काठमाडौँ ।
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले व्यवस्थापिका–संसद्मा दर्ता संविधान संशोधन प्रस्ताव प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यसँग आज आफ्नो निवास महाराजगञ्जमा कुरा गर्र्दै उहाँले संशोधन प्रस्ताव पारित भए या नभए पनि प्रक्रिया अघि बढाउने धारणा व्यक्त गर्नुभयो ।
पार्टीभित्र भागबण्डाको प्रवृत्ति बढ्दै गएको हो, भन्ने सञ्चारकर्मीको जिज्ञासामा महामन्त्रीे डा कोइरालाले त्यसमा भागबण्डा नभई सबैलाई मिलाउन गरिएको सहमतिको प्रयास हो भन्नुभयो । राजनीतिक भागबण्डाको संस्कृतिलाई अन्त्य गर्न आफ्नो प्रयास सदैव जारी रहने डा.कोइरालको भनाइ थियो ।
कार्यक्रममा युनियनका अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासङ्घको साझा चरित्र बचाउन पर्ने आवश्यकता औँल्याउनुभयो ।
महासङ्घको महाधिवेशनमा युनियनका तर्फबाट निष्पक्ष तरिकाले सक्षम उम्मेदवार चयन गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले पार्टीका तर्फबाट कुनै पनि प्रकारको हस्तक्षेप हुन नहुनेमा जोड दिनुभयो ।
युनियन केन्द्रीय समितिका पदाधिकारी र सदस्यका लागि आयोजित चियापान कार्यक्रममा महासङ्घ र युनियनका पूर्वअध्यक्षसहितका पत्रकारको उपस्थित थियो । बुधबार राजधानीमा युनियनको केन्द्रीय समिति बैठक सम्पन्न भएको थियो ।