Aamsanchar

काँकरभिट्टा लागूऔषधको अखडा

Author Image
बिहिवार, साउन १२, २०७४

[राजन ठटाल]
काँकरभिट्टा।

पूर्वी नाका काँकरभिट्टा लागूऔषध कारोवार तथा प्रयोगकर्ताको मुख्य अखडा बनेको छ । खुल्ला सीमा, भारतीय बजारमा लागूऔषध सहज र शुलभ मूल्यमा उपलब्ध हुने भएकाले काँकरभिट्टा नाका उनीहरुको अखडा बनेको हो ।
भारतसँग सीमा जोडिएका झापाका नाकाहरुबाट दैनिक १३ देखि २४ जनासम्म लागूऔषध प्रयोगकर्ता र कारोबारमा संलग्नहरु लागूऔषध नियन्त्रण ब्यूरो तथा प्रहरीको फन्दामा पर्ने गरेका पनि छन् । पूर्वमा लागूऔषध कारोवार हुने मुख्य स्थान सीमावर्ती भारतीय बजार पानीट्यांकी भएकाले नेपालका बिभिन्न स्थानबाट दैनिक ३० भन्दाबढी सेवनकर्ता तथा कारोवारीहरु लागूऔषध प्रयोग तथा किनमेलका लागि त्यहाँ पुग्ने गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार पक्राउ परेका मध्ये मासिक कम्तीमा १५ जना ओसारपसार तथा कारोबारमा संलग्नहरुलाई मुद्दा चलाउने गरिएको छ । काँकरभिट्टास्थित मेचीपुल लगायत अन्य ग्रामीण क्षेत्रका बिभिन्न नाकामा लागूऔषध नियन्त्रण व्युरोले प्रहरी तैनाथ गरे पनि कारोवारीहरुले कुनै न कुनै नाकाबाट विभिन्न तौरतरिका र माध्यमबाट लागूऔषध ल्याउने गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी बताएका छन् ।
फेनारगन, लुपिजेसिक, डाइजेपाम, नाईट्रोजन, कोरेक्स, फेन्सीडल लगायतका औषधिजन्य लागूऔषध नेपाली बजारमा बेचबिखन गर्न प्रतिबन्ध भएपनि सीमावर्ती भारतीय बजारमा सहजरुपमै पाइन्छन् । यसैकारण नेपाली लागूऔषध प्रयोगकर्ता तथा त्यसमा संलग्न कारोवारीहरु भारतीय बजार धाउने अनि ठूलो संख्यामा लागूऔषध नेपाल भित्र्याउने गरेको काँकरभिट्टा लागूऔषध व्युरोका किशोर श्रेष्ठको भनाइ छ ।
सीमा क्षेत्रमा लागूऔषध कारोवार रोक्न खटिएको टोलीको तथ्यांकले हरेक समय नाकामा यस्तो घटना बढ्दो क्रममा देखाइरहेको छ । तथापि सीमावर्ती क्षेत्रमा रहेका प्रहरी प्रशासनसँग नेपाली प्रसाशनको सहकार्य भने न्यून रहेको पाइन्छ । यस बिषयमा बेलैमा सचेत नबने यसको असर अझ गम्भीर हुने काँकरभिट्टा ट्राफिक प्रमुख नारायण आचार्य बताउँछन् ।

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर