Aamsanchar

बिर्तामोडमा स्वाइनफ्लू ! सुँगुरको खोर हटाऊ, विज्ञ टोली ल्याऊ

Author Image
शनिवार, साउन २१, २०७४

बिर्तामोड।

बिर्तामोडमा स्वाइनफ्लूका कारण दुई महिलाको मृत्यु भएपछि अव्यवस्थित सुँगुरका खोरलाई हटाउन र व्यवस्थित गर्न अनुसन्धान टोलीले सुझाएको छ । बिर्तामोडमा स्वाइनफ्लू बारे थप अनुसन्धान तथा रोग सर्भिलेन्सका लागि स्वास्थ्य सेवा विभागसँग विज्ञ टोली खटाउन पनि माग गरिएको छ ।
स्वाइनफ्लू सम्बन्धमा स्थलगत अनुगमन, निरीक्षण अध्ययन अनुसन्धान गर्न बनेको समितिले शुक्रवार बिर्तामोड नगरपालिकासहित विभिन्न निकायलाई प्रतिवेदन बुझाउँदै त्यस्तो सुझाव दिएको हो । प्रतिवेदनमा बिर्तामोडका दुई महिलाको मृत्यु स्वाइनफ्लुकै कारण भएको पुष्टि गरिएको छ । अनुसन्धान टोलीका संयोजक डा. दुर्योधन यादवले बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीलाई प्रतिवेदन बुझाउँदै भने– ‘स्वाइनफ्लूका कारण मृत्यु भएका दुवै महिलाको वासस्थानभन्दा सय मिटर वरिपरि सुँगुरका अव्यवस्थित फारमहरु भेटियो ।’
स्वाइनफ्लू (इन्फ्लूएन्जा) एक किसिमको भाइरस (एच वान एन वान) द्वारा एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्ने सरुवा रोग हो । यो भाइरस सुँगुरमा हुन्छ, सुँगुरबाट मानिसमा सरेपछि एक व्यक्तिबाट अर्कोमा सजिलैसँग सर्ने चिकित्सक बताउँछन् । अनुसन्धान टोलीले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य सेवा विभाग, इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंलाई समेत प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै मेयर शिवाकोटीले अब सुँगुरका खोर हटाउन अभियान चलाइने बताए ।
अनुसन्धान टोलीको सुझाव
बिर्तामोडमा स्वाइनफ्लूका कारण मृत्यु भएको समाचार आमसञ्चार डट.कममा सार्वजनिक भए लगत्तै बनेको अनुसन्धान टोलीले अव्यवस्थित सुँगुरका खोर हटाउने र व्यवस्थित गर्ने लगायत ६ बुँदे सुझाव दिएको छ । रुघामर्की लागेका विरामीको सेम्पल संलग्न गर्ने व्यवस्था हुनुपर्ने, स्वास्थ्य शिक्षाको लागि पर्चा, पम्प्लेटका साथै रेडियो, टीभी, पत्रिका लगायत सञ्चारमाध्यममार्फत व्यापक सन्देश प्रवाह गरिनुपर्ने सुझाव समेत टोलीले दिएको छ ।
त्यस्तै बिर्तामोडमा स्वाइनफ्लू बारे थप अनुसन्धान तथा रोग सर्भिलेन्सका लागि स्वास्थ्य सेवा विभागसँग विज्ञ टोली खटाउन पनि सुझाव दिइएको छ । स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविका व्यापक परिचालन गरी जनचेतना अभिबृद्धि गर्न पनि अनुसन्धान टोलीले सुझाव दिएको छ ।

उक्त कार्य गर्न तथा स्वाइनफ्लूको संक्रमण फैलन सक्ने जोखिमका लागि आवश्यक औषधि र उपकरण व्यवस्थापन गर्न जनस्वास्थ्य कार्यालयलाई नगरपालिका र स्वास्थ्य विभागले औषधि तथा आर्थिक व्यवस्थापन गर्नुपर्ने सुझाव पनि दिइएको छ ।
सुँगुर पाल्न छिमेकीको अनुमति लिनुपर्ने
स्वाइनफ्लूका कारण दुई महिलाको मृत्यु भएको र संक्रमणको जोखिमलाई मनन गरी जिल्ला पशु सेवा कार्यालयले बंगुरसुँगुर पालन व्यवस्थित गर्न ६ बुँदे मापदण्ड तोकेको छ । कार्यालयले शुक्रवार बिर्तामोड नगरपालिका र पशु स्वास्थ्य शाखा बिर्तामोडलाई उक्त मापदण्ड निर्धारण गरी पत्राचार गरेको छ ।
जसअनुसार अब बंगुर पालन गर्दा निर्धारित मापदण्ड पूरा गर्नुका साथै जिल्ला पशु सेवा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

