असन्तुलन आउँछ । जसले पानी तथा हिउँ पर्ने तरिका, प्रकृति तथा मात्रालाई प्रभावित पार्दछ । अनि मौसममा जटिलता र अनिश्चितता ल्याउँछ ।
हरित गृह ग्यासहरु
क्योटो प्रोटोकलले ६ प्रकारका ग्यासलाई हरितगृह ग्यासको रुपमा सुचीकृत गरेको छ । जसमा कार्वनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, हाइड्रोफ्लोरो कार्वन, परफ्लोरो कार्वन र सल्फर हेक्जाफ्लोराइड रहेका छन् ।
हरित गृह ग्यासका स्रोतहरु
विभिन्न मानवीय क्रियाकलापका कारण हरितगृह ग्यासहरु बढिरहेको अध्ययनले देखाएको छ । जसमध्ये सबैभन्दा बढी ऊर्जा उत्पादन (थर्मल प्लान्ट)का कारण २४.५० प्रतिशत हरितगृह ग्यास उत्सर्जन हुने गरेको अध्ययनले बताएको छ । त्यस्तै उद्योग कलकारखानाबाट १९.४० प्रतिशत, वनविनास तथा क्षयीकरणबाट १७.४० प्रतिशत, कृषि क्षेत्रबाट १३.५० प्रतिशत, यातायात क्षेत्रबाट १३.१० प्रतिशत, आवासीय तथा व्यवसायिक भवनबाट ७.९० प्रतिशत, प्रदुषित फोहोर पानीको विसर्जनबाट २.८० प्रतिशत हरितगृह ग्यास उत्सर्जन हुँदै आएको छ ।
संसारका १० उच्च हरितगृह ग्यास उत्सर्जन गर्ने देशहरु
संसारका यी देशहरु जसले कूल हरितगृह ग्यास उत्सर्जनको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगट्दै आएका छन् । सबैभन्दा बढी चिनले २४ प्रतिशत हरितगृह ग्यास उत्सर्जन गर्दै आएको कार्वन व्रिफको अध्ययनले जनाएको छ । त्यस्तै युएस १२ प्रतिशत, इयू ९ प्रतिशत, भारत ६ प्रतिशत, ब्राजिल ६ प्रतिशत, रुस ५ प्रतिशत, जापान ३ प्रतिशत, क्यानडा २ प्रतिशत, कान्गो १.५ प्रतिशत, इण्डोनेशियाको १.५ प्रतिशत हिस्सा हरितगृह ग्यास उत्सर्जनमा रहेको छ ।
तापक्रम बृद्धिको प्रभाव
तापक्रम बृद्धिसँगै बढ्दो जलवायु परिवर्तनका कारण विश्वमा विभिन्न किसिमका प्रभावहरु देखिरहेका छन् । अतिबृष्टि, वाढी पहिरोमा बृद्धि भएको छ । अनाबृष्टि तथा खडेरीमा बृद्धि भएको छ । जलस्रोतमा नकारात्मक प्रभाव देखिएको छ । जैविक विविधतामा ह्रास र कृषि उत्पादनमा कमी देखिएको छ । मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव परी दुषित पानीका कारण रोगव्याधीमा बृद्धि र पहाडी तथा हिमाली क्षेत्रमा समेत लामखुट्टे पुग्न थालेपछि अन्य विभिन्न रोग देखा पर्न थालेको छ । आर्थिक तथा सामाजिक क्षेत्रमा समेत नकारात्मक असर परिरहेको छ ।
वनको भूमिका प्रभावकारी
