बिर्तामोड।
पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक स्व. मदन ढकालको स्मृतिमा झापाको विर्तामोडमा मदन ढकाल स्मृति पुस्तकालय निर्माणका लागि जग्गा ब्यवस्थापन समिति गठन गरिएको छ ।
विर्तामोड नगरपालिका वडा नं. १का वडाअध्यक्ष अग्नि पाण्डेको अध्यक्षमा शनिबार बसेको बैठकले पुस्तकालय निर्माणका लागि जग्गा ब्यवस्थापन गर्न त्रिलोचन प्रसाईको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो । समितिको सह–संयोजकमा सुरेश ढकाल, सचिव एकराज गिरी रहेका छन् । त्यस्तै सदस्यहरुमा शिवशंकर थापा, केशव भट्टराई, शिला ढकाल र चेतनाथ तिम्सिना (बिनोद) रहेका छन् ।
त्यस्तै उक्त वडामा एउटा पनि सामुदायिक विद्यालय नभएकाले एउटा कम्तीमा आधारभूत तहको विद्यालय स्थापनार्थ पहल गर्ने उद्देश्यले पूर्वस्रोत व्यक्ति डम्बरबहादुर बस्नेतको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा पूर्व शिक्षक रघुनाथ सापकोटा, सचिव हरि ओझा रहेका छन् ।
त्यस्तै सदस्यहरुमा पुष्प खनाल, इन्दिरा खनाल, देवेन्द्र हुमागाँई र गोविन्द शर्मा रहेका छन् । उक्त समितिले सामुदायिक विद्यालय स्थापना गर्नका लागि जग्गा व्यवस्थापन तथा विभिन्न निकायसँग छलफल गर्ने वडाध्यक्ष पाण्डेले जानकारी दिए ।
यसैबीच बिर्तामोड–१लाई बन्दमुक्त क्षेत्र बनाउने उद्देश्यले विभिन्न राजनीतिक दल तथा संघ–संस्था, वृद्धिजीवी लगायतसँगको परामर्शलाई तीब्रता दिँदै वडा कार्यालयको स्थापनाको दिन बिर्तामोड–१लाई बृहत भेलाकाबीच बन्दमुक्त क्षेत्र घोषणा गर्ने वडाध्यक्ष पाण्डेले बताए ।