अब बंगुरपालनका लागि खोर निर्माण गर्ने स्थानमा १५ घरधुरी छरछिमेकीको अनुमति लिनुपर्ने मापदण्ड तोकिएको छ । त्यस्तै मूल राजमार्गबाट दुई सय मिटर टाढा, सदरमुकाम जोडिने सडकबाट सय मिटर टाढा र सहायक सडकभन्दा ५० मिटर पर खोर निर्माण गर्नुपर्ने मापदण्ड तोकिएको छ । एक खोरदेखि अर्को खोरको दुरी १० मिटर हुनुपर्ने, जैविक सुरक्षा प्रविधि अपनाएर मात्र बंगुर पाल्नुपर्ने मापदण्ड तोकिएको छ ।

आमसञ्चार डट.कमको प्रभाव
साउन १८ गते आमसञ्चार डट.कमले ‘बिर्तामोडमा स्वाइनफ्लू ! दुई महिलाको मृत्यु’ शीर्षकमा समाचार प्रकाशित गरे लगत्तै जिल्ला जनस्वास्थ्य कार्यालय र बिर्तामोड नगरपालिकाले तत्काल चासो लिएर अनुसन्धान अघि बढाएका थिए ।

बिर्तामोडका मेयर ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले डा. दुर्योधन यादवको संयोजकत्वमा रामकुमार यादव, लक्ष्मणप्रसाद साह र कुलबहादुर पौडेल रहेको स्वास्थ्य विज्ञ सम्मिलित अनुसन्धान टोली गठन गरेको थियो । टोलीलाई दुई दिनभित्र स्वाइनफ्लू बारे अध्ययन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको थियो । उक्त टोलीले बिर्तामोड–४की अनीतादेवी मित्तल र बिर्तामोड १की मनिषा अग्रवालको मृत्यु स्वाइनफ्लूबाटै भएको दिल्लीस्थित अस्पतालको ल्याब रिपोर्टलाई आधारमानी त्यसको पुष्टि गर्दै प्रतिवेदन बुझाएको हो ।
यसअघि बिर्तामोड–१ खानेपानी ट्यांकी नजिक रहेको अव्यवस्थित सुुँगुरपालनबाट स्वास्थमा प्रतिकूलता उत्पन्न भएको भन्दै एक सयभन्दा बढी स्थानीयवासीले हस्ताक्षर संकलन गरी बिर्तामोड नगरपालिकामा बुझाएको समाचार पूर्वाञ्चल दैनिकले प्रकाशित गरेको थियो ।

केशव बस्नेतको नेतृत्वमा एक सय दुई घरका स्थानीयवासीले बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दर्ता गर्दै नियन्त्रणका लागि माग गरेका थिए । उक्त निवेदनको सुनुवाई नभएको उनीहरुले आरोप लगाएका छन् ।
सावधानी अपनाऊ
जिल्ला जनस्वास्थ्य कार्यालय झापाले स्वाइनफ्लू बारे सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । नाक बन्द हुने, पातलो सिगान बग्ने, खोकी लाग्ने, थकाइ महशुस हुने, खान मन नलाग्ने, कडा ज्वरो आउने, झाडापखाला लाग्ने र घाँटी दुख्ने लक्षण स्वाइनफ्लूको भएको जनस्वास्थ्यले जनएको छ ।
जनस्वास्थ्यले यसबाट बच्ने उपायसहित त्यस्ता लक्षण देखिए नजिकको सरकारी स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।
खोक्दा, हाच्छिउँ गर्दा सफा रुमाल कपडा र पाखुराले नाकमुख छोप्न सुझाइएको छ । त्यस्तै बारम्बार र सही तरिकाले साबुन पानीले हात धुन, अन्य व्यक्तिसँग कम्तीमा एक मिटर वा दुई हात दुरी टाढा रहन समेत सुझाव दिइएको छ । सम्भव भएसम्म रोगीलाई अन्य व्यक्ति भन्दा अलग्गै राख्नुपर्ने, अनावश्यक रुपमा मानिसको भीडभाड हुने ठाउँमा नजान र सकेसम्म अरु व्यक्तिसँग हात नमिलाउन पनि जनस्वास्थ्यले सर्वसाधारणलाई आग्रह गरेको छ ।

अनिता र मनिषाको तस्वीर   

Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर