काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र) ले आगामी असोज २ गते हुने २ नं प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीका शीर्ष नेतालाई खटाउने भएको छ ।
सो पार्टीको आज बसेको केन्द्रीय कार्यालयको बैठकले चुनावी अभियानका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सिराहा जिल्ला पठाउने भएको हो ।
त्यसैगरी बैठकले नेताहरू नारायणकाजी श्रेष्ठलाई सर्लाही, रामबहादुर थापा ‘बादल’लाई धनुषा, विश्वभक्त दुलाल ‘आहुती’ लाई महोत्तरी, हरिबोल गजुरेललाई रौतहट, दीनानाथ शर्मालाई पर्सा, चक्रपाणि खनाल ‘बलदेव’लाई सप्तरी, र डिलाराम आचार्यलाई बारा जिल्लामा पठाउने निर्णय गरेको प्रवक्त पम्फा भुसालले जानकारी दिनुभयो ।
“आजको बैठकले प्रादेशिक र संघीय निर्वाचनका लागि केन्द्रीय कार्यालयका सदस्यको कार्यविभाजन गर्नुका साथै सातवटै प्रदेशमा राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यलाई सहभागी गराई पार्टी प्रशिक्षण सञ्चालन गर्ने र प्रदेशस्तरीय बैठक सम्पन्न गर्ने निर्णयसमेत गरेको छ”– प्रवक्ता भुसालले भन्नुभयो ।