काठमाडौं,

देशका धेरै ठाउँमा पानी परिरहेको छ । बारा, पर्सा, चितवन र नवलपरासी आसपासका क्षेत्रमा ठूलो पानी परिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद् समिर श्रेष्ठले आग्रह गर्नुभयो । चितवन नजिकै बनेको न्यूनचापिय क्षेत्रको प्रभावले बुधबार रातिदेखि नै देशका धेरै ठाउँमा पानी परिरहेको हो ।

बिहीबार दिनभरि पनि धेरै ठाउँमा झरी पर्ने उहाँको अनुमान छ । यो न्यूनचापिय क्षेत्र शुक्रबार बिहान मात्र कमजोर हुने भएकाले बिहीबार पनि धेरै ठाउँमा पानी पर्ने संभावना छ । शुक्रबार भने पानी परेपनि लगातार झरीको संभावना नभएको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबिच झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्सा आसपासका खोलानालामा शुक्रबार बिहानसम्म नै बाढीको जोखिम भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । बिहीबार पूर्वमा कन्काई, कोशी, कमला, बाग्मती र नारायणी नदी तथा पश्चिममा बबई, राप्ती, कर्णाली र महाकालीमा बाढी आउने भएकाले आसपासका बासिन्दालाई सतर्क भएर बस्न शाखाले आग्रह गरेको हो ।

यस्तै लगातारको वर्षाले जमिन कमजोर भएको भन्दै पहाडी र उच्च पहाडी भूभागमा पहिरोको जोखिम बढेको भन्दै सावधानी अपनाउन पनि शाखाले सुझाव दिएको छ । कतै बाढी आए वा खोलानाला सुके ११५५ मा जानकारी गराउन पनि शाखाले अनुरोध गरेको छ । साभार :उज्यालोबाट

