Aamsanchar

चट्याङका कारण पूर्वमा १०५ को मृत्यु १९९ घाइते

Author Image
बिहिवार, साउन १९, २०७४

 

नरेन्द्र ढकाल/विर्तामोड । 

नेपालमा वर्षे चट्याङका कारण सयौंले ज्यान गुमाउनु परेको छ । चट्याङका कारण मृत्यु हुनेको तथ्याङ्क कहाली लाग्दो रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

पछिल्लो तीन वर्षको अवधिमा पूर्वका झापा सहित इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, धनकुटा, मोरङ, सुनसरी, सप्तरी, सिराह, उदयपुर, सोलुखुम्बु, र ओखलढुङगा जिल्लामा चट्याङ लागेर १०५ जनाको मृत्यु भएको छ । चट्याङले लागेर १९९ जना घाइते भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक शिव पोख्रेलले जानकारी दिए ।

उनका अनुसार तीन वर्षमा ७८ वटा चौपायको मृत्यु भएको जनाइएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७१÷७२ मा ३६ जनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७२÷७३ मा २९ जनाले ज्यान गुमाउनु प¥र्यो भने ६६ जना घाइते भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षमा २०७३÷७४ मात्रै ४० जनाले चट्याङका कारण ज्यान गुमाउनु प¥र्यो भने ८८ जना घाइते भएको छन् । चालु आर्थिक वर्ष २०७४÷७५ को १५ दिनको अवधिमा मात्रै दुई जनाले ज्यान गुमाई सकेको प्रहरी निरीक्षक पोख्रेलले बताए । उनका अनुसार तीन वर्षको अवधिमा १६१ घरमा क्षति पुगेको छ ।

पूर्वका इलाम र ओखढुङ्गा अत्याधिक रुपमा चट्याङ पर्ने गरेको र सबैभन्दा धेरै मानिसको पनि यि जिल्लामा नै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआईजी रमेशकुमार भट्टराईले जानकारी दिए ।

झापामा अत्याधिक पर्छ चट्याङ/इलाम र ओखलढुङ्गामा धेरैको मृत्यु

प्रहरीका अनुसार पूर्वको झापामा अत्याधिक रुपमा चट्याङ् पर्ने गरेको छ । तर मानिस मृत्यु दर भने इलाम र ओखलढुङ्गामा धेरै रहेका छन् । पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसार चट्याङका कारण वर्षेनी करोडौंको क्षति हुने गरेको छ ।

मुलुकमा सामान्यतः अपराह्न ४ बजेदेखि ६ बजेसम्म सबैभन्दा बढी चटयाङ पर्ने गरेको छ ।

के चट्याङ हो ?

चट्याङ एक किसिमको बिजुलीको धार हो । यो वायुमण्डलमा देखापर्छ । वैज्ञानिक अध्ययनअनुसार एकपटक चट्याङ पर्दा १० हजार एम्पिएर र त्योभन्दा बढी करेन्ट उत्पन्न हुन्छ । यो करेन्टको धार आकाशबाट पृथ्वीको सतहतिर केन्द्रित भई प्रवाहित हुन्छ । कुनै मानिस वा प्राणी यसको संसर्गमा आए तुरुन्तै मृत्यु हुने बताइएको छ ।

बिजुली चम्किने बेला वायुमण्डलको तापक्रम एक्कासि बढ्छ । ताप बढेर ३० हजार डिग्री सेल्सियस र त्योभन्दा बढी पुग्न सक्छ, ताप बढेपछि आयातन बढ्छ, जसले विस्फोटनको आवाज निस्किन्छ । यही आवाजलाई मेघ गर्जन भनिने वैज्ञानिकहरुको भनाई छ ।

चट्याङबाट कसरी बच्ने ?

यस्तो बेला पानीमा भिज्ने व्यक्ति वा प्राणीलाई करेन्ट लाग्ने सम्भावना धेरै हुने बताइएको छ । करेन्ट लाग्यो भने मानिसको मृत्यु पनि हुनसक्छ । हुरीबताससंगै चट्याङ परेका बेला बाहिर निस्कनु खतरनाक हुने बताइएको छ ।

विद्युतीय धार आकाशबाट पृथ्वीतिर केन्द्रित हुने भएकाले पहाडको उच्च भागमा चट्याङ पर्ने सम्भावना बढी हुने गर्दछ । उच्च स्थानमा निर्मित घर, टहरा, गोठ बढी निशानामा पर्ने विज्ञहरुको भनाई छ । रुखमा पनि चट्याङ पर्ने सम्भावना धेरै हुन्छ । चट्याङ पर्दा रुखमुनि ओत लिनु सबैभन्दा खतरनाक हो, बिजुलीको खम्बामुनि पनि बस्न नहुने बताइएको छ ।

यस्तो बेला खेतमा काम गर्नु, पोखरीमा पौडी खेल्नु वा डुंगा चलाउनु पनि जोखिमपूर्ण हुने छ । विद्युतीय धारको प्रवाह फलाम वा अन्य धातुमा छिटो हुने भएकाले त्यस्ता वस्तु लिएर हिँडनु जोखिमपूर्ण हुन्छ । विज्ञहरूका अनुसार यसबाट बच्ने सबैभन्दा उत्तम उपाय घरबाट बाहिर ननिस्किनु नै हो । पक्की घर र छानामा लाइटनिङ एरेस्टर लगाएको घर निर्माण गर्नुपर्छ ।

गाडीभित्र छ भने–झालढोका बन्द गरेर बस्नुपर्छ । चट्याङ पर्ने बेला सहारा लिने स्थान नपाइए घुँडाले टेकेर हात टाउकोमाथि राखेर निहुरिएर बस्नु उचित हुन्छ । भौतिक संरचनाहरुमा चट्याङ परेमा आगलागी हुने , विद्युत , टेलिफोन लगायतका पोल तथा स्टेशन समेत चट्याङको बढि जोखिममा हुने भएकाले त्यस्ता सामग्रीबाट आफुलाइृ टाढै राख्नु उचित हुने विज्ञहरुको भनाई छ । (एजेन्सीको सहयोगमा)

Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर