Aamsanchar

बिर्तामोड उद्योग बाणिज्य संघको उम्मेदवार टुंगो लाग्यो

Author Image
शनिवार, साउन १४, २०७४

बिर्तामोड।

नेपाली कांग्रेसले लामो गृहकार्यपछि बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्षसहित मुख्य पदका उम्मेदवारको टुंगो लगाएको छ ।
संघको अध्यक्षमा कुमार भट्टराईलाई उम्मेदवार बनाइने भएको छ । अध्यक्ष पदमा पार्टी निकट व्यवसायीहरु नै धेरै जना आकांक्षी देखिएपछि उम्मेदवार बारे टुंगो लगाउन केही समय लागेको कांग्रेसका जिल्ला नेता देउमान थेवेले बताए । बिर्तामोड उद्योग बाणिज्य संघलाई सबै व्यवसायीको साझा संस्थाको रुपमा विकास गर्न ‘लोकतान्त्रिक व्यवसायिक साझा प्यानल’ खडा गरी चुनावी मैदानमा उत्रने बताइएको छ ।

उक्त प्यानलबाट संघको अध्यक्ष पदका उम्मेदवार भट्टराई बर्तमान कार्य समितिको बाणिज्य उपाध्यक्षको समेत जिम्मेवारीमा छन् । साउन २२ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार बनेका भट्टराई एकदशकदेखि संघको साधारण सदस्यको रुपमा रहेका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा प्रकाश शिवाकोटी, उद्योग उपाध्यक्षमा राजु न्यौपाने, महासचिवमा प्रशान्त भण्डारी र जनसम्पर्क उपाध्यक्षमा पार्वता बिमली उक्त प्यानलबाट उम्मेदवार बन्ने टुंगो लागेको छ ।
पदाधिकारीसहित केही पदमा अन्य दल निकट व्यवसायीलाई समेट्नका लागि प्रयत्न भइरहेको थेवेले बताए । ‘बिर्तामोड उद्योग बाणिज्य संघलाई कांग्रेसको मात्र होइन, सबैको साझा बनाउन प्रयत्न गरिएको छ’– कांग्रेस नेता थेवेले भने– ‘माओवादी, राप्रपा, मधेशीवादी दलका साथै मारवाडी समुदाय, मधेशी समुदाय, आदिवासी जनजाति, दलित, महिला, सबैलाई समेटेर शनिवार बिहानसम्ममा सबै उम्मेदवारको टुंगो लागिसक्छ ।’ संघलाई व्यवसायीको हितमा समर्पित गर्न साझा बनाउन जरुरी भएको यथार्थ मनन गरी यस्तो प्रयत्न गरिएको थेवेले बताए ।
कांग्रेस समर्पित व्यवसायीहरुबाटै अध्यक्ष पदमा उम्मेदवार बन्ने धेरैले आकांक्षा राखेपछि अध्यक्षको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गर्न कांग्रेसलाई समस्या परेको थियो । पार्टीले जिल्ला नेता देउमान थेवेलाई सबैको भावना समेटेर उम्मेदवार बारे टुंगो लगाउन जिम्मेवारी दिएपछि भएको गृहकार्यबाट उम्मेदवार बारे टुंगो लगाएको बताइएको छ । पार्टीको आग्रहलाई सबैले स्वीकारेर अघि बढ्ने र निर्वाचनमा जित हासिल गर्ने गरी तयारीमा जुट्ने प्रतिबद्धता जनाएकोमा थेवेले सबैलाई धन्यवाद समेत दिए ।
बिर्तामोड उद्योग बाणिज्य संघको नेतृत्व सम्हाल्न सक्ने र उद्योगी व्यवसायीले विश्वास गरेका उम्मेदवार चयनमा संघका बर्तमान अध्यक्ष बलराम कार्की, पूर्वअध्यक्षहरु मोहन ढकाल, राजेन्द्रकुमार थापा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्मल भट्टराई, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बिनोद बस्नेत तथा एकराज उप्रेती, सुरेश बंशल, सुरेशकुमार अग्रवाल भद्रपुरे, दीपक तामाङ, प्रेमचन्द्र चौधरी, ओम अग्रवालले विशेष भूमिका निर्वाह गरेका थिए ।
संघको चुनावका लागि दह्रो टिम विवादरहीत ढंगले चयन गर्न भूमिका निर्वाह गरेकोमा थेवेले उनीहरुलाई समेत धन्यवाद दिएका छन् । संघका बर्तमान अध्यक्ष समेत रहेका बलरामले आउँदा दिनमा उद्योगी व्यवसायीका समस्या समाधान गर्न धेरै र नयाँ चुनौति आइरहेको बताउँदै त्यो चुनौति सामना गर्न सक्ने नेतृत्व लोकतान्त्रिक व्यवसायिक साझा प्यानलमा उम्मेदवारको रुपमा उभिएको बताए ।
उक्त प्यानलका सबैलाई बिजयी गराउन आफ्नो सहयोग रहने उनको भनाइ छ । कार्कीले पुनः अध्यक्ष पदको आकांक्षी हुँदाहुँदै पनि सबैको भावनाको सम्मान गरेर लोकतान्त्रिक प्यानलका उम्मेदवार चयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । लोकतान्त्रिक प्यानलको औपचारिक घोषणा भने शनिवार बिर्तामोडमा पत्रकारको भेटघाटको आयोजना गरी गरिने बताइएको छ ।
‘बन्दमुक्त र चन्दामुक्त बिर्तामोड बनाउ“छौं’

बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार कुमार भट्टराईले आफू निर्वाचित भएमा बिर्तामोड क्षेत्रमा सबैलाई उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरण सृजना गर्ने बताएका छन् ।
सबै उद्योगी व्यवसायीलाई भावनात्मक रुपमै एकताबद्ध गराई उद्योग व्यवसाय क्षेत्रका सबै समस्यालाई सरोकारवालाहरुको सुझाव अनुसार समाधान गरेर अघि बढ्ने भट्टराईले बताए । ‘सकारात्मक सोचको विकासका साथै ठूला–साना सबै व्यवसायीलाई समेटेर अघि बढ्नेछु’– अध्यक्षका उम्मेदवार भट्टराईले भने– ‘बिर्तामोडलाई बन्द हड्ताल र चन्दाबाट मुक्त गर्न हाम्रो टिमले काम गर्नेछ ।’ सबै राजनीतिक दल, नगरपालिका र सरोकारवालासँगको समन्वयमा यो काम गर्ने भट्टराईले बताए ।
बिर्तामोडलाई बन्द हड्ताल र चन्दा मुक्त गर्न उनले आफ्नो नारा नै बनाएका छन्– ‘बन्द–हड्ताल र चन्दामुक्त बिर्तामोड हाम्रो अभियान, सुरक्षित व्यवसायिक वातावरण हाम्रो स्वाभिमान ।’ त्यस्तै भट्टराईले व्यवसायिक एकतामा जोड दिने योजना स्वरुप अर्को नारा बनाएका छन्– ‘हाम्रो चाहना सबैको भावना, व्यवसायिक एकता आजको आवश्यकता ।’
पानीट्यांकी लगायतका क्षेत्रमा बढ्दो व्यापारले बिर्तामोडको व्यवसाय धरासायी बनेको प्रति उनले चिन्ता व्यक्त गर्दै अब बिर्तामोडको व्यवसाय प्रबद्र्धनका लागि ठोस् काम गर्ने बताए ।
भट्टराई रेडियो सनराइजका अध्यक्षका साथै ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल ‘बान’का केन्द्रीय उपाध्यक्ष समेत हुन् । रेडियो बिराटका संस्थापक समेत रहेका भट्टराई विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थामा समेत आवद्ध छन् । प्रकाश फेन्सी उनको आधिकारिक फर्म हो । उद्योगी व्यवसायीको हितमा क्रियाशील भट्टराईले रेडियोमार्फत पनि उद्योगी व्यवसायीको गतिविधिलाई प्रोत्साहित गर्दै आएका छन् ।
बिर्तामोड उद्योग बाणिज्य संघको संस्थागत विकास, उद्योगी व्यवसायीको हितका लागि आफू र आफ्नो प्यानलका सबैलाई विजयी गराएर एकपटक सेवा गर्ने अवसर प्रदान गर्न भट्टराईले सबै उद्योगी व्यवसायीमा अपिल समेत गरेका छन् ।

Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर