बिर्तामोड।

मानिस बीचको भेटघाटमा हात मिलाउने आम प्रचलन छ । पहिले पुरुषले मात्र हात मिलाउँथे भने अहिले महिलामा पनि यो प्रचलन बढेको छ । एकअर्काप्रति हार्दिकता साट्ने माध्यम हात मिलाउने भएको छ । तर, स्वास्थ्यका दृष्टिले पश्चिमी संस्कृतिका रुपमा आएको हात मिलाउने चलन निक्कै घातक पनि हुनसक्छ । हात मिलाउँदा एकबाट अर्कोमा धेरै प्रकारका भाइरस, किटाणु सर्ने चिकित्सकले बताएका छन् ।
भर्खरै बिर्तामोडमा स्वाइनफ्लूका कारण दुई महिलाको मृत्यु भएको छ । योसँगै देशभर स्वाइनफ्लूका कारण मृत्यु हुनेको संख्या ८ पुगिसकेको छ । धेरै जना संक्रमित छन् । स्वाइनफ्लूको संक्रमण फैलन थालेपछि विज्ञहरुले त्यसबाट जोगिन हात नमिलाउन र मास्कको प्रयोग गर्न सुझाव दिएका छन् । हात मिलाउनुको सट्टा नमस्कार गर्न उनीहरुले सुझाएका छन् ।
झापामा स्वाइनफ्लूका कारण दुई जनाको मृत्यु भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले स्थलगत अनुगमन शुरु गरेको छ । जिल्लामा स्वाइनफ्लूका कारण दुई जनाको मृत्यु भएपछि जनस्वास्थ्य कार्यालयको टोली स्थलगत अनुसन्धानमा खटिएको हो ।
अनुसन्धानमा खटिएका टोलीका संयोजक डाक्टर दुर्योधन यादवले भने– ‘यो रोगबाट बच्न अब हामीले भरसक कसैसँग हात मिलाउनु भएन, सँधै मास्कको प्रयोग गर्नुपर्छ ।’ उनले केही व्यक्तिमा स्वाइनफ्लू फेला परेकाले अब अन्यमा पनि सर्दैन भन्न नसक्ने अवस्था रहेको बताए । उनले भने– अब अरुमा पनि देखा पर्दैन भन्न सकिन्न । त्यसैले सबै जनाले सावधानी अपनाउनु पर्छ– उनले भने ।

डाक्टर यादवको संयोजकत्वमा चार सदस्यीय जनस्वास्थ्यको टोली अनुसन्धानका लागि बिर्तामोडमा खटिएको हो । स्वाइनफ्लूका कारण मृत्यु भएकी बिर्तामोड–१की मनिषा अग्रवाल र बिर्तामोड–४की अनीतादेवी मित्तलको उपचारको क्रममा भारतमा मृत्यु भएपछि झापामा पनि स्वाइनफ्लू देखा परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जनस्वास्थ्यको टोलीले बिहीबार मृतकको घरमा पुगेर लक्षण तथा उनीहरूको ल्याब रिपोर्टको बारेमा जानकारी लिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले मृतक दुबै जनाको स्वाइनफ्लूबाट नै मृत्यु भएको प्रमाणित भएको बताए । उनले स्वाइनफ्लूको भाइरसको संक्रमण कहाँबाट फैलिएको हो भन्नेमा अनुसन्धान गरिरहेको जानकारी दिए ।
उनले भने– ‘उहाँहरुको स्वाइनफ्लूका कारण नै मृत्यु भएको हो । हामीले अस्पातालको रिपोर्ट हे¥यौँ र लक्षणहरू पनि सोध्यौँ तर स्वाइनफ्लूको भाइरस कहाँबाट आएको हो भन्ने विषयमा अनुसन्धान गर्दैछौँ ।’ उनले यो भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले सतर्क रहन आग्रह गरे।
उनले भने– ‘यो सुंगुरमा लाग्ने रुघाखोकी हो । मान्छेलाई स¥यो भने खतरानाक हुन सक्छ ।’ उनले जिल्लाको बिर्तामोड क्षेत्र लगायत शहरी क्षेत्रमा सुंगुर पालन व्यवस्थित नभएकाले यो रोग अझै फैलन सक्ने भएकाले सतर्क रहन आग्रह गरे । उनले दुईजनाको मृत्युको कारण स्वाइनफ्लू नै भएकाले भोलि नै बिर्तामोड नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रतिवेदन बुझाउने बताए । रोग नियन्त्रण महाशाखाद्वारा विशेषज्ञको टोली समेत बोलाइने उनले जानकारी दिए ।
यता बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिबाकोटीले मानव जीवनभन्दा ठूलो अरु केही हुन नसक्नै भन्दै यसका लागि अभियान सञ्चालन गरिने बताए । अव्यवस्थित ढंगले पालिएको सुँगुर नियन्त्रणका लागि विशेष कदम चाल्ने बताए । (चिरञ्जीवी घिमिरेको सहयोगमा)


