Aamsanchar

सप्तरीका बाढीपीडितलाई झापालीको राहत

Author Image
शुक्रवार, साउन १३, २०७४

अमित खम्बू/अर्जुनधारा।

गत असार १७ गते सप्तरीको खाँडो खोलामा आएको बाढीले राजविराज नगरपालिका–९ र रुपनी गाउँपालिकाका १ देखि १० वडाका प्रभावित १ सय ५० घरधुरीका परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
झापाको अर्जुनधारा नगरपालिकामा सामाजिक क्षेत्रमा क्रियाशील युवाहरु आवद्ध संस्थाहरु अर्जुनधारा जेसीज शनिश्चरे, अर्जुनधारा युथ क्लब र फरवार्ड युवा मञ्चले संयुक्तरुपमा सञ्चालन गरेको सप्तरी बाढीपीडित सहयोगार्थ राहत संकलन अभियानमार्फत् बुधबार अनुमानित ५० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको हो ।
अभियानका संयोजक एवम् अर्जुनधारा जेसीज शनिश्चरेका अध्यक्ष प्रल्हाद ढुंगानाको नेतृत्वमा राहत वितरण गर्न गएको टोलीले सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको निवासस्थान परिसर तथा मेलठ क्षेत्रमा सो राहत सामग्री वितरण गरेको थियो ।
सो राहत सामग्रीहरु प्रमुख जिल्ला अधिकारी कटुवाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइराला, संयोजक ढुंगाना, सहसंयोजक एवम् अर्जुनधारा युथ क्लबका उपाध्यक्ष विक्रम आचार्य, सचिव एवम् फरवार्ड युवा मञ्चका अध्यक्ष राजिप कठेत लगायतले वितरण गरेका थिए ।
वितरण गरिएको राहत सामग्रीहरुमा नुन तीन सय केजी, चिउरा एक सय २० केजी, मुराइ ९० केजी, चाउचाउ ५० कार्टुन र पिउने पानी ४० कार्टुन रहेको समितिका कोषाध्यक्ष सुरेश थापाले जानकारी दिए ।
सो राहत सामग्री संकलनका लागि अर्जुनधारा नगरपालिका कर्मचारी मञ्चबाट पाँच हजार रुपैयाँ, जय घटाल रोडा उद्योगबाट पाँच हजार रुपैयाँ, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहबाट तीन हजार पाँच सय रुपैयाँ, मंगल श्री कन्स्ट्रक्सन क्रसरबाट तीन हजार रुपैयाँ, पाथिभरा एग्रीग्रेड इण्डस्ट्रिजबाट दुई हजार रुपैयाँ, सम्भावी फुड एण्ड वेभरेजबाट एक हजार रुपैयाँ, बी बी किचन कर्नरबाट एक हजार रुपैयाँ नगद प्राप्त भएको बताइएको छ ।
त्यसैगरी स्वस्तिका शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयबाट राहत सामग्री पु¥याउन बस, एभरग्रीन ड्रिङकीङ वाटरबाट पिउने पानी ४० कार्टुन, हचुमासा सामुदायिक वन उपभोक्ता समूहबाट नुन एक सय ५० केजी, हलुवागढ सामुदायिक वन उपभोक्ता समूहबाट नुन एक सय ५० केजी, व्यवसायी वसन्त सोमानीबाट मुराइ ४० केजी, जय काली भगवती रोडा उद्योगबाट चाउचाउ चार कार्टुन उपलब्ध गराएका थिए ।
वडा प्रहरी कार्यालय राजविराजले दिएको जानकारी अनुसार बाढीले राजविराजका चार सय २९ र रुपनीका ७८ घरधुरीका परिवार प्रभावित भएको बताइएको छ ।

Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर