काठमाडौं,

काठमाडौंका वीरबहादुर महर्जन (नाम परिवर्तन) को उमेर ७२ वर्ष भयो । उनका ६५ वर्षकी जीवन संगिनी, चार भाइ छोरा र एउटी छोरी छन् । बुढेसकालको सहारा छोरा भने पनि अहिले उनलाई छोराहरुले घरबाट निकाल्न खोज्दै छन्, र बुढेसकालमा रहरले जन्मिएकी छोरी अहिले उनको सहारा बनेकी छिन् ।

काठमाडौंमा पुख्र्यौली सम्पत्ति भएको र वीरबहादुर आफैं पनि व्यापारी भएकोले खानालाउन कुनै दुःख छैन । कपाल फुलेर सेतै हुँदा र गाला चाउरी पर्दा पनि वीरबहादुरले अहिले पनि व्यापारलाई निरन्तरता दिई रहेका छन् । अहिले पनि आफ्नो काम गरेर खाइरहेका वीरबहादुरले सन्तोष दिएका छैनन् । त्यसैले ७२ वर्षका वीरबहादुर पत्नीसहित अहिले पनि प्रहरीकोमा धाई रहेका छन् ।
प्रहरीमा आएका वीरबहादुरका दम्पत्ति अरुकोविरुद्धमा होइन आफ्नै छोराविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गर्न महानगरीय प्रहरी महिला सेल कालिमाटीमा पुगेका छन् । महिला सेलको एउटा सानो कोठामा वीरबहादुरका दम्पत्ति, चार छोरा बुहारी छोरी र छोरी ज्वाईं आरोप प्रत्यारोप चलिरहेको छ । सबैलाई आफ्नो पीडा ठूलो । बाबु आमालाई छोराले हेरेन भन्ने गुनासो, छोराहरुलाई बाबुको सबै सम्पत्ति आफ्नो नाममा आएन भन्ने दुखेसो ।

वीरबहादुरकी पत्नीले शरीरको निलडाम देखाउँदै भनिन् ‘म यस्तो बूढी भएको मान्छेलाई नातीले पिटेर निलडाम पारिदियो, कसरी सहनु ?’
तर बुहारी भने सासुको यो आरोपलाई स्वीकार्न तयार छैनन् । ‘झुटो कुरा बोल्ने हो ? आफैं डाक्टर छौ तिमीहरु आफैं घाउ बनाएर हामीलाई दोष दिन्छौ ?’ वीरबहादुरकी कान्छी बुहारीले सासुलाई उल्टै हकारिन् । वीरबहादुर छोरी र ज्वाईं दुवै जना नाम चलेका अस्पतालमा काम गर्छन । कान्छी बुहारीको कटाच्छे छोरी ज्वाईंलाई नै थियो ।
प्रहरीको कक्षमा ठूला ठूला स्वरले कराई रहेका उनीहरुलाई प्रहरीले हप्काएर पालै पालै कुरा सुन्ने भनेपछि बाहिर निस्किए । बाहिर पनि उनीहरुको जुहारी कम भएन । सासुले बुहारीलाई दोष लगाउने, बुहारीले सासुलाई ।
‘केही समय अगाडि बुबा विरामी हुँदा छोरा आएर उपचार गरिदेला भनेको त बुबाको नाममा रहेको घरनै आफ्नो नाममा पारेछ’ बोलिन वीरबहादुरकी श्रीमती ।
उनका अनुसार छोराले बुबा विरामी भएको बेलामा झुक्याएर घर आफ्नो नाममा प¥यो । ‘बुबा तिम्रो उपचारको लागि हो, यहाँ साइन गर त भन्यो हामी त सोझो मान्छे होला भनेर गरि हाल्यौं, उसले त घर आफ्नो नाममा बनाएछ’ उनले थपिन ‘अहिले त हामीलाई घरबाट निक्लेर जा पो भन्छ ।’
छोराहरुले घरबाट निकाल्ने थालेपछि उनीहरु महिला सेलमा आएका हुन् । आफ्नो नामको सम्पत्ति सबै छोरा छोरीलाई समान रुपमा बाँडफाँड गरे पनि अहिले आएर छोराहरुले आफ्नो सम्पत्ति हत्याउन अनेक बहाना गर्न थालेको वृद्ध दम्पत्तिको गुनासो छ । उनीहरुले छोरा बुहारीको विरुद्धमा घरेलु हिंसाको उजुरी प्रहरीमा दर्ता गरेका छन् ।
प्रहरीका अनुसार सम्पतीको नाममा आमा बुबासँग झगडा गर्ने, अंशवण्डा तथा घरेलु हिंसाका घटना यस्ता घटना बारम्बर आइरहन्छन । प्रहरीले आफैंले मिलापत्र गर्न सकेकालाई मिलापत्र गराउँछ भने मिल्दै नमिल्ने मुद्दाहरु अदालतमासमेत पुग्ने गरेका छन् । मुना श्रेष्ठ/उज्यालो ।

