दमक।
झापाको दमकमा बाहिरबाट आएका केही व्यक्तिहरुले विभिन्न उपाय अपनाएर ठगी गर्ने गरेको पाइएको छ ।
बिगत केही दिनदेखि दमक बजार तथा आसपासका क्षेत्र र गाउँ–बस्तीहरुमा समेत अपरिचित महिला तथा पुरुषहरुले घर–गाउँ, टोल–टोलमा गई विभिन्न किसिमका नक्कली सुनका टिल ‘बिस्कुट’ तथा सिक्का देखाएर ठगी गरिरहेको सुनिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बूले बताए ।
उनीहरुले बहुमूल्य पर्ने र बिरलै मात्र पाइने सर्पको मणि, एकमुखे रुद्राक्ष जस्तो वस्तु समेत देखाएर खानेकुराहरु समेत खान दिएर लट्याई प्रलोभनमा पारी, झुक्याई नगद, सुनचाँदी तथा अन्य सरसामानहरु समेत ठगी गरी भाग्ने गरेको लिम्बूले बताए ।
ठगिएपछि यस्ता उजुरी लिएर प्रहरी कार्यालयमा आउने बढेको उनले जानकारी दिए । गफगाफमा भुलेर र प्रलोभनमा परेर ठगिएकाहरुलाई उद्धृत गर्दै इप्रका दमकका प्रमुख लिम्बूले भने– ठगहरुले समूह तथा एक्लाएक्लै आएर लट्याएर, लोभ्याएर ठगी गर्ने गरेका छन् । लिम्बूले भने– ‘यस्तो ठगीमा संलग्नहरुले जसरी पनि आफूप्रति आकर्षित गरेर ठग्ने रहेछन्, होशियार नभए धेरैको बिजोग हुनसक्छ ।’
ठगीको गिरोह नै सक्रिय रहेको थाहा पाएपछि यस्तो गतिविधि नियन्त्रणको लागि प्रहरीले अपरिचित व्यक्तिहरुले बिभिन्न बहाना गरी गफगाफ गरी झुक्याई, छक्याई यस्ता नक्कली सामान लगायत बिभिन्न किसिमको अन्य आकर्षक सामानहरु देखाएमा र शंकास्पद गतिविधि गरेको अवस्थामा प्रहरीमा खबर गर्न भन्दै सार्वजनिक रुपमा सूचना गर्नुको साथै माइकिङ समेत गरेको छ ।