हरेक बर्ष विश्वमा हुने कार्वन उत्सर्जनको १२देखि १७ प्रतिशत भाग वन विनासको कारणले भएको देखाएको छ । विश्वमा रहेको समग्र वन र वन रहेको स्थानको माटोले १० खर्ब (१ ट्रिलियन) टनभन्दा बढी कार्वन सञ्चित गरेको छ । यो मात्रा वायुमण्डलमा रहेको कार्वनको मात्राभन्दा दुई गुणा हो । कार्वनको तौल विश्वभरिका सात अर्ब मानिसहरुको (१ व्यक्तिको औसत ७० किलो तौल राख्दा) तौलको दुई हजार गुणा बढी हुन्छ । जब घनत्व तथा क्षेत्रफलको हिसाबले वन बढ्दै जान्छ तब यसले कार्वन लिने र संरक्षण गरी एक ठाउँमा राख्ने काम गर्दछ । जसले गर्दा वनमा कार्वन सञ्चिती हुन्छ । यसको विपरीत सबै वन नष्ट भयो भने हजारौं टन कार्वन वनबाट वायुमण्डलमा उत्सर्जन हुन्छ । यस्तो अवस्थामा वनस्रोतहरु कार्वनडाइअक्साइडका स्रोतमा परिवर्तन हुन्छन् र समग्रमा हरितगृह ग्यासको असर बढाउन योगदान पु¥याउँछन् । परिणामतः ग्लोबल वार्मिङ बढ्छ र मौसम तथा जलवायु प्रणालीमा उतारचढाव आउँछ । त्यसकारणले वनलाई यथास्थितिमा राख्दा वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा कम गर्न सहयोग पु¥याएर जलवायु परिवर्तनको असर कम हुनजान्छ । वनले हरितगृह ग्यास सोसेर राख्ने मात्र नभई जलवायु परिवर्तनको सामना गर्न धेरैतर्फबाट सहयोग पु¥याउँछ । वनले वादललाई व्यवस्थित गर्ने, सूर्यको प्रकाशलाई वायुमण्डलतर्फ फर्काउने, पृथ्वीको सतहमा रहेको पानीलाई वाफमा परिणत गरी वायुमण्डलमा वाफको मात्रा बढाएर हावालाई चिसो बनाउने कार्य गर्छ । त्यसैले तापक्रम बृद्धि नियन्त्रण र जलवायु परिवर्तनमा वनको भूमिका महत्वपूर्ण तथा प्रभावकारी हुने विज्ञहरुले बताएका छन् ।
तापक्रम घटाउन हाम्रो भूमिका यस्तो हुनुपर्छ
प्रो.डा. केआर खम्बू
वातावरणीय सरिस्रिप शास्त्र,त्रिविवि
तापक्रम बृद्धिको नयाँ तथ्यले नेपालको भयावहता चित्रण गरेको छ । नेपाल विश्वकै संवेदनशील र हरेक सय मिटर उचाईको अन्तरमा फरक जलवायु पाइने विशिष्ठ भौगोलिक क्षेत्र हो । समयमै तापक्रम बृद्धि रोक्न अघि नबढ्ने हो भने हिउँ पग्लेर काला पत्थर हुने, नदी सुक्ने र मानिस पृथ्वीमा बस्नै नसक्ने परिस्थिति सृजना हुन्छ । हरिगृह ग्यास उत्सर्जन हुने मानवीय क्रियाकलाप घटाउन हामी आजैबाट अग्रसर हुनुपर्छ । ऊर्जाको वैकल्पिक स्रोत खोज्नुपर्छ । हाम्रो बानी परिवर्तन गर्नुपर्छ । रुख, विरुवा रोपेर हरियाली बढाउनुपर्छ । हरितगृह ग्यास सोस्ने एक मात्र विकल्प र शक्ति वनस्पतिमा मात्र हुने भएकोले विरुवा रोप्न र पृथ्वी बचाउने कार्यमा लाग्न आग्रह गर्दछु ।
बोधराज सुवेदी
प्रमुख
जिल्ला वन कार्यालय, झापा
मानिसकै गतिविधिका कारण पृथ्वी तातिएको, बर्षाद्मा अनियमितता आएको र मौसम परिवर्तन भएको पाइएको छ । यसले चुनौति थपिरहेको छ । यो चुनौतिको सामना गर्नु झन चुनौतिपूर्ण छ । स्थानीय स्तरबाट गर्ने प्रभावकारी र उत्तम कार्य भनेको बृक्षरोपण हो । रुखले कार्वन सोस्छ, अब हरियाली नबढाई बाँच्न सकिन्न । त्यसैले वनजंगलको हैसियत बढाउनुपर्छ । निजी जमिनमा समेत वन र चिया खेती गर्न सकिन्छ । झापामा बार्षिक १२ लाख विरुवा वनको हैसियत बढाउनकै लागि निःशुल्क रुपमा वितरण गर्दै आएका छौं ।
प्रेम घिसिङ
पूर्वअध्यक्ष
आदिवासी जनजाति महासंघ, झापा
महासंघमार्फत हामीले सचेतना अभिबृद्धिका लागि विभिन्न ठाउँमा प्रशिक्षण सञ्चालन गर्दैे आएका छौं । म शिक्षक पनि भएको नाताले यसलाई आफ्नो दायित्व सम्झेको छु । मानवीय कार्यले भइरहेको जलवायु परिवर्तन र तातिएको पृथ्वीमा अनुकुलनको काम गर्न जनचेतना जगाउनु जरुरी छ । वन संरक्षण गर्नुपर्छ, हामीले जीवनशैली परिवर्तन गर्नुपर्छ । खेतवारीमा विषादि प्रयोग घटाउनुपर्छ । उद्योग, यातायातलाई वातावरण मैत्री बनाउनुपर्छ ।
ज्ञानेन्द्र चौधरी
वातावरण अधिकृत
जिल्ला समन्वय समिति, झापा
पहिले पर्याप्त वनजंगलले हरितगृह ग्यास सोसेर वातावरण सन्तुलित थियो । अहिले वनविनाश र बढ्दो औद्योगिककरणले त्यसको सन्तुलन विग्रिएको छ । यो सन्तुलन कायम गर्न बृक्षरोपण नै उत्तम विकल्प हो । उद्योग वातावरणमैत्री र मापदण्ड अनुसार छैन । त्यसको अनुगमन भइरहेको छैन । सबै उद्योगलाई सरकारले तोकेको मापदण्डमा ल्याउनुपर्छ । एक गाउँ–एक पोखरी, एक गाउँ–एक वन, फोहारमैला जलाउन नदिने र जनचेतना अभियान सञ्चालन गर्ने हो भने तापक्रम बृद्धि नियन्त्रण गर्न सकिन्छ ।
किशोर कोइराला
अधिकृत
वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखा, जिसस झापा
तापक्रम बृद्धि विश्वव्यापी रुपमै चिन्ताको विषय बनेको छ । तापक्रम बृद्धिमा हाम्रो देशको भूमिका खासै नभए पनि हामीलाई नखाएको विष लागीरहेको छ । तापक्रम बृद्धि नियन्त्रण गर्न बैकल्पिक ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । ०६५ सालबाटै झापामा हामीले यो क्षेत्रमा काम गरिरहेका छौं । झापामा नेपालमै सबैभन्दा बढी २५ हजार वायोग्यास प्लान्ट पनि निर्माण गरिएको छ । बृक्षरोपण अभियान सञ्चालन गर्नुपर्छ । सोलार, वायोव्रिकेट, सुधारिएको चुल्होलाई प्रोत्साहित गरिनुपर्छ ।
संगीता थापा
केन्द्रीय सदस्य
सामुदायिक वन उपभोक्ता महासंघ
अहिलेको नयाँ तथ्यले हामी सबैलाई चिन्तित बनाएको छ । ०.०५६ डिग्री सेल्सियस अहिले औसत तापक्रम बृद्धिदर देखिनुले अब हामी संकट र चुनौतिको सामना गर्न तयार हुनुपर्ने संकेत गरेको छ । त्यसैले हामीले हाम्रा दैनिक गतिविधि व्यवहार परिवर्तन गर्न जरुरी छ । मानवीय क्रियाकलापकै कारण बढेको तापक्रमलाई हामी आफ्नो बानीमा परिवर्तन गरेर सुधार ल्याउनुको विकल्प छैन । जनेचतना र बृक्षरोपण अर्को प्रभावकारी पाटो हुन आउँछ । वन र निजी खाली जग्गामा बृक्षरोपण गरिनुपर्छ । हाम्रा हरेक सामाजिक कार्यलाई बृक्षरोपणसँग जोडेर लान सकियो तथा विद्यालय तह र परिवार परिवारमा यस बारे सचेत गराउन सकियो भने मात्र हामी बढ्दो तापक्रमको सामना गर्न सक्ने हुन्छौं । (विज्ञहरुसंगको कुराकानी र एजेन्सीको सहयोगमा ।)