बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको साउन २२ गते हुने निर्वाचनका लागि व्यवसायीका दुई अलग–अलग प्यानलले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका छन् ।
‘बन्द–हड्ताल र चन्दामुक्त बिर्तामोड हाम्रो अभियान, सुरक्षित व्यवसायिक वातावरण हाम्रो स्वाभिमान’ भन्ने मूल नाराका साथ लोकतान्त्रिक व्यवसायिक साझा प्यानल बनाएर कुमार भट्टराईलाई अध्यक्षसहित उम्मेदवारी घोषणा गरिएको छ भने ‘व्यवसायीको संस्था, व्यवसायीकै नीति, व्यवसायीकै नेतृत्व’ भन्ने मूल नारासहित हनुमान मित्तल अध्यक्ष पदको उम्मेदवारसहितको संयुक्त व्यवसायिक प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।
लोकतान्त्रिक व्यवसायिक साझा प्यानलका तर्फबाट अध्यक्षमा भट्टराई, बरिष्ठ उपाध्यक्षमा प्रकाश शिवाकोटी, उद्योग उपाध्यक्षमा राजु न्यौपाने, बाणिज्य उपाध्यक्षमा शार्दुलहाङ ओली, जनसम्पर्क उपाध्यक्षमा पार्वता विमली, महासचिवमा प्रशान्त भण्डारी भेषराज, उद्योग सचिवमा रवीन्द्र भट्टराई, बाणिज्य सचिवमा घनश्याम चौधरी र कोषाध्यक्षमा मनोज अग्रवालले उम्मेदवारी घोषणा गरेका छन् । खुल्ला सदस्यमा राजु घिमिरे, राजकुमार साह, राजु सापकोटा, सञ्जीव घिमिरे, कुशल खतिवडा, ओमप्रकाश श्रेष्ठ, हरि दियाली रहेका छन् । त्यस्तै महिला सदस्यमा राधिका चुडाल हुमागाँई र रजनी बजगाई थपलियाले उम्मेदवारी घोषणा गरेका छन् ।
बिर्तामोडलाई एक महिनाभित्र बन्द–हड्ताल र जवरजस्ती चन्दा आतंक मुक्त नगरको रुपमा स्थापित गर्ने, त्यसका लागि राजनीतिक दल, नगरपालिका लगायत सरोकारवालासँग समन्वय गर्ने, भारतीय सीमा क्षेत्रमा नेपाली उपभोक्ताका कारण बढ्दो व्यापारले गर्दा बिर्तामोड क्षेत्र धरासायी बनेको उद्योग व्यवसायलाई माथि उठाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने लगायतका १९ बुँदे प्रतिबद्धतापत्रसहित उम्मेदवारी घोषणा गरिएको थियो ।
नेपाली कांग्रेस झापाका पूर्व उपसभापति देउमान थेवेको प्रमुख आतिथ्यमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा स्वागत बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र थापाले गरेका थिए । दीपक तामाङले उम्मेदवारको नाम सार्वजनिक गरेको कार्यक्रममा संघका अध्यक्ष बलराम कार्कीले व्यवसायीका समसामयिक समस्या र व्यवसायीले खेल्नुपर्ने भूमिकाका विषयमा प्रष्ट्याएका थिए । संघका पूर्वअध्यक्ष मोहन ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अच्युत दाहालले गरेका थिए ।
यसैगरी संयुक्त व्यवसायिक प्यानलको तर्फबाट अध्यक्षमा मित्तलसहित बरिष्ठ उपाध्यक्षमा गंगाप्रसाद मैनाली, उद्योग उपाध्यक्षमा कुलप्रसाद खरेल, बाणिज्य उपाध्यक्षमा नारायणप्रसाद चिमरिया, महिला उपाध्यक्ष दुर्गा खतिवडा, महासचिवमा सुवास भट्टराई, उद्योग सचिवमा राजन थापा, बाणिज्य सचिवमा प्रकाश घिमिरे र कोषाध्यक्षमा पवन खडेरियाले उम्मेदवारी घोषणा गरेका छन् ।
त्यस्तै सदस्यमा खगेन्द्रप्रसाद खरेल, सूर्यकुमार खतिवडा, राजु पारिक, शत्रुघनप्रसाद गुप्ता, गौरीशंकर गुप्ता टिंकू, सुरज चौधरी, बृहस्पति पाण्डे र महिला सदस्यमा उर्मिला खरेल र दुर्गा थपलियाले उम्मेदवारी घोषणा गरेका थिए । नेपाल राष्ट्रिय बाणिज्य संघ झापाका अध्यक्ष भीष्म खरेलको अध्यक्षता तथा उमेश डालमियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत गणेश सुवेदीले गरेका थिए भने उम्मेदवारी घोषणा अध्यक्ष पदका उम्मेदवार मित्तलले गरेका थिए । कार्यक्रमको सञ्चालन याम विमलीले गरेका थिए ।
उम्मेदवारी घोषणा कार्यक्रममा व्यवसायीका एकता अक्षुण्ण राख्ने, कानून सम्मत व्यवसायमाथि हुने कुनै पनि हस्तक्षेपका ठटेर सामना गर्ने, व्यवसायिक संस्थामा वास्तविक नेतृत्व स्थापित गर्ने लगायतका सात बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरिएको थियो ।


