काठमाडौं ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले श्रम मन्त्रालय पत्नी आरजु राणा देउवालाई ‘पकेट मनी’का लागि सम्पिएको खुलासा भएको छ । चितवन कांग्रेसका महाधिवेशन प्रतिनिधी भरत गुरुङले श्रम मन्त्रालय आरजुलाई देउवाले ‘पकेट मनी’का लागि दिएको बताउने गरेका छन् । लण्डनमा लामो समय बसेर फर्किएका भरत गुरुङ आजकाल आरजुका लागि काम गर्दै आएका छन् ।
आरजुसँग सिधै फोनमा सम्पर्क गर्ने भरत गुरुङले आफ्नो पावर देखाउन वैदेशिक रोजगार व्यवसायीहरूलाई मोबाइलमा ‘ह्याण्डस् फ्रि’ गरेर सम्वाद सुनाउने गरेका छन् ।
आरजुको ‘खास मान्छे हुँभन्दै’ श्रम मन्त्रालय र श्रम विभागमा हालीमुहाली गर्दै आएका भरतले तत्कालीन श्रममन्त्री सूर्यमान गुरुङ र अहिलेका श्रममन्त्री फर्मुल्लाह मन्सुरलाई ‘मैले’ मन्त्री बनाएको हुँ भन्ने गफ लगाउँदै हिँड्ने गरेको खुलासा भएको छ । स्रोतका अनुसार, आरजु राणा देउवाले यिनै भरतलाई प्रयोग गरेर श्रममन्त्री फर्मुल्लाह मन्सुर र श्रम विभागका महानिर्देशक विश्वराज पाण्डेसँग मोटो रोकम असुल्दै आएकी छिन् ।
८/९ महिना अगाडि अर्थमन्त्रालयबाट आरजु राणा देउवाको दवावमा विश्वराज पाण्डे श्रम विभागमा महानिर्देशक भएर गएका हुन् । स्रोतका अनुसार पाण्डेले वैदेशिक रोजगार व्यवसायीहरूसँग रकम लिएर कमिशनका रुपमा आरजु समक्ष आफै पुर्याउने गरेको उच्च स्रोतले जनाएको छ । महानिर्देशक पाण्डे स्वयंले पनि वैदेशिक रोजगार व्यवसायीहरूसँग आरजुलाई पैसा पुर्याउनु पर्छ भन्दै घुस माग्ने गरेको आरोप छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र कांग्रेसका सूर्यमान गुरुङ श्रम मन्त्री भएका बेला श्रम विभागका महानिर्देशक पाण्डेसँग आजित भएका कांग्रेस निकटका वैदेशिक रोजगार व्यवसायीहरूले जेठको अन्तिम सातातिर हटाउन दवाव पनि दिएका थिए । तर, तत्कालीन श्रममन्त्री गुरुङले पाण्डेलाई महानिर्देशकबाट हटाउँदा ‘मेरै मन्त्री पद फुत्किन्छ’ भन्ने जवाफ दिएको एक व्यवसायीले बताए ।
आरजुकै दवावमा गुरुङ श्रम मन्त्री भएका बेला महानिर्देशक पाण्डेले करिव १६० वटा नयाँ मेनपावर कम्पनीहरूलाई इजाजत दिएका थिए । लामो समयसम्म नयाँ मेनपावर कम्पनीलाई इजाजत दिने कार्य रोकिएको थियो । आरजु र पाण्डेको मिलोमतोमा नयाँ इजाजत खोलिएको हो ।
नयाँ इजाजत दिँदा महानिर्देशक पाण्डेले आरजुलाई पैसा पुर्याउनु पर्छ भन्दै पाँचदेखि दश लाखसम्म रकम लिएको उच्च स्रोतको भनाइ छ । महानिर्देशक पाण्डेले आरजुकै दवावमा फ्रि भिसा र फ्रि टिकटको विवरण (वर्गीकरण) माग गरेर व्यवसायीहरूसँग मोटो रकम उठाएको स्रोतको भनाइ छ ।
एकजना पीडत व्यवसायीले भने, ‘विश्वराज पाण्डेले मसँग आरजुलाई पैसा बुझाउनु पर्छ भनेर पैसा माग्नु भयो । पैसा नदिँदासम्म फ्रि भिसा र फ्रि टिकटको विवरण मिलेको छैन भनेर हैरान बनाउनु भयो । पैसा बुझाएपछि सबै कुरा मिल्यो ।’
स्रोतका अनुसार महानिर्देशक पाण्डे, आरजु र भरत गुरुङ मिलेर श्रम विभागबाट १२ करोडभन्दा धेरै रकम असुल गरेका छन् । नयाँ मेनपावर कम्पनीलाई लाइसेनस दिएर करिव १० करोड र वर्गीकरणबाट दुई करोड पाण्डेले संकलन गरी आरजुलाई दिएको चर्चा वैदेशिक रोजगार व्यवसायीहरूका बीच हुने गरेको छ ।
को हुन् विश्वराज पाण्डे ?
अर्थ मन्त्रालयमा २५ वर्षसम्म शाखा अधिकृत र उपसचिवमा काम गरेका पाण्डे पूर्वराज परिवार निकट मानिन्छन् । पाण्डेको परिवार राजदरबार र राणा परिवारको पुरोहितको काम गर्दै आएको थियो । राजदरबारको दवावमा विश्वराज पाण्डे अर्थमन्त्रालयमा २५ वर्षसम्म जागिर खाएको चर्चा अहिले पनि अर्थ मन्त्रालयमा हुने गरेको छ ।
यसरी भयो आरजुसँग कनेक्सन ?
पाण्डेको परिवारका अग्रजहरूले राणा परिवारमा पुरुत्याइँ गरेका कारण आरजुसँग सम्बन्ध सुदृढ भएको बताइन्छ । पाण्डेलाई मुनड्रप्स मेनपावरका कुनै बेलाका मालिकद्वय प्रसिद्ध राणा र पुकार राणाले आरजुसँग कनेक्सन गराई दिएको स्रोतको भनाइ छ । प्रसिद्ध र पुकार राणा आरजुका माइतीखलक पर्छन् । आरजुसँग पाण्डेलाई अझै नजिक भरत गुरुङले गराइदिएको स्वयं भरत गुरुङले वैदेशिक रोजगार व्यवसायीहरूसँग मदिराले मातेका बेला चुहाउने गरेका छन् ।
आरजुको दवावमा पहिलो चरणमै श्रममन्त्री
आरजुकै दवावमा शेरबहादुर देउवाले फर्मुल्लाह मन्सुरलाई पहिलो चरणमा श्रम मन्त्रीको सपथ दिलाएको कांग्रेसका एक नेताले जानकारी दिए । ‘आरजु भाउजुको दवावमा प्रधानमन्त्रीज्यूले श्रम मन्त्रालयलाई प्राथमिकतामा राखेर सपथ गराउनु भएको हो’, ती नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘फर्मुल्लाह मन्सुर पनि आरजुको दवावले आजित हुनु भएको छ । उहाँलाई आरजुको ठूलो दवाव छ ।’ सादगी मन्त्रीका रुपमा कहलिएका फर्मुल्लाह मन्सुर आरजु, महानिर्देशक पाण्डे र भरत गुरुङका कारण बदनाम हुँदै गएको स्रोतको भनाइ छ । साभार :दैनिक नेपाल