काठमाडौँ ।

मुलुक प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले स्थानीयस्तरमा कार्यरत मानवीय सहायताकर्मीको आपत्कालीन उद्धार क्षमता सबलीकरण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

एसियाली विपद् पूर्वतयारी केन्द्र र बिल एण्ड मेलिण्डा गेटस फाउण्डेशनको साझेदारीमा उत्थानशील विकास केन्द्रले यहाँ आयोजना गरेको कार्यशालाका सहभागी वक्ताले स्थानीयस्तरमा कार्यरत सरकारी निकाय, गैरसरकारी संस्था, सञ्चार क्षेत्र, सुरक्षा निकाय र समुदायबीच समन्वय, राहत÷उद्धारसम्बन्धी क्षमता अभिवृद्धि तथा भरपर्दो सूचना प्रणालीको व्यवस्था हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्राकृतिक विपद्का दृष्टिले उच्च जोखिममा रहेका नेपाललगायत कम्बोडिया, म्यान्मार, पाकिस्तान, फिलिपिन्स र श्रीलंकामा तीन वर्षका लागि सञ्चालित एसियामा स्थानीयस्तरमा मानवीय सहायताकर्मीको आपत्कालीन उद्धार क्षमता सवलीकरणसम्बन्धी कार्यक्रम सञ्चालन भएको छ ।

सो अवसरमा गृहमन्त्रालयका सहसचिव कृष्णबहादुर राउतले प्रत्येक जिल्लामा आपत्कालीन उद्धार केन्द्र र पूर्व सूचना प्रणालीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै जिल्लास्तरका सरकारी, गैरसरकारी संरचनालाई विपद्को समय र उद्धार कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
उत्थानशील विकास केन्द्रका युवराज लुइँटेलले राजधानीसहित २९ जिल्लामा सरकारी र स्थानीय मानवीय उद्धारसम्बन्धी संस्थाहरुको पूर्वतयारी क्षमताको बारेमा गरिएको अध्ययन प्रस्तुत गर्दै विपद्को अवस्थामा गर्नुपर्ने प्रभावकारी उद्धार र पूर्वतयारीका बारेमा प्रकाश पार्नुभयो ।
कार्यक्रममा वरिष्ठ परामर्शदाता मानबहादुर थापाले यस्ता कार्यक्रमले स्थानीय संस्थाहरुको सवलीकरण र मानवीय उद्धारकर्मीबीच समन्वयमा सुधार, सूचना व्यवस्थापन र ज्ञानको आदानप्रदान, क्षमता अभिवृद्धि तथा तालिममा सहयोग गर्ने बताउनुभयो ।

