Aamsanchar

अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा

Author Image
सोमवार, साउन १६, २०७४

पर्वत।

मुलुककै अग्लो झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गर्ने युवायुवती जोडीको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ ।

मृतकका आफन्तहरु आएर शव पहिचान नगर्दासम्म अस्पतालमै राखिने भएको हो । आफन्तहरुलाई खबर भइसकेको र आज दिउँसोसम्म आइपुग्ने र त्यसपछि उनीहरुकै सहमतिमा शवपरीक्षण गरिने या शवपरीक्षणका लागि अन्यत्र पठाउने भन्ने निर्णय हुने पर्वतका प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
पुरानो बागलुङको हरिचौर घर भई हाल ललितपुर महानगरपालिका–१४ बस्ने २५ वर्षीया मुना राना र धरान उपमहानगरपालिका–११ का २६ वर्षीय अकिन गुरुङले पुलबाट एकैपटक हाम फालेर सामूहिक रुपमा आत्महत्या गरेका थिए ।
शनिबार राति १० बजेको समयमा मोदीखोलामा हाम फालेर उनीहरुले आत्महत्या गरेका थिए । खोलामा हाम फाल्ने तयारीका साथ पुलबाट खसेको भए पनि उनीहरु खोला किनारमा करिब ५० मिटरको अन्तरमा खरवारीमा परेका थिए ।
उनीहरु शनिबार घुमघामका लागि भन्दै पर्वत सदरमुकाम कुश्माबजार आइपुगेका हुन् । शनिबारको दिन घुमघामका लागि आएको उक्त जोडी रातिको समयमा नेपालकै अग्लो पुलबाट हाम फालेर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
पुलमा रहेको उनीहरुको सामान देखेपछि हाम फालेर आत्महत्या गरेको हुनसक्ने अनुमानका आधारमा उनीहरुको खोजी गरिएको र आइतबार बिहान मोदीको किनारमा जोडीको शव भेटिएको थियो । उनीहरु ट्रेकिङमा आएको पाइएको छ । उनीहरुको झोलामा राति बास बस्ने टेन्ट तथा अन्य बन्दोबस्तीका सामानहरुसमेत रहेका थिए ।

उनीहरु दुवैका सामान एउटै झोलामा, मोबाइल, पैसासमेत एकै ठाउँमा भेटिएका छन् । उनीहरु प्रेमीप्रेमिका हुन सक्ने अनुमानसमेत गरिएको छ । उक्त घटनाबारे विस्तृत जानकारी आफन्तसँग सोधपुछ गरेपछि मात्र पत्ता लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर