Aamsanchar

जामुनखाडी सिमसार यसरी बन्यो ‘धनसार’

Author Image
आइतवार, साउन १५, २०७४

बिर्तामोड ।

झापाको कनकाई नगरपालिका–२ र ५मा रहेको जामुनखाडी सिमसार क्षेत्र जिल्लाकै मुख्य पर्यटकीय गन्तव्यका रूपमा परिचत छ । यो सिमसार क्षेत्रमा बिगतका वर्षमा भन्दा क्रमिक रुपले आन्तरिक तया वाह्य पर्यटकको चहलपहल बढी हुन थालेको छ ।

केही वर्ष अघिसम्म उपेक्षामा परेको यो सिमसार क्षेत्रलाई जिल्लाकै मुख्य पर्यटकीय स्थलको रुपमा विकास गरिएसँगै आन्तरिक तया वाह्य पर्यटकको मुख्य केन्द्रविन्दु हुँदै धनसार क्षेत्रमा परिणत हुँदै गएको हो ।सामुदायिक वन क्षेत्रमा तीनकुने आकारको ठूलो तलाउ, झोलुङ्गे पुल, बोटिङको व्यवस्था, आकर्षक बगैँचा, बाल उद्यान, वनभोजस्थल, मिनी चिडियाखाना आदि कारणले जामुनखाडी सिमसार क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो ।
अर्थिक वर्ष २०७३÷०७४मा जामुनखाडी सिमसार क्षेत्रमा २ लाख ३८ हजार २ सय ५० जना आन्तरिक तथा वाह्य पर्यटक आएका थिए । जसबाट एक करोड १९ लाख १२ हजार दुई सय ५० रुपैयाँ सिमसार क्षेत्रले आम्दानी गरेको बताउँछन्– जामुनखाडी सिमसार क्षेत्रका उपाध्यक्ष गम्भीरबहादुर राई  । अघिल्लो आर्थिक वर्ष यो सिमसार क्षेत्रमा दुई लाख ६६ हजार ९ सय ८५ जना पर्यटक भित्रिएको उपाध्यक्ष राईले जानकारी दिए ।
जुमुनखाडी सिमसार क्षेत्रमा नेपालका विभिन्न स्थानबाट शैक्षिक भम्रणका लागि समेत पर्यटक आउने गरेका छन् । पाँच सयभन्दा बढी दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको सो सिमसार क्षेत्रमा विभिन्न नयाँ कार्यक्रम सञ्चालनका लागि यस वर्षवाट प्रवेश शुल्कमा वृद्धि गरिएपछि केही आम्दानी बढेको उपाध्यक्ष राईले बताए ।
कनकाई नगरपालिकाको डाँडागाउँमा अवस्थित जामुनखाडी सामुदायिक वनभित्रको केही भू–भागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय स्थलको रूपमा विकास गर्न शुरु गरिएको छ । यहाँ विभिन्न दुर्लभ बन्यजन्तु संरक्षण गरेर राखिएको छ ।
पूर्व–पश्चिम राजमार्गबाट उत्तर लगभग एक किलोमिटको दुरीमा रहेको चार सय एक दशमलव २५ हेक्टर क्षेत्रमा फैलिएको सामुदायिक वनको भू–भागमध्ये १० हेक्टर अर्थात् १४ विगाह ८ कठ्ठा ६ धुर जमिनलाई सिमसार क्षेत्रको रूपमा विकास गरिएको छ । ऐतिहासिक पृष्ठभूमि बोकेको गङ्गा र जमुना पोखरी रहेको सो क्षेत्र संरक्षण अभावका कारण हाल गङ्गा पोखरी अस्तित्वमा छैन भने जमुनाको संरक्षण र विकासका लागि विशेष पहल गरिएको बताउँछन्– कार्यालय सविच अम्वरबहादुर चौहान । ४ विगाह क्षेत्रको बीचमा रहेको लाम्चो आकारको पोखरी पर्यटकको प्रमुख आकर्षणको केन्द्र हो ।
विश्वमै दुर्लभ मानिएका अजिङ्गर लगायत मृग, जरायो, भालु, खरायो दुम्सी, चरीबाघ आदि यहाँका गहना हुन् । आम्दानीका हिसाबले पनि यो सिमसार क्षेत्र झापामा रहेका अन्य सिमसार क्षेत्रभन्दा अगाडि छ । बिगत केही वर्ष अघिसम्म उपेक्षामा रहेको यो सिमसार क्षेत्र यतिबेला धनसार क्षेत्र बनेको बताइएको छ ।
वर्षेनि लाखौं पर्यटकको मन जितेर करोडौं रुपैयाँ आम्दानी गर्न सफल यो सिमसार क्षेत्रको थप विकास र विस्तारका लागि स–साना कुरामा ध्यान दिँदै अघि बढ्ने हो भने झापाको मात्र नभई जामुनखाडी सिमसार क्षेत्र पूर्वकै पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै जानेमा दुई मत छैन ।

Views: 755

प्रतिक्रिया (०)

सम्बन्धित खबर